एभरेस्ट महिला भलिबल लिग स्थगित


काठमाडौं, (नेस) ।

रसुवामा गएको विनाशकारी बाढीपहिरोबाट सिर्जित विपद् र मानवीय संकटलाई मध्यनजर गर्दै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को तेस्रो संस्करण तत्कालका लागि स्थगित गरिएको छ । लिग आयोजकले विज्ञप्ति जारी गर्दै असोज १५ देखि २४ गते (अक्टोबर १ देखि १० ) सम्म तय भएको प्रतियोगिता हालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

रसुवामा गएको बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै प्रभावित समुदाय विस्थापन र पीडामा रहेको अवस्थामा ठूलो खेलकुद उत्सव आयोजना गर्नु आफ्नो मूल्य मान्यताअनुकूल नहुने आयोजकको निष्कर्ष छ । ‘एभरेस्ट महिला भलिबल लिगले जनता, समुदाय, सामाजिक सहिष्णुता र नेपालको भावनालाई प्रतिनिधित्व गर्छ। यस विपद्बाट प्रभावित तथा शोकसन्तप्त नेपालीहरूसँग ऐक्यबद्ध भई उभिनुलाई हामी आफ्नो जिम्मेवारी मान्दछौँ,’ इडब्लुभिएल प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्नेभी चापागाईंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतियोगिता स्थगित गर्ने निर्णय जटिल भए पनि आवश्यक रहेको उल्लेख गर्दै आयोजकले तेस्रो संस्करणको तयारीमा निरन्तर खटिएका खेलाडी, टोली, अधिकारी, साझेदार, समर्थक तथा सबैप्रति आयोजकले सम्मान व्यक्त गरेको छ । लिगलाई उपयुक्त मितिमा पुनःतालिका बनाएर आयोजना गरिने आयोजकले जनाएको छ। साथै, एभरेस्ट महिला भलिबल लिगले प्रतिनिधित्व गर्दै आएको ऊर्जा, जोश र उद्देश्यका साथ उपयुक्त समयमा प्रतियोगिता पुनः आयोजना गर्ने प्रतिबद्धता पनि आयोजकले जनाएको छ ।