तेक्वान्दोको गौरवशाली इतिहास र एसियाडमा ब्युँझिँदै नयाँ सपना

0
Shares

सन् १९८६ को सेप्टेम्बर महिना नेपाली खेलकुदको क्यालेन्डरमा केवल एउटा साधारण पाना उल्टिएको समयमात्र थिएन, एसियाली खेलकुदको महाकुम्भमा नेपाल नामक सानो हिमाली राष्ट्रले आफ्नो स्वाभिमान, अस्तित्व र अदम्य साहसको पहिलो शक्तिशाली बिगुल फुकेको ऐतिहासिक विन्दु थियो । दक्षिण कोरियाको सियोल सहरमा १०औँ एसियाली खेलकुदको म्याट तात्दै गर्दा अभाव र बेवास्ताको चिसो ओच्छ्यानबाट उठेर विधान लामाले ५० केजी फिनवेट विधामा जब प्रतिपक्षीलाई धूलो चटाए, तब नेपालको खेलकुद इतिहासले नयाँ मोड लियो । त्यो काँस्य पदक केवल धातुको एक टुक्रामात्र थिएन, सीमित स्रोत–साधन र अन्तर्राष्ट्रिय मञ्चको अनुभवहीनताका बाबजुद एउटा देशले आफ्नो अद्भूत इच्छाशक्ति र पसिनाको बलमा पाएको पहिलो ऐतिहासिक आत्मसम्मान थियो । सियोलको त्यो खेल महाकुम्भमा विधान लामासँगै रामबहादुर थिङ, राजकुमार राई र राजकुमार गुरुङले आ–आफ्नो तौल समूहमा काँस्य पदक जित्दै एउटै प्रतियोगिताबाट चार–चार वटा पदक देशको झोलीमा हालिदिए । यसले सिंगो राष्ट्रलाई अन्तर्राष्ट्रिय पहिचानमात्र दिलाएन, नेपाली युवाहरूको रगतमा मार्सल आट्र्सप्रतिको यस्तो भयंकर आँधी पैदा गरिदियो, जसले आगामी कैयौँ पुस्ताको भविष्यलाई तेक्वान्दोको म्याटमा सानदारसँग डो¥यायो ।

सियोलमा बलेको त्यो आशाको दियोले नेपाली तेक्वान्दोलाई लामो समयसम्म उज्यालो बनाइरह्यो । विधान लामाले सन् १९८७ मा स्पेनको बार्सिलोनामा भएको आठौँ वल्र्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक काँस्य पदक जित्दै विश्वस्तरीय तेक्वान्दो प्रतियोगितामा पदक दिलाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाए । उनले नै सन् १९८८ को सियोल ओलम्पिकमा प्रदर्शनी खेलका रूपमा तेक्वान्दोमा काँस्य जितेर राष्ट्रको शिर उच्च बनाएका थिए ।

त्यसपछि सन् १९९४ को हिरोसिमा एसियाडमा मानबहादुर शाहीले काँस्य पदक जितेर सफलताको निरन्तरतालाई जीवित राखे । तर, नेपाली तेक्वान्दोको इतिहासमा अझै एउटा ठूलो कीर्तिमान रच्न बाँकी नै थियो । सन् १९९८ को बैंकक एसियाडमा जब सविता राजभण्डारीले फाइटिङ म्याटमा आफ्नो उत्कृष्ट कला प्रदर्शन गर्दै रजत पदक जितिन्, तब नेपाली खेलकुद इतिहासमै एक अभूतपूर्व अध्यायको जन्म भयो । एसियाली खेलकुदजस्तो अत्यन्तै प्रतिस्पर्धात्मक मञ्चमा नेपालका लागि पहिलो रजत पदक हात पार्नु कुनै अलौकिक चमत्कारभन्दा कम थिएन । सविताको त्यो ऐतिहासिक प्रहार र प्राप्त सफलताले नेपाली महिलाहरू केवल चुलोचौकोमा सीमित नभई अन्तर्राष्ट्रिय खेलकुदको शिखर चुम्न पूर्ण सक्षम छन् भन्ने कठोर सत्यलाई प्रमाणित गरिदियो । सोही संस्करणमा किशोर श्रेष्ठ र सपना मल्लले पनि काँस्य पदक जितेर टोलीको उत्साह दोब्बर बनाएका थिए ।

समयको चक्रसँगै चुनौतीका काला बादलहरू मडारिन थाले, प्रतिस्पर्धी राष्ट्रहरूले खेलकुदमा करोडौँको अत्याधुनिक प्रविधि र बजेट खन्याउन थाले । तर, नेपाली तेक्वान्दो खेलाडीहरूको मुटुभित्र बलेको देशभक्तिको आगोमा कहिल्यै कमी आएन । सन् २००२ को बुसान एसियाडमा नेपालले हासिल गरेका कुल तीनवटै पदक तेक्वान्दो टोलीकै नाममा रहे । जहाँ रेनुका मगर, ऋतुजिमी राई र दीपक विष्टले काँस्य पदक जितेर तेक्वान्दो नै नेपालको सबैभन्दा भरपर्दो गौरवशाली विधा हो भन्ने तथ्यलाई पुनः पुष्टि गरे । दशकौँसम्म वैज्ञानिक तालिमको अभाव र राज्यको सीमित सहयोगका बाबजुद खेलाडीहरूले केवल छातीमा टाँसिएको राष्ट्रिय झण्डाप्रतिको अगाध निष्ठा र आफ्नो रगत–पसिनाको बलमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको रातो र नीलो झण्डा फहराइरहे । संगिना वैधले सन् २००४ मा पहिलोपटक छनोट चरण पार गरेर ओलम्पिक खेल्दै इतिहास रचिन् भने सन् १९९६ को एसियन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णसमेत जितेकी थिइन् ।

दीपक विष्टले पनि छनोट भएरै सन् २००८ को बेइजिङ ओलम्पिक खेले । विष्टले दक्षिण एसियाली खेलकुद (साफ) मा लगातार चार स्वर्ण जित्नुका साथै सन् २००६ को दोहा एसियाडमा लगातार दोस्रोपटक काँस्य पदक जितेर एसियाडका दुई फरक संस्करणमा पदक जित्ने एक्लो नेपाली खेलाडीको कीर्तिमान स्थापित गरे । दोहामा मनिता शाही र आयषा शाक्यले पनि काँस्य पदक जितेका थिए । यो यात्रा केवल पदकमा मात्र सीमित रहेन । पछि गएर पलेशा गोवर्धनले पारालम्पिकमा ऐतिहासिक कांस्य पदक जित्दै नेपाली तेक्वान्दोको विरासतलाई विश्वव्यापी रूपमा थप उचाइमा पु¥याइन् ।

नेपाली तेक्वान्दोको यो गौरवशाली यात्रा केवल फाइटिङ म्याटभित्रको सफलतामा मात्र सीमित छैन । यसले प्राविधिक र निर्णायक क्षेत्रमा पनि आफ्नो प्रभावकारी उपस्थिति स्थापित गरिसकेको छ । बब्लु सिवाकोटीजस्ता अन्तर्राष्ट्रिय रेफ्रीहरूले विश्वभरका ठूला प्रतियोगिताहरूमा टेक्निकल डेलिगेट र प्रमुख निर्णायकको भूमिका निर्वाह गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख र प्राविधिक ज्ञानलाई उच्च सम्मान दिलाएका छन् । सियोलको त्यो पहिलो काँस्य पदकबाट सुरु भएको सानो पालुवा विशाल वृक्ष बनिसकेको छ । तर, इतिहासको गौरवशाली अध्याय जति सुन्दर छ, वर्तमानको यथार्थ उस्तै कठोर र पेचिलो बनिदिएको छ । एसियाली खेलकुदका पछिल्ला नतिजाहरूलाई नजिकबाट नियाल्ने हो भने, नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पहिचान दिलाउने सबैभन्दा सफल खेल तेक्वान्दोले आफ्नो पुराना स्टार खेलाडीहरूको संन्यासपछि लय गुमाउँदै गएको तीतो अनुभूति हुन्छ । सन् २००६ को दोहा एसियाडयता नेपाली तेक्वान्दोको म्याटमा पदकको सुक्खा परेको छ । लगातार चार संस्करण (२०१०, २०१४, २०१८ र २०२२) पदकविहीन बनेपछि यो १६ वर्षभन्दा लामो शून्यताले नेपाली खेलकुदप्रेमीहरूलाई गहिरो निराशामा धकेलेको छ ।

यस संकटपूर्ण घडीलाई चिर्दै हराएको साख पुनः फर्काउने कठिन तर दृढ संकल्पका साथ अहिले नयाँ पुस्ता तयारीको कठोर मैदानमा उत्रिएको छ । आगामी २०औँ एसियाली खेलकुदका लागि कडा क्वालिफाइङ र वरीयता प्रणालीका कारण टोलीको आकार खुम्चिए पनि तीन जना प्रतिभावान युवा खेलाडीहरूले नेपालको साख जोगाउने गह्रौँ जिम्मेवारी बोकेका छन् । ८० किलोमुनिको पुरुष ग्योरोगी (फाइट) तौल समूहमा एक्ला प्रतिस्पर्धी अभिषेक बराल मैदानमा उत्रिँदैछन् भने पुम्सेतर्फ पुरुषमा युवराज राना र महिलामा स्वस्तिका तामाङले आफ्नो कौशल प्रदर्शन गर्नेछन् । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको कभर्डहलमा दिनरात पसिना बगाइरहेका यी खेलाडीहरूको आँखामा कुनै डर छैन, छ त केवल गुमेको प्रतिष्ठा फर्काउने उत्साह र भोक । टोलीलाई अफगान प्रशिक्षक सायद हसन रेजयले ग्योरोगी र नेपाली प्रशिक्षक कविराज खड्गीले पुम्सेमा कडा प्राविधिक प्रशिक्षण दिइरहेका छन् । जहाँ अन्य राष्ट्रिय खेलाडीहरू स्पायरिङ पार्टनर बनेर सघाइरहेका छन् ।

सन् २०२४ को छैटौँ एसियन तेक्वान्दो ओपन च्याम्पियनसिपमा रजत जितिसकेका र विभिन्न विश्वस्तरीय च्याम्पियनसिपको अनुभव हासिल गरिसकेका रूपन्देही भैरहवाका अभिषेक बरालका लागि यो दोस्रो एसियाड हो । फाइट विधामा सिंगो देशको भार एक्लै बोकेका अभिषेक यसलाई दबाबभन्दा पनि १६ वर्षको पदक खडेरी तोड्ने एउटा ठूलो अवसर मान्छन् । त्यसै गरी, दोस्रो पटक एसियाड खेल्न लागेकी स्वस्तिका तामाङ र युवा खेलाडी युवराज राना पनि इन्डोनेसियामा प्राप्त वैदेशिक प्रशिक्षण र प्रतियोगितात्मक अनुभवका आधारमा पदकको ढोका घच्घच्याउने योजनामा छन् । युवराज रानाले पनि आफ्नो पहिलो एसियाली खेलकुदलाई अविष्मरणीय बनाउने दृढ संकल्प लिएका छन् । उनले म्याटमा आफ्नो बल र सामथ्र्यले भ्याएसम्म देशका लागि पदक जित्न लड्ने अठोट व्यक्त गरेका छन् । यद्यपि, टोलीले छनोट प्रतियोगितामा कडा प्रतिस्पर्धा झेल्दै शीर्ष वरीयता र वाइल्ड कार्डमार्फत एसियाडको टिकट पक्का गरेको हो ।

एसियाली खेलकुदको समग्र इतिहासमा नेपालले जितेका कुल २६ पदकमध्ये तेक्वान्दो एक्लैले १ रजत र १३ काँस्यसहित १४ वटा पदक देशलाई दिलाएर आफ्नो वर्चस्व कायम गरेको छ । नेपाली तेक्वान्दोका मुख्य प्रशिक्षक कविराज खड्गीका अनुसार, खेलाडीहरूले रणनीतिअनुसार प्राविधिक अनुशासन र उच्च मनोबलका साथ खेलेमा नेपाल पुनः पदकको एकदमै नजिक पुग्नेछ । वैदेशिक प्रशिक्षण, विदेशी प्रशिक्षकको आधुनिक शैली र मनोवैज्ञानिक तयारीले खेलाडीहरूको आत्मविश्वास बढाएको छ । यदि, राज्यले केवल भाषणमा मात्र सीमित नरही यी युवाहरूको पसिनालाई उचित लगानी, अन्तर्राष्ट्रिय एक्सपोजर र दीर्घकालीन संरक्षण दिने हो भने, आगामी एसियाड नेपाली तेक्वान्दोको हराएको साख फर्काउनेमात्र होइन, राष्ट्रिय स्वाभिमानलाई पुनः विश्वको सर्वोच्च शिखरमा पु¥याउने एक अभूतपूर्व पुनर्जागरणको प्रस्थानविन्दु बन्ने निश्चित छ ।

Skip This