नयाँ दिल्ली ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक साइमा वाजेदले बुधबार आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्। रोयटर्सका अनुसार वाजेदले डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेसुसलाई पठाएको राजीनामा पत्रमा संगठनको नेतृत्वप्रति आफ्नो विश्वास गुमेको उल्लेख गरेकी छन्। वाजेदमाथि आर्थिक ठगी, शैक्षिक योग्यताबारे गलत विवरण दिएको तथा बंगलादेशमा जग्गा गैरकानुनी रूपमा प्राप्त गरेको आरोपमा अनुसन्धान भइरहेको छ। उनले भने आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छन्।
सन् २०२४ को सुरुवातमा पाँच वर्षका लागि दक्षिण–पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा निर्वाचित वाजेदलाई गत वर्षदेखि नै बेतलबी प्रशासनिक बिदामा राखिएको थियो। बंगलादेशको भ्रष्टाचारविरोधी आयोगले सन् २०२५ मार्चमा उनीविरुद्ध ठगी तथा किर्तेसम्बन्धी आरोपमा मुद्दा दायर गरेको थियो।
त्यसपछि उनलाई जुलाई २०२५ मा पहिलोपटक बिदामा पठाइएको थियो। डब्लुएचओले वाजेदमाथि चीन भ्रमणका क्रममा आर्थिक ठगी गरेको र आफ्नो शैक्षिक योग्यताबारे गलत जानकारी दिएको आरोप लगाएको थियो। वाजेदका वकिलहरूले भने चीन भ्रमणसँग सम्बन्धित करिब ९०१ अमेरिकी डलर खर्च फिर्ता माग्ने प्रक्रियामा सहयोगीबाट प्रशासनिक त्रुटि भएको बताएका छन्। शैक्षिक योग्यतासम्बन्धी आरोप पनि वाजेदले अस्वीकार गरेकी छन्।
अटिजमसम्बन्धी आफ्नो कामका लागि आफूले मानार्थ विद्यावारिधि प्राप्त गरेको र त्यसबारे डब्लुएचओका महानिर्देशकलाई पहिल्यै जानकारी गराएको उनको दाबी छ। ‘डब्लुएचओ नेतृत्वप्रति विश्वास रहेन’ महानिर्देशक टेड्रोसलाई पठाएको राजीनामा पत्रमा वाजेदले आफू क्षेत्रीय निर्देशक पदमा निर्वाचित भएर दक्षिण–पूर्वी एसियाका सदस्य राष्ट्रहरूको सेवा गर्न आएको र इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख गरेकी छन्। उनले पत्रमा आफूलाई प्रभावकारी रूपमा जिम्मेवारी पूरा गर्नबाट निरन्तर रोकिएका कारण डब्लुएचओ नेतृत्वप्रतिको आफ्नो विश्वास र भरोसा गुमेको बताएकी छन्।
करिब एक वर्षदेखि आफूले कुनै पारिश्रमिक नपाएको र त्यसका कारण आर्थिक अवस्था निकै कठिन बनेको पनि उनले उल्लेख गरेकी छन्। ‘यी परिस्थितिमा मैले पदबाट अलग हुने निर्णय गरेकी छु,’ उनले पत्रमा भनेकी छन्। नयाँ क्षेत्रीय निर्देशकका लागि निर्वाचनको तयारी स्रोतका अनुसार डब्लुएचओले वाजेदलाई औपचारिक रूपमा पदबाट हटाउने तयारी गरिरहेको थियो। नयाँ क्षेत्रीय निर्देशक चयनका लागि अक्टोबर १२ मा उम्मेदवारी आह्वान गर्ने, डिसेम्बरमा उम्मेदवारहरूको छानबिन गर्ने र जनवरी २४ मा निर्वाचन गर्ने तयारी भइरहेको छ। डब्लुएचओका क्षेत्रीय निर्देशकहरू विश्व स्वास्थ्य क्षेत्रमा प्रभावशाली नीति अधिकारीका रूपमा लिइन्छन्।
उनीहरूको मुख्य जिम्मेवारीमा रोगको प्रकोप तथा स्वास्थ्य आपत्कालीन अवस्थाको सामना, स्वास्थ्यसम्बन्धी नीति कार्यान्वयन तथा सम्बन्धित क्षेत्रको परिस्थितिअनुसार डब्लुएचओका नीतिलाई अनुकूल बनाउने कार्य पर्छ। क्षेत्रीय निर्देशक सदस्य राष्ट्रहरूबाट प्रत्येक पाँच वर्षमा निर्वाचित हुन्छन्। दक्षिण–पूर्वी एसिया क्षेत्रअन्तर्गत बंगलादेश, भारतलगायतका देश सदस्य छन्। हसिना परिवारमाथि बढ्दो दबाब वाजेदको राजीनामालाई सन् २०२४ मा शेख हसिना सत्ताबाट हटेपछि उनको परिवारमाथि बढ्दै गएको दबाबको अर्को महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
हसिनाविरुद्ध बंगलादेशमा विभिन्न आरोपमा मुद्दा चलिरहेको छ भने उनका राजनीतिक सहयोगीहरूमाथि समेत भ्रष्टाचारलगायतका आपराधिक आरोपमा अनुसन्धान तथा मुद्दा चलिरहेको छ। हसिना हाल बंगलादेशबाहिर निर्वासनमा रहेकी छन्। वाजेदले भने आफ्नो राजीनामा व्यक्तिगत निर्णय भएको बताउँदै आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै आएकी छन्।












प्रतिक्रिया