जिस्ममा बोल्ड दृश्यका कारण करियर सकिने डर देखाइएको थियो : बिपाशा


बलिउड अभिनेत्री बिपाशा बसुले आफ्नो करियरको महत्वपूर्ण फिल्ममध्ये एक जिस्मबारे रोचक खुलासा गरेकी छन्। उनले फिल्ममा काम गर्नुअघि बलिउडका केही अनुभवी व्यक्तिहरूले आफूलाई अभिनय नगर्न सुझाव दिएको बताएकी छन्।

बिपाशाका अनुसार फिल्ममा बोल्ड दृश्य भएकाले त्यसले आफ्नो करियरमा नकारात्मक असर पार्न सक्ने भन्दै उनलाई सावधान गराइएको थियो। फिल्म गरेपछि भविष्यमा आफूले थप काम नपाउन सक्ने चेतावनीसमेत दिइएको उनले बताएकी छन्।

बिपाशाले भनिन्, ‘जब मसँग यो फिल्मको प्रस्ताव आयो, त्यतिबेला फिल्म क्षेत्रसँग जोडिएका केही मानिसहरूले मलाई यसमा काम नगर्न सुझाव दिएका थिए। उनीहरूले फिल्ममा बोल्ड दृश्य दिएमा मेरो करियरमा नराम्रो असर पर्न सक्ने र पछि फिल्म नपाउन सक्ने बताएका थिए।’

तर, यस्तो सुझाव पाए पनि बिपाशा आफ्नो निर्णयमा अडिग रहिन्। उनले आफू वयस्क भएको र फिल्म पनि वयस्क प्रेमकथामा आधारित भएकाले त्यसलाई लिएर आफू स्पष्ट रहेको बताइन्।

बिपाशाले फिल्ममा आफूले सोनिया नामको पात्र निर्वाह गरेको र उक्त पात्रमा आफूलाई सहज रूपमा ढाल्न सकेको बताइन्। उनले ‘जिस्म’ मा काम गर्दा आफूले निकै रमाइलो अनुभव गरेको पनि उल्लेख गरेकी छन्।

जिस्ममा बिपाशा बसु र जोन अब्राहम मुख्य भूमिकामा थिए। महेश भट्टको निर्देशनमा बनेको यो फिल्म बिपाशाको करियरका चर्चित फिल्ममध्ये एक मानिन्छ।