प्राविधिक समस्या समाधान, आजदेखि खुल्यो नेप्से


काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ।

नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको प्राविधिक समस्या समाधान भएपछि कारोबार नियमित गर्न लागिएको हो।

डेटा हबमा असोज ४ गतेदेखि समस्या देखिएपछि नेप्सेले असोज ५ गते सोमबारको नियमित कारोबार स्थगित गरेको थियो। प्राविधिक समस्या कायम रहँदा कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा समेत असर पर्न सक्ने भन्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार रोक्न आग्रह गरेको थियो।

समस्या समाधान भइसकेको जानकारी पाएपछि नेप्सेले आजदेखि नियमित सेयर कारोबार सञ्चालन गर्न लागेको जनाएको छ।