बंगालको खाडीको ‘डिप डिप्रेसन’ नेपालतर्फ, असोज ९–११ मा अति भारी वर्षाको चेतावनी


काठमाडौं ।

बंगालको खाडीमा विकसित भएको शक्तिशाली न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा आगामी असोज ९ गतेदेखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने भएको छ। जल तथा मौसम विज्ञान विभागले मौसम प्रणालीलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।

विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भागमा पुगेको छ। प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ मा परिणत भएको र पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ।

यसको प्रभाव बुधबारदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने देखिएको छ। विशेषगरी असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने विभागको चेतावनी छ।

मौसमविद्हरूले भने बंगालको खाडीबाट विकसित प्रणालीको दिशा, गति र शक्ति आगामी केही दिनमा परिवर्तन हुन सक्ने भएकाले अहिले नै वर्षाको मात्रा र प्रभावबारे अन्तिम निष्कर्ष निकाल्न नसकिने बताएका छन्।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै बाढी, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। विशेषगरी नदी तथा खोलानाला आसपासका बस्ती, पहाडी सडक र जोखिमयुक्त भिरालो क्षेत्रमा थप सावधानी अपनाउनुपर्ने देखिएको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि असोज ९ देखि ११ गतेसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै पूर्वतयारी र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम विभागले प्रणालीको थप विकास र नेपालमा पर्ने प्रभावबारे आगामी बुलेटिनमार्फत थप विवरण सार्वजनिक गर्ने जनाएको छ।