भोटेकोशी बाढीमा १,२०४ जनाको शव फेला, ४,२१६ अझै बेपत्ता

११ हजार ९९३ जनाको उद्धार, ५८३ विदेशी नागरिकको अवस्था अझै अज्ञात

0
Shares

काठमाडौं ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बुधबार साँझसम्म १ हजार २०४ जनाको शव फेला परेको छ भने करिब ४ हजार २१६ जना अझै बेपत्ता रहेको सरकारले जनाएको छ । बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।

भोटेकोशी बाढीसम्बन्धी दैनिक प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयले बुधबार दिउँसो दिएको जानकारीअनुसार उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक छन् । उद्धार गरिएका विदेशीमध्ये पाँच जना सम्पर्कमा रही सुरक्षित अवस्थामा रहेको जनाइएको छ ।सरकारका अनुसार भोटेकोशी बाढीमा ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता छन् । यद्यपि टर्कीका दुई, ओमानका एक, माल्टाका चार, सर्बियाका एक र बुल्गेरियाका एक नागरिक भने परिवार तथा सम्बन्धित निकायको सम्पर्कमा रहेको र उद्धार भइसकेको मन्त्रालयले जनाएको छ । खोजी तथा पहिचानको काम जारी रहेकाले यी तथ्यांक अद्यावधिक भइरहने मन्त्रालयको भनाइ छ ।

जलविद्युत आयोजनाका सुरुङमा अझै मानिसहरू फसेको हुनसक्ने भएकाले सुरुङ उद्धारलाई विशेष प्राथमिकतामा राखिएको छ ।
सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी खोज, उद्धार, विस्थापितको स्थानान्तरण तथा राहत वितरण गरिरहेको जनाएको छ । भारत, चीन र दक्षिण कोरियाका विशेष सुरुङ उद्धार टोलीसमेत नेपाली सेनासँगको समन्वयमा परिचालित रहेको जनाइएको छ ।

तीन स्थानमा सुरुङ उद्धार
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार भारतीय सुरुङ उद्धार टोलीले नेपाली उद्धार टोलीसँगको सहकार्यमा लाङटाङ र चिलिमे क्षेत्रमा काम गरिरहेको छ । सुरुङ खोल्ने प्रयास भइरहे पनि भित्रतर्फ माटो र ठूला ढुंगा भरिएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । त्यस्तै चिनियाँ सुरुङ उद्धार टोली माथिल्लो त्रिशूली–३ ‘ए’ क्षेत्रमा परिचालित छ। नेपाली उद्धार टोलीसँग मिलेर काम गरिरहेको चिनियाँ टोलीले सुरुङका केही भाग खोल्न सफल भएको जनाइएको छ ।
त्यस्तै दक्षिण कोरियाली सुरुङ उद्धार टोलीले माथिल्लो त्रिशूली–१ को सुरुङ खोल्न नेपाली टोलीसँग सहकार्य गरिरहेको छ । खोज तथा उद्धारलाई तीव्र बनाउन दक्षिण कोरियाबाट थप जनशक्ति र आवश्यक सामग्री आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

डीएनए परीक्षणमा भारत, चीन र सिंगापुरको टोली
बाढीमा मृत्यु भएकाहरूको पहिचानका लागि १९ सदस्यीय भारतीय फरेन्सिक टोली नेपाल प्रहरीसँगको सहकार्यमा डीएनए नमुना परीक्षणमा संलग्न छ । त्यसैगरी चीनबाट आएको पाँच सदस्यीय विशेष फरेन्सिक टोलीले नेपाल प्रहरीसँग मिलेर डीएनए नमुना प्रशोधन तथा विश्लेषणको काम अघि बढाएको छ ।
डीएनए परीक्षणको प्रक्रिया तीव्र बनाउन सिंगापुरबाट ६ सदस्यीय विपद् पीडित पहिचान टोली नेपाल आइपुगेको छ । थप १३ सदस्यीय टोली डीएनए परीक्षण उपकरणसहित बुधबार नेपाल आउने जनाइएको छ । उच्च क्षमताका ड्रोन तथा अन्य आवश्यक सामग्रीसहित थप सदस्यसमेत बिहीबार आउने मन्त्रालयले जनाएको छ । दक्षिण कोरियाली फरेन्सिक टोली पनि आवश्यक उपकरण तथा सामग्रीसहित पहिचान कार्यमा सहभागी भएको छ ।

शव व्यवस्थापन सुरु
बाढीपछि फेला परेका शवको संख्या बढ्दै गएपछि आवश्यक फरेन्सिक प्रक्रिया पूरा गरेर सम्बन्धित निकायले अस्थायी रूपमा शव गाड्ने प्रक्रिया सुरु गरेको सरकारले जनाएको छ । भविष्यमा पहिचान गर्न सकिने र पहिचान भएपछि परिवारलाई आफन्तको शव हस्तान्तरण गरी अन्तिम संस्कार गर्न सकिने गरी अस्थायी समाधिस्थलको व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ ।
बेपत्ता व्यक्तिका परिवारलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ ।

विदेशमा रहेका आफन्तले आफू बसेको देशमै डीएनए प्रोफाइल तयार गरी नेपाल प्रहरीको आधिकारिक इमेलमा इमेल पठाउन सक्ने व्यवस्था गरिएको छ । यससम्बन्धी जानकारी सम्बन्धित देशलाई कूटनीतिक माध्यमबाट पठाइसकिएको मन्त्रालयले जनाएको छ ।

३४ देशका विदेशी नागरिक बेपत्ता
भोटेकोशी बाढीका कारण ३४ देशका विदेशी नागरिकसमेत प्रभावित भएका छन् । विदेशी नागरिकको खोज, उद्धार तथा परिवारसँग समन्वयका लागि परराष्ट्र मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षले सम्बन्धित निकाय, कूटनीतिक नियोग तथा बेपत्ता विदेशी नागरिकका परिवारसँग समन्वय गरिरहेको छ । सरकारले सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आधिकारिक रूपमा प्रमाणित तथ्यांक मात्र प्रयोग गर्न र अपुष्ट सूचना तथा तथ्यांक सार्वजनिक नगर्न आग्रह गरेको छ । अद्यावधिक विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए), नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित सरकारी निकायमार्फत उपलब्ध गराइने जनाइएको छ ।

चीनबाट नेपाली तथा विदेशीको उद्धार तथा फिर्ती
चीन सरकारले तिब्बतबाट नेपाली तथा विदेशी नागरिकलाई नेपाल–चीनका अन्य सीमा नाकामार्फत फिर्ता ल्याउन सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ । बाढी आउँदा कैलाश मानसरोवरतर्फ जाने–आउने क्रममा रहेका करिब ३ हजार जनामध्ये करिब २ हजार ५०० जना अधिकांश तीर्थयात्री हिल्सा र तातोपानी नाकामार्फत फर्किसकेका छन् । बाँकीलाई समेत फिर्ता ल्याउने व्यवस्था भइरहेको र केही व्यक्ति ल्हासाबाट हवाईमार्ग हुँदै फर्किरहेको मन्त्रालयले जनाएको छ ।

हाल करिब १ हजार ५०० नेपाली नागरिक केरुङमा रहेको र उनीहरूलाई आवश्यकताअनुसार चाँडै नेपाल फर्काउन चिनियाँ पक्षसँग समन्वय भइरहेको छ ।त्यस्तै केरुङमा रहेका १७६ नेपाली ट्रक तथा कन्टेनरलाई वैकल्पिक उपयुक्त सीमा नाकामार्फत पुनःमार्ग निर्धारण गरी नेपाल ल्याउने विषयमा चिनियाँ अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । भाद्र १० गते बाढी आएका दिन चिनियाँ सीमातर्फ करिब १०० नेपाली नागरिक बेपत्ता रहेकोसमेत मन्त्रालयले जानकारी दिएको छ ।

राहत तथा पूर्वाधारको क्षतिको प्रारम्भिक मूल्यांकन
बाढी प्रभावित क्षेत्रमा राहत सामग्री प्रभावकारी रूपमा परिचालन गरिएको सरकारले जनाएको छ । अन्तर्राष्ट्रिय समुदाय तथा विभिन्न साझेदारबाट प्राप्त थप राहत सामग्री प्रभावित क्षेत्रमा पठाउने क्रम जारी रहेको छ । यता कतिपय जंगल क्षेत्रमा भागेर आफै ज्यान बचाएका र सुरुङबाट भागेर आफै ज्यान बचाउन सफल भएका नागरिकलाई सरकारले राहतमा समेट्न नसकेको गुनासो सामाजिक संजाल मार्फत आईरहेको छ ।

बाढीका कारण घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा भएको क्षतिको प्रारम्भिक मूल्यांकन भइरहेको छ । प्रभावित क्षेत्रका कतिपय स्थान अझै पहुँचबाहिर रहेकाले क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ । प्रारम्भिक मूल्यांकनपछि पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक यथार्थ क्षति तथा नोक्सानीको विस्तृत मूल्यांकन गरिने सरकारले जनाएको छ ।

सरकारले छिमेकी मुलुक, मित्रराष्ट्र, अन्तर्राष्ट्रिय संघसंस्था तथा साझेदारसँग उच्च तहमा निरन्तर समन्वय गरिरहेको जनाएको छ । सरकारले भोटेकोशी बाढीलाई अत्यन्त पीडादायी विपद्का रूपमा उल्लेख गर्दै बेपत्ता व्यक्तिका परिवारप्रति दुःख व्यक्त गरेको छ । खोज तथा उद्धारलाई निरन्तरता दिँदै बेपत्ताको खोजी गर्ने र प्रभावित सबैलाई सहयोग गर्ने कार्यलाई सरकारले मुख्य प्राथमिकतामा राखेको जनाइएको छ ।