मानव समुदायको सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति भनेको यसको परम्परा, संस्कृति र सम्पदा हो । कुनै पनि समुदाय, वर्ग, समूह, जनजाति वा आदिवासीको पहिचान नै उसको संस्कृति र सम्पदा हो । जब पहिचान र अस्तित्वको प्रश्न उठ्छ, तब निश्चित रूपमा त्यही भाषा, संस्कृति र सम्पदाको खोजी गरिन्छ ।
काठमाडौँ उपत्यकाको दक्षिणी कुनामा, ललितपुर महानगरपालिका वडा नं. २१ मा अवस्थित छ– खोकना । बाहिरबाट हेर्दा यो अरू नेवारी बस्तीजस्तै देखिन सक्छ– साँघुरा गल्ली, इँटाले बनेका पुराना घर, आँगनमा सुकाइएको तोरीको तेल पेल्ने चट्टु । तर हरेक वर्ष दशैँको समय आउँदा खोकना बाँकी नेपालबाट फरक बाटो हिँड्छ । जब मुलुकभर घटस्थापनाको दिन जमरा राखिन्छ र दशमीका दिन टीका लगाइन्छ, खोकनामा भने यी विधिहरू हुँदैनन् । यहाँका बासिन्दा त्यसको सट्टा ‘सिकाली जात्रा’, जसलाई रुद्रायणी जात्रा वा रुद्रायणी नाच पनि भनिन्छ, मनाउँछन् । यही एउटा भिन्नताले खोकनालाई ‘दशैँ नमनाउने बस्ती’ भन्ने चिनारी दिएको छ । यसैले यो नेपालकै सबैभन्दा अनौठो सांस्कृतिक परिघटनामध्ये एक बनेको छ ।
सिकाली जात्रा भर्खरै शुरु भएको उत्सव होइन । यसको जड खोकनाको मुख्य बस्तीमा रहेको रुद्रायणी मन्दिरसँग जोडिन्छ, जसको निर्माण मल्लकालीन शासक अमर मल्लको पालामा वि.सं. १५७० तिर भएको मानिन्छ अर्थात् यो जात्रा पाँच सय वर्षभन्दा बढी समयदेखि निरन्तर चल्दै आएको जीवित परम्परा हो । यसको पौराणिक जड स्वस्थानी कथा र दक्ष प्रजापतिको यज्ञ–विध्वंसको प्रसंगसँग गाँसिएको छ– सतीदेवीले दक्षको यज्ञमा आत्माहुति दिएपछि उब्जिएको घटनाक्रम र त्यसपछि स्थापित शक्तिपीठहरूको महात्म्यलाई सिकाली नाचले प्रतीकात्मक रूपमा देखाउँछ ।
यस जात्राको महत्व
सांस्कृतिक पहिचान ः सिकाली जात्राले नै खोकनालाई ‘दशैँ नमनाउने बस्ती’ भन्ने छुट्टै चिनारी दिएको छ । यही जात्राले खोकनालाई अरू नेवारी बस्तीभन्दा फरक र विशिष्ट बनाउँछ ।
सम्पदा र सम्पत्तिको जगेर्ना ः ५ सय वर्षभन्दा पुरानो रुद्रायणी मन्दिर, मुकुन्डो, पहिरन, बाजागाजा र गुठी व्यवस्थाजस्ता भौतिक तथा अमूर्त सम्पदा जात्राकै कारण जोगिँदै आएका छन् ।
अपनत्वको भावना ः मुकुन्डो बनाउने, नाच सिकाउने, बाजा बजाउनेजस्ता परम्परागत सीपहरू जात्राका माध्यमबाट प्रदर्शन हुन्छन्, जसले समुदायका सदस्यहरूमा ‘यो हाम्रो हो’ भन्ने अपनत्वको भावना जगाउँछ ।
विभिन्न नाचको संगम ः खट जात्रा, अश्वमेध यज्ञको नाटकीय प्रस्तुति, लसता प्याँखजस्ता फरक–फरक नृत्य र प्रस्तुतिहरू एउटै जात्रामा समावेश हुन्छन्, जसले यसलाई नृत्य–विविधताको एउटा जीवन्त मञ्च बनाउँछ ।
पौराणिक पक्षको जानकारी ः रुद्रायणी, भैरव, महालक्ष्मी, महिषासुरजस्ता १४ देवगण र सहायक पात्रहरूको नाचबाट दर्शकले पौराणिक कथा र तिनका पात्रहरूबारे प्रत्यक्ष जानकारी एवं ज्ञान पाउँछन् ।
सांगीतिक वातावरण ः धाः, ढाकः, काहाःजस्ता परम्परागत बाजाहरूले जात्राभरि एक विशेष भक्तिमय र उत्सवमय सांगीतिक वातावरण सिर्जना गर्छन् ।
समुदायिक एकताको माध्यम ः गुठी व्यवस्थाअन्तर्गत ४६ गुठियार, कुमार, थकाली नकिंलगायत समुदायका सबै तह र उमेरका मानिस मिलेर जात्रा सम्पन्न गर्छन्, जसले सामुदायिक एकतालाई बलियो बनाउँछ ।
गौरवको अनुभूति ः ५ सय वर्षभन्दा लामो निरन्तर परम्परा आफैंमा धानिरहेको हुनु खोकनावासीका लागि गर्वको विषय हो, जसले उनीहरूमा आत्मसम्मानको भावना भर्छ ।
बाह्य समाजसँग जोड्ने सेतु ः जात्राले खोकनालाई बाहिरी पर्यटक, अनुसन्धानकर्ता र अन्य समुदायसँग चिनजान गराउँछ, जसले खोकनाको सांस्कृतिक पहिचानलाई बाहिरी संसारसम्म पु¥याउने पुल बनाउँछ ।
पर्यटकीय सम्भावना ः एक जात्रा, अनेक सम्पदा, सांस्कृतिक पर्यटनको दृष्टिले हेर्ने हो भने खोकना र सिकाली जात्रा ललितपुरकै एक अनमोल सम्पत्ति हो । जात्राको समयमा खोकना पुग्ने पर्यटकले एकैसाथ धेरै मौलिक सम्पदाको अनुभव गर्न पाउँछन्– जीवन्त नेवारी वास्तुकला, खोकनाकै पहिचान बनेको तोरीको तेल पेल्ने काठे कोल प्रविधि र खोकना–बुङमतीलाई जोड्ने अमूर्त सांस्कृतिक करिडोर, जहाँ रातो मच्छिन्द्रनाथ र रुद्रायणीको परम्परा आपसमा जोडिन्छन् ।
अनुशासन, तन्त्रसाधना र नृत्यको संगम
जात्राको शुरुवात नै विशेष अनुशासनबाट हुन्छ । घटस्थापनाको दिन देशभर जमरा राखिँदा खोकनामा भने कुमार केटाहरूले नियमित स्नान, निश्चित सात्विक आहार र घर–घर पुगेर पूजा सामग्री संकलन गर्दै धार्मिक शुद्धता कायम राख्छन् । रुद्रायणी विद्यालयअगाडि राँगाको बलि दिएपछि यी कुमारहरूले संकलित सामग्री सिकाली चौरमा लिएर जान्छन् । यसले सानै उमेरदेखि धार्मिक अनुशासन र सांस्कृतिक दायित्व हस्तान्तरण गर्ने सामाजिक पाठ सिकाउँछ ।
पञ्चमीका दिन मूल जात्राका रूपमा खट जात्रा आयोजना हुन्छ, जसमा देवीको मूर्तिलाई काठको खटमा राखेर परम्परागत बाजागाजासहित नगर परिक्रमा गराइन्छ र सम्पूर्ण खोकना भक्तिमय वातावरणमा रूपान्तरित हुन्छ ।
षष्ठीका दिन सिकाली चौरमा देवगणहरूले विशेष मुकुट, मुकुन्डो र पोशाकमा सजिएर पौराणिक ‘अश्वमेध यज्ञ’को नाटकीय प्रस्तुति दिन्छन्, जसमा सतीदेवीको यज्ञ–विध्वंस र वीरभद्र तथा महाकालीको उत्पत्तिको दृश्य देखाइन्छ । सप्तमीका दिन तल्लो लाछी टोलको डबलीमा ‘लसता प्याँख’ (खुसीयालीको नृत्य) प्रस्तुत गरिन्छ । महालक्ष्मीले महिषासुर दैत्यको वध गरेको विजयोत्सवको यो नृत्य नै जात्राको मुख्य आकर्षण मानिन्छ । अन्त्यमा थकाली नकिं (जेठो थकाली)ले विधिपूर्वक पूजा गराई देवीलाई पुनः मन्दिरमा विराजमान गराउनुहुन्छ र ‘सिखा भू’ भनिने विशाल सामुदायिक समयबजी भोजसँगै जात्राको औपचारिक समापन हुन्छ ।
संरक्षणको चुनौती र निरन्तरताका उपाय
आधुनिकीकरण, वैदेशिक रोजगारी, बसाइँ सराइ र परम्परागत सीप हस्तान्तरणमा आएको कमीले सिकाली जात्रालाई पनि जोखिममा पारेको छ । नयाँ पुस्तालाई देवगण बन्न वा गुठीका कडा नियम पालना गर्न कठिन भइरहेको छ भने परम्परागत गुठीका जग्गाजमिन घट्दै जानु र पोशाक, मुकुन्डो, बाजागाजाको खर्च बढ्नाले आर्थिक संकट थपिएको छ । साथै तीव्र शहरीकरणले खोकनाको पुरानो वास्तुकला र सिकाली चौरवरपरको क्षेत्र अतिक्रमणको जोखिममा परेको छ ।
त्यसैले यसको निरन्तरताका लागि जात्राका विषयवस्तुको भाव र मर्मलाई आत्मसात् गर्दै आधुनिक शैलीको प्रस्तुति पनि आवश्यक छ । त्यस्तै युवाहरू आफ्नो पहिचान र गौरवप्रति बेखबर हुनुहुँदैन । युवाहरूलाई आफ्नो संस्कृति र सम्पदाको महत्त्व एवं औचित्य बुझाउनुपर्छ । व्यस्त जीवनशैलीका कारण आम मानिसमा उदासीनता देखिन थालेको छ । त्यसैले प्रत्येक विद्यालय, समुदाय, टोल र क्लबले वडासँग सहकार्य गरी युवा–केन्द्रित कार्यक्रम आयोजना गर्नुपर्छ ।
विश्वव्यापीकरण र शहरीकरणले बढाएको व्यक्तिकेन्द्रित सोचमा निरुत्साहित गरिनुपर्छ । त्यसका लागि सिकाली जात्राको नाम र यसले दिने आत्मपहिचान तथा गौरवबारे आम मानिसबीच छलफल चलाउनुपर्छ । त्यस्तै जात्राको लामो कथा सुन्ने धैर्यताको अभाव देखिएकाले स–साना लोककथा र पात्रहरूको पहिचान तथा उनीहरूको प्रस्तुति एवं व्यवहारलाई जीवनसँग जोडेर प्रस्तुत गर्नुपर्छ ।
डिजिटल सांस्कृतिक अभिलेखीकरण पनि अपरिहार्य देखिन्छ । १४ देवगणका मुकुन्डोको थ्री–डी स्क्यानिङ, बाजाका धुनको अडियो रेकर्डिङ, नृत्य विधिको भिडियो र ज्येष्ठ नागरिकका मौखिक इतिहासको संकलन गर्ने गर्नुपर्छ । यसै गरी सङ्ग्रहालय स्थापनामा जोड दिनुपर्छ । जात्रामा प्रयोग हुने पुराना मुकुन्डो, वस्त्र, बाजागाजा र ऐतिहासिक दस्तावेज सुरक्षित राख्न खोकनामा ‘सिकाली जात्रा सङ्ग्रहालय’ स्थापना गर्नेतिर लाग्नुपर्छ ।
स्थानीय पाठ्यक्रम र युवा संलग्नतालाई प्राथमिकतामा राख्नु उत्तिकै जरुरी देखिन्छ । यसका लागि विद्यालयस्तरमा खोकनाको इतिहास र जात्राको महत्त्वबारे पढाउने र युवालाई गुठी परम्परामा प्रोत्साहन गर्ने कार्ययोजना हुनुपर्छ ।
सिकाली जात्रा हेर्दा हामी केवल एउटा उत्सव मात्र देख्दैनौँ, त्यहाँ इतिहास नाचिरहेको हुन्छ, धर्म बोलिरहेको हुन्छ, गुठीले समुदायलाई बाँधिरहेको हुन्छ र पुस्तौँ पुरानो सामुदायिक स्मृति मुकुन्डोभित्र जीवित रहन्छ । रुद्रायणीको नाचमा केवल देवी–देवताका कथा मात्र प्रस्तुत हुँदैनन्, त्यसमा शक्ति र अनुशासनको महत्त्व, असत्यमाथि सत्यको विजय र आफ्नो पहिचानप्रतिको गौरव पनि समेटिएको हुन्छ । त्यसैले सिकाली जात्रा खोकनाको एउटा पर्व मात्र होइन, यो खोकनाको सांस्कृतिक आत्मपरिचय हो ।
(लेखक जोशी शिक्षाकर्मी तथा विकासका लागि पठन संस्कृति अभियन्ता हुनुहुन्छ ।)











प्रतिक्रिया