प्रसारण अधिकार बेचेरै क्यानको आम्दानी ३२ करोडभन्दा बढी


काठमाडौं, (नेस) ।

आगामी कार्तिकमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन अघि नै नेपाल क्रिकेट संघ (क्यान) ले ३२ करोडभन्दा बढी रकम आम्दानी गरेको छ । क्यानले टेलिभिजन र ओटीटीतर्फ प्रसारण अधिकार तथा ई सेवालाई टिकटिङ अधिकार बेचेर क्यानले आम्दानी गरेको हो ।

क्यानले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा जनाएअनुसार प्रतियोगिताको खेल प्रसारण गर्ने अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिले प्राप्त गरेको छ । क्यानले उल्लेख गरेअनुसार हिमालय टेलिभिजिनले १४ करोड ६४ लाख रुपियाँमा प्रतियोगिताको प्रसारण अधिकार प्राप्त गरेको हो । खेलहरू हिमालय टेलिभिजनको हिमालय स्पोर्ट्स च्यानेलबाट प्रसारण गरिनेछ ।

यसैगरी प्रतियोगिताको विश्वव्यापी ओटीटीतर्फ प्रसारण अधिकार नेट टिभी प्रालिले प्राप्त गरेको छ । क्यानको अनुसार सबैभन्दा धेरै रकम कबुल गरेर नेट टिभीले सो अधिकार प्राप्त गरेको हो । नेट टिभीले १८ करोड ४ लाख (करबाहेक) को कबुल गरेको हो ।

यसैगरी टिकटिङ अधिकार ईसेवा लिमिटेडले प्राप्त गरेको छ । ईसेवाले ८५ लाख रुपियाँमा टिकटिङ अधिकार पाएको क्यानले जनायो । टिकटिङबाट प्राप्त हुने आम्दानीको ९५ प्रतिशत क्यानले र ५ प्रतिशत रकम ईसेवाले प्राप्त गर्ने शर्त रहेको छ ।