एसियाड जाने ट्रायथलनका प्राविधिक अधिकारीको बिदाइ


काठमाडौँ।

२०औँ एसियाली खेलकुद (एसियाड) मा प्राविधिक अधिकारीका रूपमा सहभागी हुन नेपालका दुई उच्च प्रशिक्षित प्राविधिक अधिकारी चाहना शाह र पुष्प रत्न बज्राचार्य जापान प्रस्थान गर्ने भएका छन्।

नेपाल ट्रायथलन संघले बुधबार दुवै प्राविधिक अधिकारीलाई जापान प्रस्थानका लागि बिदाइ गरेको हो। अन्तर्राष्ट्रिय रेफ्री तथा प्राविधिक अधिकारीका रूपमा नेपालबाट दुई जना योग्य अधिकारी छनोट हुनु नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धि भएको संघले जनाएको छ।

विशेषगरी दक्षिण एसियाली क्षेत्रबाट ट्रायथलनमा प्राविधिक अधिकारीका रूपमा प्रतिनिधित्व गर्ने अवसर पाउनु नेपालको साखसँग जोडिएको विषय भएको संघको भनाइ छ। आफ्नो प्राविधिक दक्षतालाई थप परिष्कृत गर्न दुवै अधिकारी हालै दक्षिण कोरियामा आयोजित अन्तर्राष्ट्रिय एन्टी-डोपिङ तथा विशेष प्राविधिक सेमिनारमा सहभागी भएर स्वदेश फर्किएका थिए।

यसपटक एसियाडको ट्रायथलन प्रतियोगितामा भने नेपाली खेलाडीले सहभागिता जनाउन पाउने छैनन्। नेपाल ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले ओलम्पिक कमिटीको आन्तरिक विवादका कारण नेपाली ट्रायथलन टोलीलाई प्रतियोगितामा समावेश नगरिएको भन्दै दुःख व्यक्त गरे। उनले यस निर्णयबाट नेपाली खेलाडीलाई अन्याय भएको बताए।

यद्यपि, नेपाली खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन नपाए पनि प्राविधिक अधिकारीका रूपमा चाहना शाह र पुष्प रत्न बज्राचार्यले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नु गौरवको विषय भएको अध्यक्ष श्रेष्ठले बताए।

जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदमा ट्रायथलनका प्रतिस्पर्धा सेप्टेम्बर २० र २१ तारिखमा सञ्चालन हुँदैछन्।

बिदाइ कार्यक्रममा अध्यक्ष श्रेष्ठले एसियाडजस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राविधिक अधिकारीको भूमिका र जिम्मेवारी महत्वपूर्ण हुने बताउँदै चाहना र पुष्पलाई सफल सहभागिताका लागि शुभकामना दिए।