गैंडाकोटका बाढी प्रभावित १४० परिवारलाई १४ लाखको राहत


काठमाडौं ।

नवलपुरको गैंडाकोट नगरपालिका–२ स्थित नारायणी नदी किनारमा आएको बाढीबाट प्रभावित १४० परिवारलाई करिब १४ लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरिएको छ।


गत असोज ९, १० र ११ गते आएको बाढीका कारण विस्थापित भई अस्थायी आश्रयस्थलमा बस्दै आएका परिवारलाई पहिलो चरणको राहतस्वरूप सामग्री वितरण गरिएको हो।


गैंडाकोट नगरपालिकाको अनुरोध तथा जागृति बाल तथा युवा सरोकार नेपाल (जेसीवाईसीएन) को समन्वयमा सेभ द चिल्ड्रेनको सहयोगमा राहत सामग्री वितरण गरिएको संस्थाका महासचिव दीपक शर्माले जानकारी दिनुभयो।

नारायणी नदी किनारमा बसोबास गर्दै आएका बाढी प्रभावित परिवारलाई सुरक्षित रूपमा महेन्द्र स्मारक आधारभूत विद्यालयमा स्थापना गरिएको अस्थायी आश्रयस्थल (होल्डिङ सेन्टर) मा राखिएको थियो। नगरपालिका तथा वडा कार्यालयसँगको समन्वयमा सोही स्थानमा प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो।


प्रत्येक परिवारका लागि तत्काल आवश्यक पर्ने शेल्टर किट, ब्ल्याङ्केट, पी–फोम, साबुन, टुथब्रस, टुथपेस्ट, स्यानिटरी प्याड र झुललगायतका सामग्री समावेश गरी पारिवारिक राहत प्याकेज तयार पारिएको थियो।

महासचिव शर्माले बाढीबाट विस्थापित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न पहिलो चरणमा राहत सामग्री उपलब्ध गराइएको बताउनुभयो। स्थानीय सरकार र संस्थाको अनुरोधमा सेभ द चिल्ड्रेनको सहयोग तथा जागृति बाल तथा युवा सरोकार नेपालको समन्वयमा राहत प्रभावित परिवारसम्म पुर्‍याइएको उहाँको भनाइ छ।

संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले भूकम्प, कोभिड–१९ तथा भोटेकोशी बाढीलगायत विभिन्न विपद्का समयमा विकास साझेदार संस्था र निजी क्षेत्रसँगको सहकार्यमा राहत, पुनःस्थापना तथा जीविकोपार्जनका क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो।

उहाँले विपद्का बेला राहत र पुनःस्थापनासँगै बालबालिका, किशोरकिशोरी, सुत्केरी तथा गर्भवती महिला र ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसा, दुर्व्यवहार, बेचबिखन तथा विभेदप्रति पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। राहतसँगै प्रभावित समुदायलाई मनोविमर्श सेवा र सचेतनामूलक कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ छ।