रसुवाको बाढीले खोल्यो भूकम्पमापक यन्त्रको नयाँ रहस्य

भविष्यमा पूर्वसूचनाको आधार बन्न सक्ने वैज्ञानिक निष्कर्ष

0
Shares

–पहिरोअघि नै जमिनको कम्पन अभिलेख
–बाढीले पनि छाड्दो रहेछ भूकम्पीय संकेत
–केही मिनेटअघिको चेतावनीको सम्भावना

काठमाडौँ ।

रसुवामा गत २६ अगस्टमा गएको विनाशकारी पहिरो र त्यसपछि त्रिशूली नदीमा आएको आकस्मिक बाढीले ठूलो मानवीय तथा भौतिक क्षति मात्र गरेन, विपद्को पूर्वसूचना प्रणाली विकासका लागि नयाँ वैज्ञानिक सम्भावनासमेत देखाएको छ ।

घटनाको वैज्ञानिक अध्ययनबाट भूकम्प मापनका लागि राखिएका उपकरणले भूकम्प मात्र नभई ठूलो पहिरो, माटो–ढुंगा मिसिएको बहाव र त्यसपछि आएको बाढीको गतिविधिसमेत अभिलेख गर्न सक्ने प्रमाण भेटिएको छ । यही आधारमा भविष्यमा भूकम्प मापन केन्द्रबाट प्राप्त हुने संकेतलाई तत्काल विश्लेषण गर्ने प्रणाली विकास गर्न सके पहिरो तथा बाढीको प्रारम्भिक चेतावनी दिन सकिने सम्भावना देखिएको वैज्ञानिकहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान पत्रिका ‘सिस्मिका’मा प्रकाशित अध्ययनले भदौ १० घटनासँग सम्बन्धित नेपाल र चीनबाट प्राप्त पहिलो विस्तृत भूकम्पीय अभिलेख प्रस्तुत गरेको छ । अध्ययनमा नेपाल, चीन, स्विट्जरल्यान्ड, फ्रान्स, बेलायत, अमेरिका र स्पेनका वैज्ञानिक सहभागी छन् । अध्ययनका प्रमुख लेखक नेपाल राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी र नेपालमा विद्यालय तहदेखि भूकम्पसम्बन्धी अध्ययन तथा अभिलेखनमा काम गर्दै आएका शिव सुवेदी हुनुहुन्छ ।

रसुवामा बाढी आउनुअघि गएको घटनालाई प्रारम्भमा भूकम्पसँग जोडेर हेरिएको थियो । तर पछि भूकम्पमापक यन्त्रबाट प्राप्त संकेत, घटनास्थलका विवरण तथा भू–उपग्रहबाट प्राप्त तस्बिरको अध्ययन गर्दा मुख्य कम्पन सामान्य भूकम्पबाट नभई ठूलो भू–स्खलन अर्थात् पहाडको ठूलो भाग एकैपटक खस्दा उत्पन्न भएको देखिएको छ ।

अनुसन्धानकर्ताले भूकम्पमापक यन्त्रमा अभिलेख भएको उच्च आवृत्तिको कम्पन अध्ययन गरेर मुख्य पहिरो गएको समय र स्थान पहिचान गरेका छन् । त्यसअघि नजिकै करिब २ दशमलव ५ परिमाणको सानो भूकम्पीय घटना भएको संकेतसमेत अध्ययनमा भेटिएको छ । यसले घटनाको क्रम बुझ्न वैज्ञानिकहरूलाई महत्वपूर्ण आधार दिएको छ । घटनास्थलमा क्यामेरा वा अन्य उपकरणले प्रत्यक्ष अभिलेख गर्न नसकेको अवस्थामा पनि जमिनमा उत्पन्न भएको कम्पन भूकम्पमापक यन्त्रले सुरक्षित राख्न सक्छ ।

अध्ययनको सबैभन्दा महत्वपूर्ण निष्कर्ष भने बाढी आफैँले सिर्जना गरेको भूकम्पीय संकेत हो । मुख्य पहिरोपछि पानी, माटो, ढुंगा र बरफ मिसिएर तीव्र गतिमा तलतिर बगेको बहावले आसपासका भूकम्प मापन केन्द्रमा सामान्य अवस्थाभन्दा निकै बढी कम्पन उत्पन्न गरेको थियो । त्यो असामान्य कम्पन केही समयमै हराएको थिएन । अध्ययनअनुसार बाढी र ढुंगा माटो मिसिएको लेदोको बहावसँग सम्बन्धित कम्पन लामो समयसम्म भूकम्पमापक यन्त्रमा अभिलेख भएको थियो ।

यसको अर्थ ठूलो पहिरो वा बाढीलाई आँखाले देखिने पानी र माटोको बहावबाट मात्र होइन, त्यसले जमिनमा उत्पन्न गर्ने कम्पनबाट समेत पहिचान गर्न सकिने सम्भावना देखिएको छ । यही निष्कर्षलाई वैज्ञानिकहरूले भविष्यको विपद् पूर्वसूचना प्रणालीका लागि महत्वपूर्ण सम्भावनाका रूपमा हेरेका छन् ।

रसुवामा भएको ठूलो भू–स्खलनबाट उत्पन्न कम्पन नेपाल र चीनमा रहेका भूकम्पमापक यन्त्रमा मात्र सीमित रहेन । अध्ययनले त्यसबाट उत्पन्न संकेत टाढा रहेका अन्य भूकम्प मापन केन्द्रले समेत अभिलेख गरेको देखाएको छ । यसले हिमालयको दुर्गम क्षेत्रमा हुने ठूलो पहिरो तथा भू–स्खलनलाई क्षेत्रीय भूकम्पीय सञ्जालबाट समेत अध्ययन गर्न सकिने सम्भावना देखाएको छ ।

अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायले पनि रसुवाको घटनालाई हिमालयमा हुने पहिरो, हिम–चट्टान खस्ने घटना र आकस्मिक बाढीको सम्बन्ध बुझ्न महत्वपूर्ण वैज्ञानिक घटनाका रूपमा अध्ययन गरिरहेका छन् ।

इटालीको राष्ट्रिय भूभौतिक तथा ज्वालामुखी विज्ञान संस्थानले समेत रसुवाको घटनासँग सम्बन्धित भूकम्पीय संकेतको अध्ययन गर्दै मुख्य संकेत सामान्य भूकम्पबाट नभई ठूलो भू–स्खलनसँग सम्बन्धित भएको निष्कर्ष सार्वजनिक गरेको थियो । अब भूकम्पमापक यन्त्रले बाढीको सूचना पनि दिन्छ त भन्ने बहस सुरु भएको छ । रसुवाको अध्ययनपछि उठेको सबैभन्दा महत्वपूर्ण प्रश्न यही हो । वैज्ञानिकहरूले अहिले नै भूकम्पमापक यन्त्रलाई पूर्ण बाढी पूर्वसूचना प्रणालीका रूपमा प्रयोग गर्न सकिन्छ भनेका छैनन् । तर यसको सम्भावना भने स्पष्ट रूपमा देखिएको छ ।

यदि देशभरका भूकम्प मापन केन्द्रबाट आउने संकेतलाई तत्काल विश्लेषण गर्ने प्रविधि विकास गर्न सकियो भने कुन कम्पन भूकम्पको हो, कुन पहिरोको हो र कुन बाढी वा ढुंगा माटोसहितको लेदोको बहाव हो भनेर छुट्याउन सकिने सम्भावना देखिएको छ ।

त्यसका लागि विगतमा भएका पहिरो र बाढीका पर्याप्त अभिलेख संकलन गर्नुपर्ने भूगर्भविद् अधिकारी बताउनुहुन्छ । त्यसपछि कम्पनको प्रकृति पहिचान गर्ने स्वचालित प्रणाली विकास गर्नुपर्छ । त्यस्तो प्रणालीलाई नदीको पानीको अवस्था, वर्षाको मात्रा, भूगोल र जोखिमयुक्त बस्तीको नक्सासँग जोड्न सके पूर्वसूचना अझ प्रभावकारी बनाउन सकिने उहाँ बताउनुहुन्छ ।

पहिरोबाट उत्पन्न बाढीको गति अत्यन्त तीव्र हुने भएकाले यस्तो विपद्मा लामो समयअगावै सूचना प्राप्त हुने सम्भावना नहुन सक्छ । तर केही मिनेटअगावै सूचना प्राप्त हुनु पनि महत्वपूर्ण हुन सक्ने वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् । त्यस अवधिमा नदी किनारमा रहेका मानिसलाई सुरक्षित स्थानतर्फ जान सूचना दिन, जोखिमयुक्त सडक बन्द गर्न, विद्यालय वा अन्य सार्वजनिक स्थान खाली गर्न तथा उद्धार टोलीलाई तयारी अवस्थामा राख्न सकिने पनि अध्ययनको निष्कर्ष छ ।

नेपालका लागि यो विषय अझ महत्वपूर्ण देखिएको छ । हिमाली क्षेत्रमा ठूलो पहिरोले नदी थुन्ने, त्यसपछि एक्कासि बाँध फुट्ने वा माटो, ढुंगा र पानी मिसिएको तीव्र बहाव तलतिर आउने जोखिम रहन्छ । यस्तो अवस्थामा बाढी आँखाले देखिएपछि सूचना दिनु धेरै ढिलो हुन सक्छ । तर पहिरो सुरु भएकै समयमा त्यसबाट उत्पन्न कम्पन पहिचान गर्न सकियो भने केही समय अगावै चेतावनी दिन सकिने सम्भावना रहने पनि बैज्ञानिकहरूले दावी गरेका छन् ।

रसुवाको विपद्पछि नेपालले सीमावर्ती क्षेत्रमा बाढी तथा पहिरोको पूर्वसूचना प्रणाली पुनर्निर्माण गर्ने तयारीसमेत अघि बढाएको छ । नयाँ प्रणालीमा भूकम्पमापक उपकरणसँगै निगरानी क्यामेरा र सञ्चार प्रणालीको प्रयोग गर्ने योजना बनाइएको छ । यसबाट नदीको बहाव र सम्भावित जोखिमको अवस्था तत्काल जानकारी लिन तथा जोखिम देखिएमा सम्बन्धित क्षेत्रमा मोबाइल सन्देशमार्फत सूचना पु¥याउन सकिने व्यवस्था विकास गर्ने तयारी छ ।

यसले रसुवाको वैज्ञानिक अध्ययनबाट देखिएको सम्भावनालाई व्यवहारमा प्रयोग गर्ने बाटोसमेत खोल्न सक्ने अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले बताएका छन् । रसुवाको घटनाबाट प्राप्त सबैभन्दा ठूलो पाठ यही हो, विपद् आएपछि उद्धार र राहतमा मात्र निर्भर रहने होइन, विपद् आउनुअघि प्रकृतिले दिने संकेत पहिचान गर्न सक्नुपर्ने सन्देश दिएको छ ।

भूकम्पमापक यन्त्रले अहिलेसम्म मुख्य रूपमा भूकम्पको जानकारी दिँदै आएका छन् । तर रसुवाको अध्ययनले ती उपकरणले पहाड भत्किँदा, माटो–ढुंगा बग्दा र ठूलो बाढी आउदा उत्पन्न हुने कम्पनसमेत अभिलेख गर्न सक्ने प्रमाण दिएको छ । अब चुनौती त्यो अभिलेखलाई तत्काल चेतावनीमा बदल्नु रहेको छ ।

रसुवाको पहिरोले ठूलो क्षति ग¥यो । तर त्यसले छाडेको भूकम्पीय संकेतले भविष्यका लागि महत्वपूर्ण वैज्ञानिक बाटो देखाएको छ । पहाड भत्किँदा जमिनले दिएको संकेत समयमै पढ्न सकियो भने बाढी आउनुअघि मानिसलाई सावधान गराउन सकिन्छ । त्यसैले रसुवाको अध्ययन एउटा विपद्को अभिलेख मात्र होइन, भविष्यमा हजारौँ मानिसको ज्यान जोगाउन सक्ने पूर्वसूचना प्रविधिको सम्भावित आधारसमेत बनेको छ ।