कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका सार्वजनिक, वडा अधिवेशन असोज ३ र ४ गते


काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले सार्वजनिक गरेको कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मका कार्यक्रमको मिति तय गरिएको हो।

कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन २०८३ असोज ३ गते शनिबार र ४ गते आइतबार सम्पन्न गरिनेछ। स्थानीय अनुकूलताअनुसार यी दुईमध्ये कुनै एक दिन अधिवेशन गर्न सकिने व्यवस्था गरिएको छ। वडा अधिवेशनबाट वडा कार्यसमितिको निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।

त्यसैगरी गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते बुधबार गर्ने कार्यतालिका तय भएको छ। प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते शनिबार सम्पन्न गरिनेछ।

केन्द्रीय निर्वाचन समितिले नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गते गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। यससँगै कांग्रेसको तल्लो तहदेखि केन्द्रीय तहसम्मको अधिवेशन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गरिने निर्वाचन समितिले जनाएको छ। विपद्का कारण नियमित राजनीतिक गतिविधि प्रभावित भएका यी जिल्लामा स्थानीय परिस्थिति र उपलब्धताको आधारमा अधिवेशन व्यवस्थापन गरिने भएको हो।

निर्वाचन समितिका अनुसार नेपाली कांग्रेसको जनसम्पर्क समितिअन्तर्गत बाँकी रहेका देशहरूको अधिवेशन पनि २०८३ असोज १० गतेभित्र सम्पन्न गरिनेछ। जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको विस्तृत समयतालिका भने दोस्रो चरणमा प्रकाशित गरिने समितिले जनाएको छ।

नयाँ कार्यतालिकासँगै कांग्रेसभित्र महाधिवेशन केन्द्रित राजनीतिक गतिविधि तीव्र हुने देखिएको छ। वडा तहबाट सुरु हुने अधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियालाई तल्लो तहदेखि अघि बढाउनेछ। वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनपछि क्रमशः पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र हुँदै केन्द्रीय महाधिवेशनतर्फ प्रक्रिया अघि बढ्नेछ।

निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काद्वारा जारी कार्यतालिकामा बाढी प्रभावित तीन जिल्लाको अवस्थालाई समेत ध्यानमा राखेर अधिवेशन सञ्चालन गर्ने व्यवस्था गरिएको छ।