लमजुङ।
धादिङको कृष्णभीरमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि लमजुङबाट काठमाडौं जाने यात्रु थप समय र खर्चको मारमा परेका छन् । भदौ १४ गते बाढीको कटानले सडक भासिएपछि बेसीशहर, काठमाडौं नियमित मार्ग अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि लमजुङबाट काठमाडौं जाने यात्रुले चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ । नियमित अवस्थामा पाँच, छ घण्टामा पूरा हुने बेसीशहर, काठमाडौं यात्रा अहिले १२ देखि १३ घण्टासम्म लाग्ने गरेको छ ।
वैकल्पिक मार्ग लामो र घुमाउरो हुँदा सार्वजनिक यातायातको भाडासमेत बढेको छ । सडक अवरुद्ध हुनुअघि नौ सय रुपैयाँमा काठमाडौं पुग्ने डिजेल माइक्रोबसको भाडा अहिले करिब दुई हजार रुपैयाँ पुगेको छ । विद्युतीय माइक्रोबसको भाडा पनि सात सय रुपैयाँबाट बढेर एक हजार पाँच सय रुपैयाँसम्म पुगेको छ ।
बेसीशहर माइक्रो काउन्टरका अनुसार सडक अवरोध अघि दैनिक ४० देखि ५० वटासम्म माइक्रोबस काठमाडौं जाने गरेकामा अहिले पाँचदेखि सात वटा मात्र सञ्चालनमा छन् । अत्यावश्यक काम परेका यात्रु मात्रै काठमाडौं जाने गरेका कारण यात्रुको चापसँगै सवारी साधनको संख्या पनि घटेको काउन्टरले जनाएको छ ।
बेसीशहर, काठमाडौं माइक्रोबसका चालक मुस्कान राईका अनुसार वैकल्पिक बाटो लामो र घुमाउरो भएकाले यात्रा समयसँगै इन्धन खर्च पनि बढेको छ । यसको प्रत्यक्ष असर यातायात व्यवसायीको आम्दानीमा परेको उनको भनाइ छ ।
ठूला बसको सञ्चालन समेत प्रभावित भएको छ । पृथ्वी राजमार्ग बस काउन्टरका अनुसार यसअघि दैनिक पाँच, छ वटा ठूला बस काठमाडौं जाने गरेकामा अहिले एउटा बस मात्रै सञ्चालनमा छ । वैकल्पिक मार्ग र दूरीअनुसार भाडा फरक पर्ने भएकाले निश्चित भाडादर कायम गर्न कठिन भएको काउन्टरले जनाएको छ ।
सडक अवरोधको असर सर्वसाधारण यात्रुमा मात्रै सीमित छैन । उपचारका लागि काठमाडौं लगायतका शहरमा रिफर हुने बिरामीसमेत प्रभावित भएका छन् । लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं, चितवन र पोखरातर्फ रिफर गर्ने गरिएको छ ।
काठमाडौं लैजानुपर्ने बिरामीलाई घुमाउरो बाटो हुँदै एम्बुलेन्समा लैजानुपर्दा समय र खर्च दुवै बढेको रेग्मीले बताए । कतिपय बिरामीलाई पोखरासम्म एम्बुलेन्समा पु¥याएर त्यहाँबाट हेलिकप्टर मार्फत काठमाडौं लैजानुपर्ने अवस्था समेत आउने गरेको अस्पतालले जनाएको छ ।
सडक अवरोधका कारण बिरामी तथा आफन्तले थप झन्झट व्यहोर्नुका साथै उपचार खर्चसमेत बढाउनुपर्ने बाध्यता छ । कृष्णभीरको सडक कहिले पूर्णरुपमा सञ्चालनमा आउँछ भन्ने टुङगो नलाग्दा लमजुङबाट काठमाडौं आवतजावत गर्ने यात्रु, यातायात व्यवसायी तथा उपचारका लागि काठमाडौं जानुपर्ने बिरामी प्रत्यक्ष प्रभावित भएका छन् ।












प्रतिक्रिया