चीनमा एआई नाटकको दबदबा


चीनमा कृत्रिम बुद्धिमत्ताबाट पूर्ण रूपमा तयार गरिएको टेलिभिजन नाटकले प्राइम टाइममा प्रसारण हुँदै नयाँ इतिहास बनाएको छ। ‘बियोन्ड वुकोङ’ नामक ३० भागको यो नाटकमा परम्परागत अर्थमा कुनै मानव कलाकारले अभिनय गरेका छैनन्। दृश्य, पात्र र वातावरण निर्माणमा एआई प्रविधिको प्रयोग गरिएको छ।

हुनान स्याटेलाइट टेलिभिजनले अगस्टको अन्त्यदेखि यो नाटक राति ८ बजेको प्राइम टाइममा प्रसारण गरिरहेको छ। नाटक चिनियाँ प्रसिद्ध पौराणिक कथा ‘जर्नी टु द वेस्ट’ अर्थात् ‘पश्चिमको यात्रा’बाट प्रेरित नयाँ कथामा आधारित छ। कथामा बाँदर राजा सुन वुकोङको कथापछि हजार वर्षपछिको समय देखाइएको छ, जहाँ नयाँ पात्र सुन स्याओसेङ र उनका साथीहरू नयाँ यात्रामा निस्कन्छन्।

नाटकका ३० भागमध्ये प्रत्येक भाग करिब ४० मिनेट लामो छ। यसको निर्माण करिब तीन महिनामै गरिएको बताइएको छ। दर्शकको प्रतिक्रियाका आधारमा पछिल्ला भागलाई प्रसारणकै क्रममा परिमार्जन गर्ने योजना पनि निर्माण पक्षले बनाएको छ।

यसको प्रसारणले चीनको मनोरञ्जन क्षेत्रमा ठूलो बहस सुरु गरेको छ। एआईको प्रयोगले चलचित्र तथा टेलिभिजन निर्माणको लागत र समय उल्लेख्य रूपमा घटाउन सक्ने समर्थकहरूको तर्क छ। चीनमा एआईबाट तयार हुने छोटा नाटकहरूको संख्या पनि तीव्र रूपमा बढिरहेको छ। सन् २०२६ को पहिलो त्रैमासिकमा मात्रै करिब १ लाख २८ हजार माइक्रो ड्रामा निर्माण भएको र तीमध्ये ९५ प्रतिशतभन्दा बढी एआईबाट तयार गरिएको चिनियाँ उद्योगसम्बन्धी तथ्यांकलाई उद्धृत गर्दै रिपोर्टहरूमा उल्लेख छ।

तर एआई नाटकले कलाकार तथा अन्य सिर्जनात्मक जनशक्तिको रोजगारीमा पार्न सक्ने प्रभावबारे चिन्ता पनि बढेको छ। एआईबाट तयार पात्रहरूको अनुहार एकै किसिमको देखिने, भावनात्मक अभिव्यक्ति कमजोर हुने र मानव कलाकारले दिने सूक्ष्म अभिनयको अभाव रहने आलोचना हुँदै आएको छ।

निर्माण पक्षले भने सबै काम एआईलाई मात्र जिम्मा नदिएको जनाएको छ। नाटकमा मानवीय आवाज प्रयोग गरिएको छ भने मुख्य कलात्मक डिजाइन र सांस्कृतिक पक्षमा मानव टोली संलग्न रहेको बताइएको छ। विज्ञहरूले पनि भविष्यको चलचित्र निर्माणमा ‘मानव नेतृत्व र एआई सहयोग’को मोडल बढी प्रभावकारी हुने बताएका छन्।

चीनमा एआईबाट बनेको नाटक प्राइम टाइमको मुख्य टेलिभिजन प्रसारणमा पुग्नुले मनोरञ्जन उद्योगमा एआईको प्रयोग अब प्रयोगात्मक चरणबाट मूलधारतर्फ प्रवेश गरेको संकेत दिएको छ। यससँगै कलाकारको रोजगारी, प्रतिलिपि अधिकार, डिजिटल पात्रको स्वामित्व र एआई सामग्रीको नियमनबारे बहस अझ तीव्र हुने देखिएको छ।