काठमाडौँ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियान ११औँ दिनमा प्रवेश गरेको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी आसपासका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।
परराष्ट्र मन्त्रालयले शनिवार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ९८ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक छन् । शुक्रवार धुन्चेबाट एक चिनियाँ र कोलोनीबाट एक अमेरिकी नागरिकको समेत उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म चार जनालाई जीवितै उद्धार गरिएको छ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट बिहीवार दुई नेपाली नागरिकको जीवितै उद्धार गरिएको थियो । यसअघि माथिल्लो त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिक र शनिवार बेत्रावतीस्थित घरबाट एक नेपाली नागरिकलाई जीवितै उद्धार गरिएको मन्त्रालयले जनाएको छ । यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट एक शवसमेत फेला परेको छ ।
पाँच हजार अझै बेपत्ता
सरकारी तथ्याङ्कअनुसार बाढीपछि अझै करिब पाँच हजार मानिस बेपत्ता छन् । बेपत्तामध्ये करिब ६ सय जना ३५ देशका विदेशी नागरिक रहेको मन्त्रालयले जनाएको छ । हालसम्म प्रभावित क्षेत्रमा १ हजार ३ सय ४४ शव फेला पारिएको छ । खोज तथा उद्धार र शव पहिचानको प्रक्रिया जारी रहेकाले मृतक तथा बेपत्ताको सङ्ख्या अझै परिवर्तन हुन सक्ने मन्त्रालयले जनाएको छ ।
सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित प्रदेश तथा
स्थानीय तहका निकायलाई खोज, उद्धार तथा राहत कार्यमा परिचालन गरेको छ ।
भारत, चीन र कोरियाका सुरुङ उद्धार टोली परिचालित
बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धारका लागि भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गरी काम गरिरहेका छन् ।
उद्धार कार्यमा ड्रोन, उद्धार सामग्री, लोड क्यारियर तथा अन्य अत्याधुनिक उपकरण प्रयोग भइरहेका छन् । अस्ट्रेलियाबाट १५ सदस्यीय डिजास्टर असिस्टेन्स एन्ड रेस्पोन्स टिम शनिवार नेपाल आइपुगेको छ । मलेसियाबाट ११ सदस्यीय विशेष विपद् सहायता तथा उद्धार टोली पनि शनिवार काठमाडौँ आइपुगेको मन्त्रालयले जनाएको छ ।
माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, यू–२१६ हाकु, चिलिमे र लाङटाङलगायत जलविद्युत् आयोजनामा खोज तथा उद्धारका लागि थप प्राविधिक जनशक्ति र उपकरण परिचालन गरिएको छ ।
सडक, विद्युत् र सञ्चार पुनःस्थापनामा जोड
सरकारले बाढी प्रभावित क्षेत्रमा सडक, विद्युत् तथा दूरसञ्चार सेवा पुनःस्थापना गर्ने कामलाई समेत तीव्रता दिएको छ । नेपाली सेना र इन्जिनियरहरूको टोलीले तादी नदीमाथि अस्थायी पुल निर्माण गरी गल्छी–त्रिशूली सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ । त्रिशूली इन्द्रेणीघाट र देवीघाटमा दुईवटा केबल पुलसमेत सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
७ हजार ५ सय ७० घर प्रभावित
बाढीबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कनअनुसार करिब ७ हजार ५ सय ७० घर प्रभावित भएका छन् । ती घरमा बसोबास गर्ने करिब ३२ हजार ९ सय ३३ जना प्रभावित भएको प्रारम्भिक तथ्यांक छ । त्यस्तै, ४८ सरकारी कार्यालय, ५५ किलोमिटर सडक, ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।
बाढीका कारण करिब १ हजार ८ सय ६ हेक्टर कृषि भूमि, १३ वटा जलविद्युत् आयोजना, एउटा सौर्य ऊर्जा आयोजना र दुईवटा प्रसारण लाइनमा क्षति पुगेको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ । क्षतिका कारण ७८३ मेगावाट जलविद्युत् उत्पादन क्षमता प्रभावित भएको मन्त्रालयले जनाएको छ । क्षतिको वास्तविक अवस्था र पुनर्निर्माणका लागि आवश्यक लागत यकिन गर्न विस्तृत पोस्ट डिजास्टर निड्स एसेसमेन्टसमेत अघि बढाइएको छ ।
शव पहिचानका लागि डीएनए सङ्कलन
बाढीमा फेला परेका शवको पहिचानका लागि आवश्यक फरेन्सिक प्रक्रिया अघि बढाइएको छ । पहिचान प्रक्रिया सहज बनाउन आवश्यक प्रक्रिया पूरा गरेपछि केही शवलाई अस्थायी रूपमा गाड्ने कामसमेत सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
बेपत्ता व्यक्तिका परिवारजनलाई नेपाल प्रहरी अस्पताल, महाराजगन्ज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । विदेशमा रहेका परिवारजनले सम्बन्धित देशमै डीएनए प्रोफाइल तयार गरी नेपाल प्रहरीको सम्बन्धित इमेलमा पठाउन सक्ने व्यवस्था गरिएको छ । भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीसमेत नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै शवको डीएनए सङ्कलन, परीक्षण र पहिचान कार्यमा जुटेका छन् ।
२४ अन्तर्राष्ट्रिय उडानमार्फत राहत
बाढी प्रभावितका लागि विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त राहत तथा उद्धार सामग्री नेपाल ल्याउन हालसम्म २४ वटा उडानको सहजीकरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारत, चीन, संयुक्त अरब इमिरेट्स, बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, मलेसिया, नर्वे, क्यानडा, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्डलगायत विभिन्न देश तथा युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक र संयुक्त राष्ट्रसंघका निकायबाट नेपालले सहयोग प्राप्त गरेको मन्त्रालयले जनाएको छ । नेपालले थप उच्च क्षमताका ड्रोन, लाइडार, बेली ब्रिज, डीएनए परीक्षण किट, शव राख्ने ब्याग, ग्राउन्ड पेनेट्रेटिङ राडार, उच्च क्षमताका पम्प, प्रयोगशाला फ्रिजलगायत खोज तथा उद्धारका सामग्रीका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।
चीनबाट १५५ नेपाली स्वदेश फर्किए
बाढीका कारण चीनतर्फ प्रभावित भएका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल र चीनका सम्बन्धित निकायबीच समन्वय भइरहेको छ । शनिवार १ सय ५५ नेपाली नागरिक तातोपानी नाका हुँदै नेपाल फर्किएका छन् भने थप १ सय २७ नेपाली नागरिक आइतवार सोही नाकाबाट नेपाल फर्किने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनाललाई विभिन्न देशका समकक्षी तथा विदेशी उच्च अधिकारीहरूले टेलिफोन गरी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई सहयोग र ऐक्यबद्धता जनाएका छन् । दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युन शनिवार साँझ काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको पनि मन्त्रालयले जनाएको छ ।
बाढी प्रभावितको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरेको जनाएको छ । क्षतिको व्यापकता र जटिलतालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगलाई निरन्तरता दिन सरकारले आग्रह गरेको छ ।












प्रतिक्रिया