आज पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ । देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा आज मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ।

ती प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि पहाडी तथा तराई भूभागमा मौसम बदली रहनेछ। तराई क्षेत्रमा बिहानतिर हुस्सु लाग्ने सम्भावना रहेको छ। मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।