रसुवा बाढी : नुवाकोटमा ३ र धादिङमा ४ शव फेला, बेपत्ताको खोजी तीव्र


काठमाडौं ।

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी बगाएका ७ जनाको शव नुवाकोट र धादिङमा फेला परेको छ। पछिल्लो विवरणअनुसार नुवाकोटमा ३ र धादिङमा ४ जनाको शव फेला परेको हो।

बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोटको नदी किनारबाट ३ तथा धादिङबाट ४ जनाको शव फेला परेको छ। बाढीले बगाएका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिएका छन्।

तिब्बती क्षेत्रबाट रसुवा हुँदै आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याउँदै नुवाकोट हुँदै धादिङतर्फ पुगेको हो। बाढीले नदी आसपासका बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली उद्धार तथा खोजीमा परिचालन गरिएको छ। नेपाली सेनाका हेलिकप्टर तथा मेडिकल टोलीसमेत प्रभावित क्षेत्रमा पठाइएको छ भने नुवाकोट, धादिङलगायतका क्षेत्रमा सुरक्षा निकायले खोजी तथा उद्धारलाई तीव्र बनाएका छन्।

प्रशासनले त्रिशूली नदी आसपासका जोखिमयुक्त तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिम देखिए सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको छ।

Skip This