म्याच प्वाइन्ट बचाएर गाउफ सेमिफाइनलमा


लन्डन, (एजेन्सी) ।

अमेरिकी टेनिस स्टार कोको गाउफले सानदार पुनरागमन गर्दै यूएस ओपनको महिला एकल सेमिफाइनलमा स्थान सुरक्षित गरेकी छन् । गाउफले दुई म्याच प्वाइन्ट बचाएर मिर्रा एन्ड्रीभाविरुद्धको खेल जितेकी हुन् ।

गाउफले पहिलो सेट २–६ ले गुमाएपछि दोस्रो सेट ७–६ ले आफ्नो पक्षमा पारिन् । यसपछि उनले निर्णायक सेट सहजै ६–२ ले जितिन् । यो जितसँगैं उनी दोस्रोपटक यूएस ओपनको अन्तिम चारमा पुगिन् ।
पहिलो सेटमा एन्द्रीभाले गाउफमाथि दबाब बनाएकी थिइन् । दोस्रो सेट भने रोमाञ्चक बनेको थियो । एन्ड्रीभा आफ्नो सर्भिसमा म्याच प्वाइन्टमा पुगेकी थिइन् । तर, गाउफले दुई म्याच प्वाइन्ट बचाएर यो सेट आफ्नो नाममा गरेकी थिइन् । निर्णायक सेटमा भने गाउफले कुनै गल्ती नगरी केवल १९ मिनेटमै सेट जितेकी थिइन् ।

२०२३ की यूएस ओपन विजेता गाउफले सेमिफाइनलमा दोस्रो वरियताकी एलेना रिबाकिनासँग खेल्नेछिन् । रिबाकिनाले क्वार्टरफाइनलमा चीनकी झेंग किनवेनलाई हराएकी थिइन् । यो जितसँगैं रिबाकिना महिला एकलतर्फ विश्व नम्बर एक खेलाडी बनिन् ।
यस्तै, दोस्रो सेमिफाइनल खेलमा दुईपटककी विजेता एरिना सबालेन्काको सामना तेस्रो वरियताकी जेसिका पेगुलासँग हुनेछ । सबालेन्का तेस्रोपटक यूएस ओपन जित्ने लक्ष्यमा छिन् भने पेगुला पहिलो ग्रान्डस्लाम उपाधिको पर्खाइमा छिन् ।