काठमाडौं ।
हालै रसुवामा आएकोे विनाशकारी बाढीको बावजुद काठमाडौंंमा पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) शुक्रबारदेखि सुरु भएको छ । आयोजकको अनुसार यस प्रतियोगितामा खेल्न विदेशी खेलाडी नेपालमा आइसकेको हुनाले प्रतियोगिता स्थगन गरेन । त्यसो त पहिलो दिनको खेलबाट उठेको रकम बाढी पीडीतका लागि सहयोग गर्ने भएको छ ।
नेपाल भलिबल संघ (एनभीए) अन्तर्गत आयोजना भएको यो पुरुषतर्फ पहिलो फ्रेन्चाइजी भलिबल प्रतियोगिता पनि हो । महिलातर्फ भने दुई संस्करणको फ्रेन्चाइजी प्रतियोगिता सम्पन्न भइसकेको छ । तेस्रो संस्करणको प्रतियोगिता भने विनाशकारी बाढीको कारण हाललाई स्थगन गरिएको छ ।
पहिलोपटक भएको पुरुषको फ्रेन्चाइजी लिगमा विभिन्न प्रदेशलाई प्रतिनिधित्व गर्ने ६ टोलीको सहभागिता रहेको छ । जसमा, सगरमाथा स्मासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स सुदूरपश्चिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
नियमअनुसार एक टोलीले १२ खेलाडी अनुबन्ध गरेको छ । जसमा एक मार्की र एक ट्यालेन्ट खेलाडीसहित ९ जना खेलाडी हुनेछन् । बाँकी तीन खेलाडी विदेशी राख्न पाउने नियम रहेको छ । ६ टोलीमा गरी प्रतियोगितामा कूल १८ जना विदेशी खेलाडी अनुबन्ध भएका छन् । त्यसमध्ये पाकिस्तानबाट सर्वाधिक पाँच खेलाडी सामेल छन् । यस्तै, भारत र मंगोलियाबाट समान तीन खेलाडी छन् भने इरान, रुस, पोल्यान्ड, बेलारुस, सर्विया, ब्राजिल तथा बेनिनबाट समान एक खेलाडी प्रतियोगितामा सामेल छन् ।
प्रतियोगिता सिंगल राउन्डरोबिनको आधारमा हुनेछ । लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् । प्रतियोगिताको कूल पुरस्कार राशि ३२ लाख रहेको छ । जसमा विजेताले २० लाख पाउनेछ । यो नेपाली भलिबल इतिहासमा दिन लागिएको अहिलेसम्मकै ठूलो पुरस्कार रकमसमेत हो । बाँकी १२ लाख रकम विभिन्न विधाका लागि छुट्याइएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा जारी यस प्रतियोगिता यही भदौ २७ गतेसम्म हुनेछ ।
नतिजा
शनिबारसम्म चार खेल सम्पन्न भएको छ । जसमा, सगरमाथा स्मासर्स, कर्णाली शिवराज, काठमाडौं रेड्सले जित निकालेका छन् । सगरमाथा र काठमाडौंले मधेश वारियर्सलाई हराएका हुन् । योसँगैं मधेशले लगातार दुई हार बेहोरिसकेको छ । यस्तै, कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर किंग्सलाई हराएको हो ।












प्रतिक्रिया