काठमाडौं ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा सञ्चालन भइरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)–२०२६ का खेलमा अनलाइनमार्फत सट्टाबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको राजस्थान राज्य, श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया रहेका छन्। उनी हाल काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका थिए।
एनपीएल क्रिकेट प्रतियोगिताका खेलहरूमा केही व्यक्तिले अनलाइनमार्फत सट्टाबाजी गर्ने तथा गराउने गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पथरियालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका पथरियाको साथबाट बरामद दुईवटा मोबाइल फोन जाँच गर्दा उनले ‘allpanelexch9.global’ नामक अनलाइन बेटिङ साइटमा लगइन गरी एनपीएलका विभिन्न क्रिकेट खेलमा पटक–पटक सट्टाबाजी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले अनलाइन सट्टाबाजीमार्फत कुल ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया