उदयपुर ।
उदयपुर जिल्लाका ८ वटा पालिका मध्ये ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेकोमा पहाडी भएको भेगमा पर्ने ४ गाउँपालिका बसाई सराई गरेर जानेका कारण रित्तिँदै गएको छ । नगरपालिका क्षेत्रमा भने बसाई सरी आउनेको संख्या बढिरहेको छ ।
उदयपुरका पहाडी पालिकाहरुमा खास गरी खेतबारीमा उब्जाबाली राम्रो नहुने, सिंचाईको असुविधा, पाखोबारी, पहिरोका भय, यातायातको असुविधा भएको छ । शिक्षा, स्वास्थ्य, खानेपानीको समस्याका कारणले बसाई सराई गर्ने क्रम बढेको हो । अर्कोतिर वैदेशिक राजेगारका कारणले पुरुषहरु वेदेशिक रोजगारमा जाने र महिलाहरु छोराछोरी पढाउनकालागि सहर बजारमा तथा सुविधायुक्त ठाउँमा बस्ने क्रम रहेकोले वैदेशिक रोजगारबाट फर्किएपछि गाउँ नजाने र सहर बजारमै जग्गा किनेर घर बनाएर बस्ने गरेकेोले गाउँ रित्तिँदै गएको बताइएको छ ।
यस विषयमा उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगरले बसाई सराई जानेका कारण जनसंख्या घटेको र विविध कारणले बसाई सराई गरी जानेको संख्या बढेको बताए । २०६८ को जनगण्ना अनुसार उदयपुरगढीको जनसंख्या ३२ हजार रहेकोमा २०७८ सालको जनगणना अनुसार २८ हजार ५ सय रहेको बताउनु भयो ।
अध्यक्ष मगरका अनुसार पहाडी क्षेत्रमा उब्जाबाली नहुने, सिंचाईको असुविधा, बाटो घाटोका समस्या, पैसा हातमा भएर पनि किनेर खान नपाइने अवस्था छ । स्तरीय शिक्षाको अभाव, बिरामीलाई उपचारको समस्या लगायतका विविध समस्याका कारण उदयपुरगढी गाउँपालिकाबाट बसाई सराई गर्नेको संख्या बढेको हो । गत आर्थिक वर्ष २०८२/ ०८३मा उदयपुरगढीबाट बसाई सरी जानेको संख्या १सय ४१ घर धुरीका ४ सय ५५ जना रहेको र बसाई सरी आउनेको संख्या भने ७१ घरधुरीका १सय ९८ जना रहेको अध्यक्ष मगरले बताउनु भयो ।
यसैगरी लिम्चुङ्बुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुष्पलाल राईले स्थानीय सरकारले बसाई सराई रोक्नकालागि सक्दो प्रयास गरिरहेको छ । तर नेपाल सरकारले नीति निर्माण गर्दा नेपालको हिमाली पहाडी क्षेत्रको भूगोल गाउँ घरको अवस्थालाई मध्यनजर गरेर नीति नबनाउँदा बसाई सराईले गाउँ रित्तिँदै गएको बताउनु भयो ।
अध्यक्ष राईले बसाई सराईका कारण बहुआयामिक रहेको जानकारी दिँदै बाँदर आतङ्क, यातायातको असुविधा, उब्जा कम हुने लगायतका कारणहरु रहेको र यसलाई रोक्न केन्द्रीय सरकारले पनि भूगोल अनुसार नीति निर्माणमा ध्यान दिनुपर्ने बताउनु भयो । राज्यले दिने सेवा सुविधामा कमी भएपछि र नीति नै जनताका हितमा नभएकोले बसाई सराई बढेको बताउनु भयो ।
लिम्चुङबुङ गाउँपालिकाबाट आ. ब २०८२ । ०८३ मा १सय १४ घरका २ सय ९९ जना बसाई सरी गएको र आउनेमा ८ घरधुरीका १५ जना रहेको सो पालिकाको पंजिकरण शाखाले जनाएको छ ।
यसैगरी रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र बहादुर मगरले कतिपय धेरै दुःख पाएर र कतिपय धेरै सुख पाएर, कतिपयले धेरै कमाएर बसाई सर्ने गरेको जानकारी दिँदै लोकतन्त्रमा एकठाउँबाट अर्को ठाउँमा बसाई सर्ने र जान पाइने बताउनु भयो ।
बसाई सराई रोक्नकालागि रौतामाई गाउँपालिकाले कस्तो नीति लिएको छ भन्ने जिज्ञासामा अध्यक्ष मगरले ठोस जवाफ दिन सकेनन् । बोल्दा बोल्दै बिचैमा फोन काटे ।
रौतामाई गाउँपालिकाको पंजिकरण शाखाले दिएको विवरण अनुसार यस पालिकाबाट आ. ब. २०८२।०८३मा १सय ५४ घरधुरीका ४सय ४९ जना बसाई सरी अन्यत्र गएको र ३० घरधुरीका ९५ जना अन्यत्रबाट बसाई सरी आएका छन् ।
यस विषयमा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्मासँग जिज्ञासा राख्दा शिक्षा स्वास्थ्यका कारण करिब ६० घर परिवार काडमाण्डौतिर बसाईसरेर गएको भए पनि उहाँहरुको जग्गाजमिन अझै ताप्ली गाउँपालिकामा रहेकोले बसाई सरेकालाई गाउँमै फर्काउने वातावरण बनाउने काम पालिकाले गरिरहेको छ । हाल ताप्लीको करिब १४ हजार ५ सय जनसंख्या र ५ हजार ६ सय मतदाता संख्या रहेको उनले बताए ।
ताप्ली गाउँपालिकामा प्रतिष्ठित पोखरेलपरिवार, ढुंगाना परिवारको जग्गाजमिन अझै रहेकोले उहाँहरु फर्कने सोचमा रहनु भएको छ । विगतको तुलनामा गाउँमा बाटो घाटो शिक्षा स्वास्थ्यमा सुधार हुँदै गएकोले केही विकास भएकोले बसाई सरेर अन्यत्र गएका घरपरिवार फर्कने सोचमा रहेको अध्यक्ष विश्वकर्माले बताए ।
ताप्ली गाउँपालिकाको पंजिकरण शाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८२।०८३ मा बसाइँसरि जाने घरधुरीको संख्या ३ सय ५६ रहेको र व्यक्तिको सदस्य संख्या १०८१ जना रहेका छन् । बसाई सरी आउने घरधुरी ३९ र व्यक्ति संख्या १०१ जना रहेका छन् ।
यसैगरी त्रियुगा नगरपालिकामा बसाई सरी आउनेको संख्या ६५९ घरधुरीका २०१३ जना रहेका छन् भने जानेको संख्या ३२१ घरधुरीका ९६७ जना रहेको पंजिकरण शाखाका शिरोमणी खतिवडाले बताए । उदयपुरबाट बसाई सरी जानेहरु मोरङको.विराटनगर, काठमाडौँ, सुनसरी लगायतका शिक्षा स्वास्थ्य तथा अन्य सेवा सुविधा सम्पन्न जिल्लामा गएका छन् । त्रियुगामा बसाई सरी आउनेहरु भने खोटाङ। ओखलढुंगा भोजपुर र उदयपुरकै विकट पहाडी भेग जस्तै लिम्चुङबुङ, ताप्ली, उदयपुरगढी, रौता लगायतका पालिकाहरुबाट आएका छन् ।
कटारी नपामा बाहिरबाट बसाई सरी आउने १सय ६७ घरधुरीका ५सय ३५ परिवार रहेका छन् भने बसाई सरेर बाहिर जाने १सय ५४ घरधुरीका ४सय ६७ जना रहेका छन् । कटारीमा पनि खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली जिल्लाबाट बसाई सरी आएको पंजिकरण शाखाले जनाएको छ । बसाइँसरि जानेहरु काठमाडौँ, विराटनगर लगायतका शहरमा गएका छन् ।
चौदण्डीगढी नपाबाट बसाई सरी जाने १सय ५४ घरधुरीका ४सय४२ जना रहेका छन् भने बसाई सरी आउनेहरु २ सय १ घरधुरीका ५सय ७४ जना रहेका छन् । चौदण्डीगढीमा पनि खोटाङ। भोजपुर लगायतका जिल्लाबाट बसाई सरी आउनेहरु रहेका छन् ।
यसैगरी बेलका नगरपालिकामा बसाई सरी आउनेको संख्या २सय ४७ घरधुरीका ६सय ९३ जना रहेका छन् भने बेलकाबाट अन्यत्र बसाई सरी जानेको संख्या २सय घरधुरीका ५सय ६० जना रहेका छन् । बेलकामा बढी भोजपुर जिल्लाबाट खोटाङबाट बसाई सरी आएका छन् भने जानेमा सुनसरी, मोरङ जिल्लामा बढी रहेका छन् ।
जिल्लामा १ हजार ५ सय ९९ घरधुरीका ४ हजार ७ सय २० जना बसाई सरी जानेको संख्या छ भने बसाई सरी आउनेको संख्या १ हजार ४ सय २२ घरधुरीका ४ हजार २ सय ८४ जना रहेको छ । पहाडी ४ गाउँपालिकाबाट बाटो खानेपानी शिक्षा स्वास्थ्य तथा बाँदर आतंकका तथा अन्य असुविधाका कारण बसाई सरी जाने ७ सय ७० घरधुरीका २ हजार २ सय ८४ जना रहेका छन् भने शहरी तथा बजार क्षेत्रका ४ नगरपालिकाबाट बसाई सरी जानेको संख्या ८सय २९ घर धुरीका २ हजार ४ सय ६६ जना रहेका छन् ।
पहाडी ४ गाउँपालिकामा बसाई सरी आउने घरधुरी १ सय ४८ का ४सय ९ जना छन् भने शहरी तथा बजार क्षेत्रमा बसाई सरी आउने १ हजार २ सय ७४ घरधुरीका ३ हजार ८सय १५ जना रहेका छन् ।
पहाडी गाउँ पालिकाबाट विविध असुविधाका कारण बसाई सरेको देखिन्छ भने शहरी तथा बजार क्षेत्रबाट चाहिँ उच्चस्तरको शिक्षा स्वास्थ्य तथा भौतिक सेवा सुविधा लिन तथा सम्पन्न परिवारहरु सुखभोगका कारण बसाई गर्नेहरु रहेका छन् ।
नगर र गाउँपालिकामा जिल्लामा सबैभन्दा बढी ताप्लीबाट ३ सय ५६ घरका १०८१ जना बसाई सरी गएका छन् । नगरपालिकामा त्रियुगा नगरपालिकाबाट ३ सय २१ घरधुरीका ९सय ६७ जना बसाई सरेर अन्यत्र गएको देखिन्छ । जिल्लाको सबैभन्दा सुविधा युक्त मानिएको र सदरमुकाम रहेको नगरपालिकाबाट नै बसाई सरी जानेको संख्या निकै रहेको देखिन्छ । नगरपालिका तथा गाउँपालिकाले जनतालाई दिनु पर्ने सेवा सुविधा दिन नसक्दा बाटो घाटोको असुविधा बाँदरको समस्, खानेपानी , शिक्षा, स्वास्थ्य, सिंचाईको असुविधा, उब्जाबाली नहुने पाखोबारी, बाढी, पहिरो लगायतका समस्याले गर्दा मानिस बसाई सराई जान बाधय हुनु परेको लिम्चुङबुङ गाउँपालिकाका समाजसेवी राजकुमार राईले बताए ।
लिम्चुङ्बुङ गाउँपालिका वडा नं १ का वडाध्यक्ष जनदीप थापा मगरका अनुसार १ नं वडाबाट आर्थिक वर्ष २०८२ । ०८३मा १८ घर परिवारका ६० जना बसाइसराई गरेर अन्यत्र गएको र पालिकाबाट सेवा सुविधा उपलब्ध गराउादा पनि बस्न नमानेको अवस्था छ । विगतको तुलनामा पालिकाले स्थानीयलाई सेवा सुविधा बढाएको र बैदेशिक रोजगारमा जानेहरु नै बढी सुविधायुक्त ठाउँमा बसाई जाने गरेको उनले बताए ।
सो पालिकाको २ नं वडाबाट ०५७।५८ देखि बसाई सरी जानेक्रम बढेको जानकारी दिदै २ नं वडा सचिव हेमन्त राईले २ नं वडामा पहिले ४ हजार जनसंख्या रहेकोमा अहिले घटेर २ हजार ५ सय मात्र रहेको जानकारी दिँदै २०८२। ०८३मा २६ घरका ७३ जना बसाई सरी गजएको बताए । उनले आ. ब. ०८१।०८२मा २ नं वडाबाट ३१ घरका १०५ जना बसाई सरी अन्यत्र गएको बताए । यसरी बसाई सराई गर्नुको कारणमा सचिव राईले भौगोलिक अवस्था, भौतिक सुविधा नहुनु, पाखो बारी,सिचायृको असुविधा, उब्जाबाली नहुनु, शिक्षा, स्वास्थ्य खानेपानी, सडक यातायात नहुनु आदि कारण रहेको बताए ।
३ नं वडाका सचिव गौतम दाहालले आ.ब २०८२ ।२०८३मा २७ घरका ४५ जना बसाई सरेको बताए । यसरी नै ४ नं वडाबाट ३२ घरका ८८ जना बसाई गएको वडाध्यक्ष छत्र बहादुर राईले बताए । ५ नं वडाबाट ५ घरका २७ जना बसाई सरेर अन्य गएको वडाध्यक्ष कविचन्द्र राईले बताए ।












प्रतिक्रिया