दशरथ रंशालाको एक कुनामा रहेको मिनी कभर्डहलभित्र जब मुसलधारे पानी पर्छ, तब आकाशमात्र वर्षंदैन, नेपाली उसु खेलाडीहरूका सपनाहरू पनि छताछुल्ल भएर चुहिन्छन् । चुहिने छानो, पानी जमेर जलमग्न बनेको म्याट, अनि चिसोले कठ्याङ्ग्रिने पर्खालहरू, यो कुनै सामान्य अभावको वास्तविकतामात्र होइन, एसियाली खेलकुदजस्तो महादेशीय सर्वोच्च खेल मञ्चमा देशको झण्डा फहराउने दृढ संकल्प बोकेका नेपाली उसु खेलाडीको दैनिक नियति हो । एकातिर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ‘मिसन २०२६’ को भव्य खाका कोरेर जापानको आइची–नागोया एसियाडमा स्वर्ण पदक जित्ने महत्वकांक्षी लक्ष्य सार्वजनिक गर्छ, अर्कातिर, त्यही लक्ष्यका मुख्य सारथी मानिएका सान्सौँ (सान्दा) का खेलाडीहरू एउटा गुणस्तरीय म्याट र ओभानो छानोका लागि याचना गरिरहेका छन् । १९औँ दक्षिण एसियाली खेलकुदका लागि ल्याइएको पुरानो म्याटमा हिलो र पानी पन्छाउँदै बिहान र बेलुका गरी चार घण्टा पसिना बगाउने प्रशिक्षक तुलसीनन्द बज्राचार्य, प्रकाश महर्जन र उनीहरूका ११ जना प्रतिबद्ध खेलाडीहरूको आँखामा भने निराशा होइन, एउटा अदम्य जितको भोक टल्किएको देखिन्छ ।
सन् १९९० को बेइजिङ एसियाडबाट सुरु भएको नेपाली उसुको ३६ वर्षे यात्रा केवल एउटा खेल अभियानमात्र होइन, अभावको पहाड पन्छाउँदै साँचिएको अधुरो पदकको करुण र ओजस्वी सपना पनि हो । दक्षिण एसियाली खेलकुद (साग) को म्याटमा जब नेपाली फाइटरहरू ओर्लिन्छन्, तब सफलता र पदकले सुसज्जित हुने गर्दछन् । घरेलु भूमि र क्षेत्रीय स्तरमा नेपाल उसुको निर्विकल्प ‘पावरहाउस’ हो । तर, जब यही टोली चीन, कोरिया जस्ता उसुका महाशक्ति राष्ट्रहरू सम्मिलित एसियाडको विश्वस्तरीय प्रतिस्पर्धात्मक महासागरमा पाइला टेक्छ, त्यहाँको कथा अर्कै बनिदिन्छ । सागमा स्वर्ण जितेर देशको शिर उचो पार्ने नीमा घर्ती मगर, विजय सिञ्जाली, र सुस्मिता तामाङजस्ता कर्मठ खेलाडीहरूले हरेक संस्करणमा आफ्नो सर्वस्व सुम्पेका छन् । तर, एसियाडको त्यो ऐतिहासिक पदक भने अझै पनि नेपाली खेलप्रेमीका लागि केवल एउटा टाढाको सपना बनेको छ । ३६ वर्षको यो निरन्तर प्रयासमा एउटा पनि पदक हात नलाग्नु खेलाडीको क्षमता वा समर्पणको कमी होइन, खेल प्रविधिको अभाव र दीर्घकालीन नीतिको खडेरीको प्रत्यक्ष परिणाम हो ।
नेपाली उसुभित्रको आन्तरिक विभेद र पूर्वाधारको दयनीय चित्रले खेलाडीहरूको मन झनै अमिलो बनाउँछ । ‘मिसन २०२६’ अन्तर्गत थाउलो विधाका खेलाडीहरू विजय सिञ्जाली, सुस्मिता तामाङ, दीपक हमाल, हरिप्रसाद गोले, राजीव तामाङ र सविता राई नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा चीनको युनान विश्वविद्यालयमा एक महिनाको अत्याधुनिक वैदेशिक प्रशिक्षण पूरा गरेर फर्किएका छन् । प्रकाश महर्जनको मुख्य प्रशिक्षणमा रहेका उनीहरूले अन्तर्राष्ट्रिय स्तरको एक्सपोजर पाएका छन् । २०१४ को इन्चोन एसियाडदेखि निरन्तर चौथोपटक एसियाडको तयारीमा रहेकी अनुभवी खेलाडी सुस्मिता तामाङ चीनको आधुनिक तालिमले आफ्नो खेल कौशल र ज्ञानमा निखार ल्याएको बताउँछिन् । तर, उनी पनि काठमाडौँ फर्केपछि सिनामंगलको होटलबाट गाडीमा रंगशाला धाइरहँदा चुहिने हल र भिजेको म्याट देख्दा मर्माहत हुन्छिन् । दुःखको कुरा त के छ भने, सान्सौँ (फाइट) विधाका रोहित चुनारो, अमर सुनार, सञ्जीव महर्जन, मुकेश पण्डित र रिता ठकुल्लाले भने यस्तो कुनै वैदेशिक एक्सपोजर पाउन सकेका छैनन् ।

एकै छानोमुनि थाउलोले वैदेशिक तालिम पाउँदा सान्सौँका खेलाडीले भने त्रिपुरेश्वरकै हिलाम्मे कभर्डहलमा चित्त बुझाउनु परेको छ । यद्यपि, अभावले नै प्रतिभालाई निखार्छ भन्ने जीवित उदाहरण बनेका छन् नवप्रवेशी खेलाडी मुकेश पण्डित । विगत नौ वर्षदेखि निरन्तर पसिना बगाइरहेका मुकेशले २०१८ र २०२२ को एसियाड छनोटमा भोगेको हारलाई शक्तिमा बदल्दै यसपटक दुईवटा एसियाड खेलिसकेका अनुभवी खेलाडी मंगलप्रसाद थारूलाई पराजित गरेर टोलीमा स्थान बनाएका हुन् । पहिलोपटक अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेक्न लागेका मुकेश र रिता ठकुल्लाको भनाइमा स्वर्णको दाबीभन्दा पनि आफ्नो जीवनकै उत्कृष्ट र स्मरणीय पर्फर्मेन्स दिने अदम्य आत्मविश्वास छ । उता, अघिल्लो संस्करणको हारबाट पाठ सिकेका अमर सुनार, रोहित चुनारो र सञ्जीव महर्जन त्यो पुराना अनुभवलाई पदकमा बदल्न मरिहत्ते गरिरहेका छन् ।
नेपाली उसुको विकासमा अर्को ठूलो पर्खाल बनेर उभिएको छ प्रशासकीय राजनीति र दुईवटा महासंघको अस्तित्व । राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको नाममा विभाजित दुई उसु संघको विवादका कारण खेलाडीहरू पिसिन बाध्य छन् । उसुको उद्गमस्थल चीन, अनि इरान र भियतनामजस्ता देशहरू जहाँ ‘स्पोट्र्स साइन्स’, भिडियो एनालाइटिक्स, बायोमेकानिक्स र न्युट्रिसन एक्सपर्टसहित वर्षभरि नै अन्तर्राष्ट्रिय ‘टेस्ट म्याच’ गराइन्छ, ती देशका आधुनिक सुसज्जित खेलाडीहरूसँग नेपालका यी निहत्था र स्रोतविहीन योद्धाहरूले केवल आफ्नो आत्मबल र हिम्मतका भरमा भिड्नुपरेको छ ।
नेपालमा दीर्घकालीन खेलाडी विकास योजनाको अभाव छ । विभागीय टोली (नेपाल पुलिस, त्रिभुवन आर्मी, र सशस्त्र प्रहरी बल) बाहेकका प्रतिभाशाली खेलाडीहरूले केवल खेल खेलेर जीविकोपार्जन गर्न नसक्दा उमेर छँदै खेल छाड्न वा वैदेशिक रोजगारीमा पलायन हुन बाध्य छन् । साथै, ताओलु जस्तो प्राविधिक विधामा अन्तर्राष्ट्रिय स्तरका ‘ए–ग्रेड’ निर्णायकको नेपाली उपस्थिति नहुँदा पनि हाम्रा खेलाडीहरू प्राविधिक अंक प्राप्त गर्नबाट वञ्चित हुने गरेका छन् । तर, यी तमाम चुनौती, आँसु र अभावका बाबजुद आशाको दियो निभेको छैन । विजय सिञ्जालीले जापानमा आयोजित तेस्रो ताओलु विश्वकपमा ऐतिहासिक कांस्य पदक जितेर विश्व मञ्चमा नेपालको धाक जमाइसकेका छन् । यो सफलताले स्पष्ट पार्छ, नेपाली खेलाडीको प्राविधिक कौशल र भित्री हिम्मत विश्वका शीर्ष खेलाडीभन्दा कम छैन ।
जापानको आइची–नागोया एसियाड २०२६ नजिकिँदै गर्दा नेपाली उसु टोली पुनः एकपटक आफ्नो रगत र पसिनाको मूल्य माग्न म्याटमा ओर्लिँदै छ । यो ३६ वर्षे यात्रा केवल पदकको खोजीमात्र होइन, राज्यको उपेक्षा, दयनीय पूर्वाधार र प्रतिकूल परिस्थितिलाई चिर्दै इतिहास रच्ने दृढ सङ्कल्पको जीवित प्रमाण हो । जबसम्म हाम्रा खेलाडीहरूको मुटुमा जितको भोक र आँखामा राष्ट्रिय झण्डा फहराउने सपना छ, तबसम्म यो संघर्ष रोकिने छैन । चुहिने छानोमुनिबाट सुरु भएको यो यात्राले एक दिन एसियाडको पोडियम चुम्नेछ र त्यो ऐतिहासिक ‘ब्रेक थ्रु’ ले सिंगो देशको गौरवलाई नयाँ उचाइ दिनेछ ।











प्रतिक्रिया