काठमाडौं ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन आज आइतबारदेखि काठमाडौंमा सुरु हुँदै छ । दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुने महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प ः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आयोजना हुने महाधिवेशनलाई यसपटक नेतृत्व चयनसँगै पार्टीको आगामी नीति, कार्यक्रम र राजनीतिक दिशाबारे बहस गर्ने अवसरका रूपमा अघि बढाउने कांग्रेसको तयारी छ ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई ‘नेता चयनभन्दा नीति चयनको अधिवेशन’ बनाउने प्रयत्न गरिने बताउनुभएको छ । उहाँका अनुसार उद्घाटन समारोहपछि सुरु हुने बन्दसत्रमा पार्टीको आगामी नीति तथा कार्यक्रमसहित विभिन्न समसामयिक प्रतिवेदन पेस गरिनेछ ।
सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
निर्वाचन २१ र २२ असोजमा
महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार सञ्चालन हुनेछन् । केन्द्रीय निर्वाचन समितिले नेतृत्व चयनका लागि २१ र २२ असोजमा निर्वाचन कार्यक्रम तय गरेको छ ।
महाधिवेशन प्रतिनिधिको दर्ता शुक्रबार र शनिबार गरिएको थियो । प्रतिनिधि दर्ता शुल्क ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । दर्ता भएका प्रतिनिधिलाई पार्टी विधान, डायरी, कलम, प्रतिनिधि परिचयपत्र तथा भोजन र खाजा–नास्ताका कुपनसहितको झोला उपलब्ध गराइएको छ ।
कांग्रेसका केही क्षेत्रमा अधिवेशन प्रक्रिया पूरा हुन बाँकी रहे पनि त्यस्ता क्षेत्रको संख्या १० भन्दा कम रहेको प्रवक्ता चालिसेले बताउनुभएको छ । बाँकी अधिवेशनसमेत छिट्टै सम्पन्न हुने उहाँको भनाइ छ ।
दलदेखि विदेशी पाहुनासम्म निम्तो
महाधिवेशन उद्घाटन समारोहमा कांग्रेसले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत दलका प्रतिनिधिलाई निमन्त्रणा गरेको छ ।
भारत, चीन, अमेरिकालगायत विभिन्न मुलुकबाट समेत पाहुना बोलाइएको कांग्रेसले जनाएको छ । उद्घाटनको मिति परिवर्तन भएकाले विदेशी पाहुनाको सहभागिता भने कम हुन सक्ने कांग्रेसको आँकलन छ ।
१० हजारका लागि होटल बुक
महाधिवेशनमा सहभागी प्रतिनिधि तथा शुभेच्छुकका लागि काठमाडौंका विभिन्न क्षेत्रमा होटलको व्यवस्था गरिएको छ । गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलंकी क्षेत्रमा गरी करिब १० हजार जनालाई बस्न मिल्ने गरी होटल व्यवस्थापन गरिएको छ ।
प्रदेशअनुसार प्रतिनिधिको आवास क्षेत्रसमेत तोकिएको छ । कोशी र मधेशका लागि गौशाला–कोटेश्वर, बागमतीका लागि लाजिम्पाट–ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु–नयाँ बसपार्क तथा कर्णाली र सुदूरपश्चिमका लागि सुन्धारा–कलंकी क्षेत्रमा आवासको व्यवस्था गरिएको छ ।
विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधिका लागि लाजिम्पाट र ठमेलमा व्यवस्था गरिएको छ । प्रतिनिधिको होटल खर्च भने सम्बन्धित प्रतिनिधिले नै बेहोर्नुपर्ने कांग्रेसले जनाएको छ । विदेशबाट आउने पाहुनाको आवास खर्च पार्टीले बेहोर्नेछ ।
महाधिवेशन अवधिभर प्रतिनिधिका लागि बिहान र दिउँसोको भोजन भृकुटीमण्डपमा उपलब्ध गराउने व्यवस्था गरिएको प्रवक्ता चालिसेले जानकारी दिनुभएको छ ।











प्रतिक्रिया