गल्फको सेतो बलमा देखिएको नेपालको एसियाड पदक सपना

0
Shares

बिसौँ शताब्दीको सुरुआती चरणतिर जब काठमाडौंको हरियो दुबोयुक्त मैदानमा पहिलोपटक गल्फको सानो सेतो बल गुड्दा यसलाई केवल सामन्ती दरबारिया सोख र उच्च अभिजात वर्गको मनोरञ्जनको साधनमात्र मानिन्थ्यो । तर, समयको चक्रसँगै चेतना र सम्भावनाको नयाँ क्षितिज उघारियो, र त्यो संकुचित धारणा इतिहासको धमिलो पानामा सीमित हुन पुग्यो । आज गल्फ केवल अभिजात वर्गको सोखमा मात्र सीमित छैन, अगाध अनुशासन, अटुट समर्पण, राष्ट्रिय अस्मिता र अन्तर्राष्ट्रिय मञ्चमा सार्वभौम अस्तित्व प्रस्तुत गर्ने एउटा सशक्त माध्यम बनेर उभिएको छ । घरेलु प्रतिस्पर्धाका साना मैदानहरूबाट सुरु भएको नेपाली गल्फको यात्रा आज विश्वका प्रतिष्ठित गल्फ कोर्सहरूसम्म विस्तार भइसकेको छ । जब हाम्रा प्रतिभावान खेलाडीहरूले आफ्नो छातीमा नेपालको रातो–नीलो झण्डा अंकित जर्सी पहिरिएर विदेशी भूमिमा पाइला टेके, तब नेपाली खेलकुदको इतिहासमा एउटा स्वर्णिम युगको उदय भयो । यो केवल एउटा सानो सेतो बललाई प्वालभित्र हाल्ने खेलमात्र होइन । सीमित स्रोत, न्यूनतम पूर्वाधार र राज्यको शून्यप्राय सहयोगका बाबजुद विश्व मानचित्रमा एउटा सानो हिमाली राष्ट्रको स्वाभिमान दर्शाउने प्रतीक पनि हो ।

एसियन गेम्सजस्तो महादेशीय खेलकुदको विशाल महाकुम्भमा नेपालको निरन्तर र आत्मविश्वासपूर्ण उपस्थिति नेपाली गल्फको बढ्दो परिपक्वता र प्रतिभाको प्रत्यक्ष साक्षी हो । चीनको हाङझाउमा आयोजित १९औं एसियन गेम्सको दौरान ‘वेस्ट लेक इन्टरनेसनल गल्फ कोर्स’ को कठिन र चुनौतीपूर्ण मैदानमा जब नेपाली टोली उत्रियो, तब विश्वले नेपाली खेलाडीहरूको प्राविधिक कौशलयुक्त मनोबलको जीवन्त दृश्य देख्यो । देशका शीर्ष व्यावसायिक गल्फर शुक्रबहादुर राईसँगै उदीयमान युवा प्रतिभाहरू सद्भाव आचार्य र सुबास तामाङले एसियाका अर्बौं बजेट भएका शक्तिशाली राष्ट्रका दिग्गज खेलाडीहरूसँग आँखामा आँखा मिलाएर र काँधमा काँध जोड्दै प्रतिस्पर्धा गरे । पहिलो दिनकै प्रतिस्पर्धामा शुक्रबहादुरले टु–अन्डर ७० को उत्कृष्ट र चकित पार्ने स्कोर बनाउँदा सम्पूर्ण नेपाली खेलकुदप्रेमीको छाती गर्वले चौडा भएको थियो । त्यो शानदार प्रदर्शन केवल एउटा तथ्याङ्कमात्र थिएन, नेपाली गल्फरहरूसँग विश्वस्तरीय क्षमता छ र उनीहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको कडा दबाबका बीच पनि आफ्नो प्रतिभाको अमिट छाप छाड्न पूर्ण रूपमा सक्षम छन् भनेर स्पष्ट सन्देश दिएको थियो ।

दक्षिण एसियाली खेलकुद (साग) को क्षेत्रीय दायरामा नेपालले हासिल गरेको सफलता असाधारण र युगान्तकारी छ । सन् २०१९ मा काठमाडौंमै आयोजित १३औं सागमा सुबास तामाङको व्यक्तिगत र पुरुष टिमको दोहोरो स्वर्ण पदकको ऐतिहासिक जितले नेपाली गल्फको इतिहासमा एउटा अभूतपूर्व क्रान्ति ल्याइदिएको थियो । तर, दक्षिण एसियाको त्यो स्वर्णिम सफलता र एसियाली खेलकुदको पदक पोडियमबीच अझै पनि एउटा ठूलो, कठिन र प्राविधिक दूरी कायमै छ । एसियाली महादेशका स्थापित, आधुनिक प्रविधियुक्त र विश्वस्तरीय प्रतिस्पर्धीहरूसँग खेल्दा कहिलेकाहीँ अन्तर्राष्ट्रिय अनुभवको कमी, पूर्वाधारको सीमा र राज्यको लगानीको अभावले गर्दा जित नजिक पुगेर पनि पदक हातबाट फुत्किने गर्छ । तापनि, पदकविहीन भएर फर्कनुको अर्थ कहिल्यै पनि पराजय होइन । यो त भविष्यको ऐतिहासिक जितका लागि जग बसाल्ने एउटा कठिन, कठोर र प्रेरणादायी सिकाइको अध्याय हो । नेपाल गल्फ संघ (एनजीए) र मिहिनेती खेलाडीहरूका लागि एसियन गेम्सको पोडियममा राष्ट्रिय झण्डा फहराउनु केवल एउटा औपचारिक लक्ष्यमात्र नभएर अदम्य सपना र राष्ट्रिय संकल्प बनेको छ ।

आसन्न आईची नागोयामा हुन लागेको एसियन गेम्सको सम्भावित पदकलाई यथार्थमा परिणत गर्न नेपाली गल्फ टोलीका मुख्य प्रशिक्षक दिपक मगरको नेतृत्वमा खेलाडीहरू कठोर र वैदेशिक प्रशिक्षणमा जुटेका छन् । प्रशिक्षक मगरका अनुसार खेलाडीहरू यसपटक केवल सहभागिताका लागि मात्रै होइन, इतिहास रच्दै पदक जित्ने दृढ संकल्पका साथ अन्तर्राष्ट्रिय स्तरको उच्च अभ्यासमा लीन रहेको बताउँछन् । नेपाली टोलीका नक्षत्र मानिएका सद्भाव आचार्य हाल अमेरिकाको टेक्सासमा अत्याधुनिक प्रविधिसहित थप प्रशिक्षण लिइरहेका छन् भने अर्का स्टार सुबास तामाङ र राहुल विश्वकर्मा भारतको बेंगलोरस्थित विश्वप्रसिद्ध तरुण सरदेसाई एकेडेमीमा आफ्नो खेललाई तिखारिरहेका छन् । व्यावसायिक गल्फरका रूपमा स्थापित भइसकेका सुबासले हालै थाइल्यान्डमा १५ दिने कडा प्रशिक्षण पूरा गरी भारतको कडा ‘इन्डियन टुर’ मा सहभागिता जनाउँदै १२औं स्थान हासिल गरेर आफ्नो उत्कृष्ट पुनरागमनको प्रमाण दिइसकेका छन् ।

पुरुष खेलाडीहरू वैदेशिक भूमिमा पसिना बगाइरहँदा महिलातर्फ नेपालको एकमात्र प्रतिनिधित्व गरिरहेकी तारा कार्की भने स्वदेशमै रोयल नेपाल गल्फ कोर्स (आरएनजीसी) र गोकर्ण गल्फ कोर्सको मैदानमा असीम धैर्यका साथ कडा मिहिनेत गरिरहेकी छन् । अघिल्लो संस्करणमा दुई जना महिला खेलाडी भएकाले टिम इभेन्टमा प्रतिस्पर्धा गर्ने अवसर मिलेको भए पनि यसपटक एक्लो सहभागिताका कारण ताराले व्यक्तिगत स्पर्धामा मात्र देशको प्रतिनिधित्व गर्नेछिन् । अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको अनुभव र उच्च मापदण्डका अगाडि पदक जित्नु अत्यन्त चुनौतीपूर्ण रहेको वस्तुनिष्ठ सत्यलाई स्वीकार गर्दै पनि उनी आफ्नो स्विङ र खेलको प्राकृतिक रिदमलाई कायम राख्दै दैनिक दुईपटक कडा अभ्यासमा जुटिरहेकी छन् । गौशालास्थित नेपाली टिमलाई राखिएको होटलबाट दैनिक आफैँ सवारी चलाएर अभ्यासका लागि गोकर्ण पुग्नुपर्ने भौतिक सकसका बाबजुद पनि उनको आँखामा देशका लागि केही गर्ने दृढ संकल्प र मनोबल प्रस्ट देखिन्छ ।

एसियन गेम्सका लागि अमेरिकामा रहेका सद्भाव आचार्यको तयारी र समर्पण भने अद्भुत छ । अघिल्लो संस्करणको हाङझाउ एसियन गेम्समा झिनो अंकले मात्र फाइनल चरणमा प्रवेश गर्नबाट चुकेका सद्भाव यसपटक इतिहास दोहो¥याउन होइन, नयाँ इतिहास रच्न कडा साधना गरिरहेका छन् । अमेरिकी प्रशिक्षक म्याट वोर्नेके र फिजिकल ट्रेनर रोडी मसको प्रत्यक्ष मातहतमा उनले दैनिक ८ देखि ९ घण्टा गल्फ र फिटनेसमा बिताउने गरेको सद्भावका पिता तथा पूर्व गल्फ खेलाडी दिपक आचार्य बताउँछन् । साताको सातै दिन हुने यो कठोर साधनाले उनको लङ ड्राइभिङ, प्राविधिक सट र प्रतिकूल मौसममा खेल्न सक्ने ‘कोर्स म्यानेजमेन्ट’ क्षमतामा अभूतपूर्व सुधार ल्याएको छ । ‘गल्फ खेलको प्रकृति अनिश्चित भए तापनि यदि सद्भावले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन पस्कन सके भने यसपटक एसियाली खेलकुदमा नेपालले ऐतिहासिक पहिलो गल्फ पदक हासिल गर्ने सम्भावना अत्यन्त बलियो छ’–आचार्य बताउँछन् ।

यद्यपि, यो स्वर्णिम सपनाको अर्को तीतो र निराशाजनक पक्ष भनेको राज्य र सम्बन्धित निकायको चरम उपेक्षा हो । नेपालमा गल्फका लागि पर्याप्त पूर्वाधार र सरकारी लगानीको अभाव अझै पनि एउटा मुख्य अभिशापका रूपमा कायम छ । आफ्नै छुट्टै राष्ट्रिय गल्फ ट्रेनिङ एकेडेमी नहुँदा खेलाडीहरूले अभ्यासका लागि निजी गल्फ कोर्सहरूसँग सम्झौता गरेर निर्भर हुनुपर्ने बाध्यता छ । सरकारका तर्फबाट प्राप्त हुने सामान्य सहयोग र नेपाल ओलम्पिक कमिटीबाट प्राप्त स्कलरसिपबाहेक अन्य भौतिक वा आर्थिक सहयोग शून्यप्राय छ । बन्द प्रशिक्षणका लागि उपलब्ध गराइने सरकारी भत्ता त अमेरिकाजस्तो महँगो ठाउँमा एक पटकको कोचिङ शुल्क तिर्न पनि अपर्याप्त हुन्छ । राज्यको यो सुस्त र संकुचित दृष्टिकोणका बाबजुद नेपाल गल्फ संघ, विशेषगरी संघका अध्यक्ष टासी घले र खेलाडीहरूले आफ्नै व्यक्तिगत पहल, लगानी र प्रयासमा अन्तर्राष्ट्रिय स्तरको तयारी सम्भव बनाएका छन् । सीमित स्रोत, व्यक्तिगत त्याग र देशप्रतिको अगाध प्रेमले भरिएको नेपाली गल्फको यो अनवरत यात्राले आज सम्पूर्ण देशलाई नै नयाँ ऊर्जा, गौरव र प्रेरणा दिइरहेको छ ।