कृष्णभिरमा सडक खुलाउने तयारी, खाली ग्यास बुलेटबाट परीक्षण गरिँदै


धादिङ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सडकको ग्रेड मिलाउने काम तीव्र पारिएपछि केहीबेरमा खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता परीक्षण गर्ने तयारी गरिएको हो।

कृष्णभिरमा दुईवटा बुलडोजर प्रयोग गरी सडक सम्याउने र आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम भइरहेको छ। ग्राभेलिङ र कम्प्याक्सनको काम भने बाँकी रहेको छ।

अहिले धादिङका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले स्थलगत निरीक्षण गरिरहेको छ। तत्काल अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र सञ्चालन गर्न सकिने गरी सडक तयार पार्ने प्रयास भइरहेको छ।

मौसमले साथ दिए आजै आंशिक रूपमा ग्यास बुलेट र हेभी इक्युपमेन्ट बोकेका सवारीसाधन सञ्चालन गर्न सकिने आयोजनाले जनाएको छ। गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभिरमा सडक कटान भएपछि उक्त खण्ड अवरुद्ध हुँदै आएको छ।