–ड्रोनबाट विशेष निगरानी
–२५ सामुदायिक प्रहरी केन्द्र परिचालन
–भिडभाड हुने स्थानमा सादा पोसाकका प्रहरी परिचालन
–१४ स्थानमा यात्रु सहायता कक्ष
–नाकामा ‘डग स्निफिङ’
काठमाडौँ ।
चाडबाड नजिकिँदै जाँदा राजधानी छाडेर जाने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै प्रहरीले दशैँलक्षित सुरक्षा योजना तयार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले शनिवार विशेष सुरक्षा योजनाबारे जानकारी दिँदै चाडपर्वको बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित, मर्यादित र सुव्यवस्थित वातावरण बनाउन जिल्लाभर ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिनुभयो ।
विशेष सुरक्षा योजना शनिवारबाटै लागु भैसकेको र छठसम्म लागु हुने बताउँदै उहाँले आवश्यकताअनुसार थप १९० प्रहरीको रिजर्भ टोलीसमेत झिकाइने जानकारी दिनुभयो ।
परिसरले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन प्रविधिको उच्च प्रयोग गरिने जनाएको छ । प्रहरीले ३ वटा ड्रोनबाट राजधानीको सुरक्षा अनुगमन गर्नेछ । सुरक्षामा काठमाडौँका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सिसिटिभी क्यामेराले निगरानी गर्नेछ । परिसरका अनुसार आवश्यकताको आधारमा थप सिसिटिभी जडान गर्ने योजना पनि रहेको छ। काठमाडौँका प्रमुख नाका कोटेश्वर, जडीबुटी दक्षिणकाली, थानकोट, नागढुंगा तथा अत्यधिक भीडभाड हुने संवेदनशील स्थानहरूमा तालिमप्राप्त कुकुरसहितको टोलीले नियमित ‘डग स्निफिङ’ गरिने बताइएको छ । प्रहरीले कलंकी, नयाँबसपार्क, कोटेश्वर बल्खुलगायत स्थानमा यातायातको टिकटमा ठगी गर्नेमाथि नियन्त्रण गर्न प्रहरी परिचालन गर्ने बताएको छ ।
प्रहरीले मन्दिर, खसीबजार, सपिङ मल, वित्तीय संस्था तथा एटिएम बुथहरूमा विशेष सुरक्षा ड्युटी रहने व्यवस्था गरेको छ । त्यसबाहेक भिडभाड हुने क्षत्रेमा सादा पोसाकका प्रहरी परिचालन गरिसकेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडाँैले चाडबाडमा चोरीका घटना धेरै बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । जुवा, तास, लंगुरबुर्जा नखेल्ने र नखेलाउने र पटका तथा आतिसबाजीजस्ता प्रज्वलनशील वस्तुको प्रयोग नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।
त्यस्तै मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र अपरिचित व्यक्तिको भर नपर्न सामाजिक सञ्जालमा आउने ‘लक्की अफर, ‘उपहार जितियो’ वा ‘छिटो कमाइ’ जस्ता प्रलोभन देखाउने ठगीबाट जोगिनसमेत अनुरोध गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले कुनै पनि शंकास्पद गतिविधि देखिएमा वा समस्या परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० मा खबर गर्न आग्रह गर्दै भनेको छ– ‘खबर आउनेबित्तिकै तत्काल प्रहरी परिचालन हुनेछ । सुरक्षाको प्रत्याभूति दिइनेछ।’
प्रहरीले काठमाडौँको घर छाडेर जन्मथलो जान लागेका राजधानीबासीलाई नजिकैको प्रहरी कार्यालयमा जानकारी गराएर जान आग्रह गर्दै भनेको छ– ‘चाडबाडमा घर जादै हुनुहुन्छ भने घर र कोठाका ढोका–झ्याल सुरक्षित रूपमा बन्द गरी विश्वसनीय छिमेकी वा प्रहरीलाई जानकारी दिनुस्। बहुमूल्य गरगहना, नगद र महत्वपूर्ण कागजात घरमा नराखी बैंकको लकरमा सुरक्षित राख्नुस्। चाडबाडमा अपरिचित व्यक्ति घरभित्र प्रवेश गर्न खोजेमा, परिचय मागेमा वा केही कुरा लिन आएमा हतपत्त घरको ढोका नखोल्नुस्।’
प्रहरीले चाडपर्वमा यात्रुहरूको सहज गर्न कलंकी, कोटेश्वर, गौशाला, गोँगबु बसपार्क, बिजी मल अगाडि, बल्खु, सुरुङ मार्ग, नागढुंगा, बालाजु बाइपास, बालाजु चोक, सीतापाइला, जोरपाटी र चाबहिल चोकमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ ।
प्रहरीले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा योजना तयार गरी सोहीअनुसार नया कार्यायोजना तय गर्ने तयारी गरेको छ । सामाजिक सञ्जालमार्फत हुने ठगी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न परिसरमा छुट्टै डेस्क सक्रिय रहनेछ भने अत्यावश्यक जानकारी प्रवाहका लागि १० स्थानमा ‘पब्लिक अनाउन्समेन्ट सिस्टम सञ्चालन गरिनेछ ।
प्रहरीले घटना भएको सूचना पाउनासाथ प्रहरी ५ देखि १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी सुरक्षा व्यवस्थापन मिलाएको दाबी गर्दै ‘पीपीईआई अर्थात् प्रोमोशनल, प्रिभेन्टिभ, इन्फोर्समेन्ट र इनोभेसन’ मोडलमा आधारित रहेर रणनीति तय गरेको जनाएको छ ।
जसअन्तर्गत मोबाइल गस्ती, पैदल गस्ती, क्युआरटी सिआरभी, सादा पोसाकमा प्रहरी परिचालन,सीमा नाकामा कडा चेकजाँच र ट्राफिकसहितको संयुक्त चेकिङ गरिनुका साथै प्रहरीले आफ्नो मातहतमा रहेको २५ सामुदायिक प्रहरी केन्द्रबाट समेत सुरक्षा दिने भएको छ । सरकारी तथ्याङ्कअनुसार यो वर्ष करिब १५ लाखले उपत्यका छाड्ने अनुमान गरेको छ ।











प्रतिक्रिया