तिलगंगा आँखा प्रतिष्ठानद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाखभन्दा बढी सहयोग


काठमाडौं ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख ५१ हजार ३५२ रुपैयाँ सहयोग गरेको छ।

प्रतिष्ठानले आफ्नोतर्फबाट १ करोड १ लाख १ रुपैयाँ तथा प्रतिष्ठानका सम्पूर्ण कर्मचारीको एक दिन बराबरको पारिश्रमिकबापत ८ लाख ५१ हजार ३५१ रुपैयाँ कोषमा जम्मा गरेको हो।

यस्तै, प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलियाले २१ लाख ८१ हजार २०० रुपैयाँ कोषमा सहयोग गरेको छ। यससँगै कोषमा जम्मा गरिएको कुल सहयोग रकम १ करोड ३१ लाख ३२ हजार ५५२ रुपैयाँ पुगेको छ।

भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी र प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनका नेपाल प्रतिनिधि एन्जिला दाहालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।

विपद्को कठिन अवस्थामा प्रभावित समुदायको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले विपद्को समयमा सबै नेपाली एकजुट भई एकअर्काको दुःख–सुखमा साथ दिन तथा प्रभावित समुदायको पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्न समेत आग्रह गरेको छ।