दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको उपाधि हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई


काठमाडौं।

दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिताको उपाधि हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले जितेको छ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा हिमालयन एभरेस्टले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ५–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो।

सामाखुसी फुटसल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा विभिन्न बीमा कम्पनीका टोलीहरूको सहभागिता रहेको थियो। फाइनल खेलमा हिमालयन एभरेस्टका खेलाडीहरूले प्रभावशाली प्रदर्शन गर्दै सिद्धार्थ प्रिमियरमाथि सहज जित निकाले।

प्रतियोगितामा हिमालयन एभरेस्ट इन्स्योरेन्सका दिनेश कुमार सिंह प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। सोही टोलीका सुनिल थापा उत्कृष्ट डिफेन्डर घोषित हुँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका रोशन बुढाथोकी सर्वाधिक गोलकर्ता र सुजन घिमिरे उत्कृष्ट गोलकिपर घोषित भए।

प्रतियोगिताको समापन समारोहमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष चन्द्रसिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले विजेता तथा उपविजेता टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरे। विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताको मोबाइल एप पार्टनर Arena Pro को सहकार्यमा खेलका लाइभ स्कोर, नतिजा तथा प्रतियोगितासम्बन्धी जानकारी मोबाइल एपमार्फत उपलब्ध गराइएको थियो।

बीमा क्षेत्रका कम्पनीहरूबीच आपसी सम्बन्ध, सहकार्य, स्वस्थ प्रतिस्पर्धा र टिम स्पिरिटलाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी खेलाडीहरूको उत्कृष्ट प्रदर्शन, रोमाञ्चक खेल र टोलीहरूको उत्साहले प्रतियोगितालाई आकर्षक बनाएको थियो। खेलकुदमार्फत बीमा क्षेत्रभित्र आपसी सद्भाव र सहकार्यको वातावरण निर्माणमा प्रतियोगिताले योगदान पुर्‍याएको आयोजकको भनाइ छ।