किशोरकिशोरीको नेतृत्व विकासमा इम्प्याक्ट क्लब

846
Shares

लमजुङ।

लमजुङमा किशोरकिशोरीलाई सक्रिय नागरिकका रुपमा विकास गर्ने उद्देश्यले गठन गरिएका इम्प्याक्ट क्लबका लिडरहरुको समीक्षा, आत्मचिन्तन तथा उत्सवसम्बन्धी दुई दिने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा क्लब गठन भएपछि भएका गतिविधि, उपलब्धि, चुनौती, सिकाइ तथा आगामी कार्ययोजनाका विषयमा लिडरहरुले समीक्षा र आत्मचिन्तन गरेका थिए । समुदायमा रहेका विभिन्न सवाल पहिचान गरी समाधानका लागि किशोरकिशोरीले खेल्न सक्ने भूमिकाबारे समेत छलफल गरिएको थियो ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपालको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल नेपालकी बाल संरक्षण संयोजक अन्जु भट्टराईले बाल संरक्षण, किशोरकिशोरीको अधिकार तथा नेतृत्व विकासका विषयमा सहजीकरण गरेका थिए ।

त्यस्तै, वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरुङले किशोरकिशोरीको क्षमता विकाससँगै उनीहरुलाई समुदायप्रति जिम्मेवार र सक्रिय नागरिकका रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।

कार्यक्रमको समापन गर्दै सहभागी समेल विकले इम्प्याक्ट क्लबमार्फत किशोरकिशोरीले आफ्ना समस्या र समुदायका सवालबारे खुलेर छलफल गर्ने तथा समाधानका लागि पहल गर्ने अवसर पाएको बताए ।

किशोरकिशोरीलाई संगठित गर्ने, नेतृत्व तथा क्षमता विकास गर्ने, सक्रिय नागरिकका रुपमा विकास गर्ने र समुदायमा रहेका समस्याको समाधानका लागि सक्षम बनाउने उद्देश्यले इम्प्याक्ट क्लब गठन गरिएको आरसिडिसिका इम्प्याक्ट अफिसर सुदिल परियारले जानकारी दिए ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालका र आरसिडिसिको सहकार्यमा करिब दुई महिनाअघि १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीलाई समेटेर बँसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका र दोर्दी गाउँपालिकामा इम्प्याक्ट क्लब गठन गरेको हो । बेसीशहरमा पाँच, दोर्दीमा दुई र सुन्दरबजारमा दुई गरी नौ वटा क्लब गठन गरिएको विकले बताए ।

कार्यक्रममा इम्प्याक्ट क्लबका १० जना लिडरको सहभागिता रहेको थियो । कार्यक्रममा क्लबका गतिविधिको प्रभाव, लिडरको भूमिका, आत्म मूल्यांकन तथा आगामी दिनमा सञ्चालन गरिने गतिविधिका विषयमा छलफल गरिएको थियो ।