राष्ट्रिय व्यवसायिक पहलको बीसौं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं ।

राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) को बीसौं वार्षिक साधारण सभा काठमाडौंको मन्डिखाटारमा सम्पन्न भएको छ। साधारण सभामा संस्थाको दुई दशकको यात्रा, आगामी कार्यदिशा तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा निजी क्षेत्रको भूमिकाबारे छलफल भएको छ।

सभाको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै एनबीआईका अध्यक्ष कुशकुमार जोशीले संस्थाको दुई दशक लामो यात्रामा सदस्य संघ–संस्थाहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले मुलुक राजनीतिक संक्रमणसँगै पटक–पटक दोहोरिने प्राकृतिक विपद्को चुनौतीमा रहेकाले यस्तो अवस्थामा निजी क्षेत्र थप जिम्मेवार र तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभयो।

सभामा पहिलोपटक सहभागी सदस्य संघ–संस्थाका अध्यक्षहरूलाई सम्मानसहित स्वागत गरिएको थियो। नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति निर्वाचनमा निर्वाचित एनबीआईका कार्यसमिति सदस्य तथा सदस्यहरूलाई समेत सम्मान गरिएको थियो।

त्यसैगरी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको कार्यसमितिमा निर्वाचित एनबीआईका कोषाध्यक्ष सरोज प्रसाद पाण्डे, महासचिव सुरेन्द्रवीर मालाकार र सचिव सुरेश प्रधानलाई पनि सम्मान गरिएको थियो। पाण्डे उपाध्यक्ष, मालाकार संस्थागत सदस्य तथा प्रधान कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको हो।

सभाको दोस्रो सत्रमा महासचिव सुरेन्द्रवीर मालाकारले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सरोज प्रसाद पाण्डेले वार्षिक आय–व्यय र वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभयो। सभाले दुवै प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

खुला छलफल सत्रमा बाढी, पहिरो तथा हिमताल विस्फोटन (GLOF) लगायत बढ्दो प्राकृतिक विपद्का जोखिम र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (DRRM) मा निजी क्षेत्रको भूमिकाबारे छलफल गरिएको थियो।

सहभागीहरूले हालैका विपद्का घटनाबाट सिकाइ लिँदै निजी क्षेत्रको तयारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। विपद्का समयमा निजी क्षेत्रसँग उपलब्ध यातायात, गोदाम, ढुवानी सञ्जाल तथा तत्काल परिचालन गर्न सकिने आर्थिक स्रोतलाई राज्यको संयन्त्रसँग जोड्ने संस्थागत संरचनाको आवश्यकता रहेको विषयसमेत उठाइएको थियो।

छलफलपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा निजी क्षेत्रको भूमिका थप प्रभावकारी बनाउने गरी ठोस कार्य अघि बढाउने जिम्मेवारी कार्यसमितिलाई दिने सहमति भएको छ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै एनबीआईका उपाध्यक्ष सुकुन्तलाल हिराचनले स्थापनाकालदेखि नै संस्थाले मुलुकको आवश्यकता र बदलिँदो परिस्थितिअनुसार आफूलाई अघि बढाउँदै आएको बताउनुभयो। उहाँले विपद् व्यवस्थापनतर्फ संस्थाको बढ्दो सक्रियता पनि यही निरन्तरताको हिस्सा भएको उल्लेख गर्नुभयो।

साधारण सभामा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य तथा सरकारी र दातृ निकायका प्रतिनिधिलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

एनबीआईले संस्थागत सामाजिक उत्तरदायित्व, दिगो विकास, स्वच्छ व्यवसाय प्रवर्द्धन र आचारसंहिता निर्माणलाई आधारभूत मान्यताका रूपमा अघि बढाउँदै आएको छ। साथै निजी क्षेत्रको क्षमता विकास, व्यवसायमा मानव अधिकार, विपद् व्यवस्थापन तथा औद्योगिक–व्यावसायिक वातावरण निर्माणलगायत समसामयिक विषयमा नीतिगत बहस र पैरवी गर्दै आएको जनाएको छ।