काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको इतिहासलाई तोडमोड गर्ने प्रयास नगर्न चेतावनी दिएका छन्। उनले भदौ २३ गतेको घटना इतिहास बनिसकेको भन्दै त्यसलाई परिवर्तन गर्ने प्रयास नगर्न आग्रह गरेका हुन्।
मंगलबार जेनजी स्मृति दिवसका अवसरमा काठमाडौंको नयाँ बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आन्दोलनमा ज्यान गुमाएका युवाहरूको बलिदानलाई स्मरण गरे।
आन्दोलनका क्रममा आफूले भोगेको पीडा अझै ताजा रहेको उल्लेख गर्दै उनले भने, ‘अझैसम्म यो हातमा लागेको त्यो रगत तातै महसुस हुन्छ। ती शहीदलाई बोकेको काँध अझै भारी हुन्छ।’
गुरुङले जेनजी आन्दोलनले उठाएका मुद्दा र युवाहरूका सपनालाई आफूले नबिर्सिएको बताए। आन्दोलनको भावना र त्यसले देखाएको बाटोअनुसार अघि बढिरहेको उनको भनाइ थियो।
उनले जेनजी आन्दोलनको इतिहासलाई आफ्नो अनुकूल व्याख्या गर्ने वा बदल्ने प्रयास नगर्न आग्रह गरे। ‘भदौ २३ इतिहास हो, त्यसलाई बदल्ने प्रयास नगर्नुहोस्,’ उनले भने।
गृहमन्त्री गुरुङले जेनजी आन्दोलनले देखाएका सपना र अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको समेत बताए।












प्रतिक्रिया