
वि.सं. २०३० मा काठमाडौंको दहचोकमा जन्मिएका सनत गिरी गाउँले नेपाली पत्रकारिता क्षेत्रमा समेत परिचित व्यक्तित्व हुन् । लामो समयदेखि विभिन्न राष्ट्रिय दैनिक तथा रेडियोमा आबद्ध रही पत्रकारितामा क्रियाशील उनले सञ्चारकर्ममार्फत सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउँदै आएका छन् । समसामयिक राजनीतिक, सामाजिक तथा मानवीय विषयमाथि विश्लेषणात्मक र विवेचनात्मक लेखन गर्नु उनको पत्रकारितागत विशेषता हो ।
पत्रकारितासँगै साहित्य सिर्जनामा निरन्तर सक्रिय गिरीले कथा, नाटक, गीत, गजल, कविता तथा लघुकाव्यजस्ता विविध विधामा कलम चलाएका छन् । विशेषतः गीत र कविता लेखनप्रति उनको लगाव बढी देखिन्छ । सनत गिरीका हालसम्म ‘तिम्रो लागि’, ‘सुनगाभा गीत गजल सङ्ग्रह’, र ‘परदेशी’ लघु काव्य, प्रकाशित छन् । पछिल्लोपटक प्रकाशित ‘आँसु कहिल्यै रित्तिँदैन’ उनको चौथो प्रकाशित कृति हो, जसलाई देवग्रुप प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत नवीन सिलवालले प्रकाशनमा ल्याएका छन् ।
‘खासगरी साहित्यले मनमुटु छुँदो रहेछ भन्ने कुरा गाउँलेजीका गीत, गजल र यो कविता सङ्ग्रह पढेर थाहा पाएँ । कविता सङ्ग्रहमा अत्यन्त मिठासयुक्त र परिस्थितिजन्य विषयका कविता भएकाले प्रकाशित गर्न भित्री हदयदेखि मन लाग्यो’, प्रकाशकीयमार्फत नवीन सिलवालले भनेका छन् । यस कविता सङ्ग्रहमा विभिन्न भावभूमि र विषयवस्तुसहितका ५० वटा कविता सङ्ग्रहीत छन् ।
गिरीको काव्यलेखनको प्रमुख विशेषता सरलता, भावुकता र सहज सम्प्रेषणीयता हो । उनी अत्यन्त जटिल विम्ब, दुर्बोध प्रतीक र दुरुह शब्दावलीको प्रयोगभन्दा आमपाठकले सहजै बुझ्न सक्ने भाषामार्फत मनका अनुभूति व्यक्त गर्न रुचाउँछन् । उनका कवितामा प्रेम, वियोग, दुःख, संघर्ष, सामाजिक करुणा, स्मृति, आत्मविश्वास, आशा, मानवता र जीवनप्रतिको सकारात्मक दृष्टिकोण बारम्बार अभिव्यक्त भएका छन् । यस अर्थमा ‘आँसु कहिल्यै रित्तिँदैन’ मानवीय संवेदनाका अनेक तहलाई सरल शब्दमा उद्घाटित गर्ने कृति हो ।
सङ्ग्रहको शीर्षक कविता ‘आँसु कहिल्यै रित्तिँदैन’ मा कविले आँसुलाई मानवीय संवेदनाको स्वाभाविक अभिव्यक्तिका रूपमा प्रस्तुत गरेका छन् ः
‘दुःख पर्दा
आँसु नआएर के आउँछ,
चोट पर्दा आँसु नआएर के आउँछ ?
आँसु कहिल्यै रित्तिँदैन
आँसुले दुःखमा पनि सन्तुष्टि दिँदो रहेछ ।’
यहाँ आँसु केवल दुःख र पीडाको बाह्य अभिव्यक्ति होइन, मनभित्रको बोझलाई हलुका बनाउने भावनात्मक माध्यमका रूपमा आएको छ । ‘आँसुले दुःखमा पनि सन्तुष्टि दिँदो रहेछ’ भन्ने अभिव्यक्तिले रोदनलाई कमजोरीका रूपमा होइन, मनको पीडा विसर्जन गर्ने स्वाभाविक प्रक्रियाका रूपमा ग्रहण गरेको देखिन्छ । मानिसमा संवेदना रहुन्जेल आँसु पनि रहिरहन्छ भन्ने गहिरो जीवनदृष्टि शीर्षक कविताले बोकेको छ । यस्तै गरी ‘अतीत’ कवितामा कविले विगतको दुःख वा सुखमा अत्यधिक अल्झिनुभन्दा वर्तमानलाई सार्थक बनाउने विचार प्रस्तुत गरेका छन् ः
‘अतीतमा दुःख भयो भनेर रुनु किन ?
अतीतमा दुःख भए
वर्तमानमा सुख हुनसक्छ ।’
कृतिका कविताहरूमा प्रेम र वियोगसँगै देशप्रेम, ईश्वरप्रतिको आस्था, सामाजिक जिम्मेवारी, जीवन संघर्ष, मानवीय करुणा र आत्मविश्वासजस्ता विविध भाव एकसाथ उपस्थित छन् । कवि अत्यधिक वैचारिक जटिलतामा प्रवेश गर्दैनन्, उनी दैनिक जीवनका सामान्य घटना र अनुभूतिभित्रै जीवनका अर्थ खोज्छन् । आँसु, हाँसो, अतीत, कथा, चन्द्रमा, हार र जितजस्ता सामान्य प्रतीकलाई उनले जीवनबोधका माध्यम बनाएका छन् । यही सामान्यताभित्रको आत्मीयता उनका कविताको शक्ति हो ।
भाषाशैलीका दृष्टिले ‘आँसु कहिल्यै रित्तिँदैन’ सरल, सहज, भावप्रधान र संवादात्मक प्रकृतिको कविता सङ्ग्रह हो । बोलचालको भाषासँग निकट शब्दावलीले कवितालाई आमपाठकसम्म सहजै पु¥याएको छ । कतिपय कवितामा कलात्मक विम्ब, प्रतीक र भाषिक कसावटभन्दा भावनाको प्रत्यक्ष अभिव्यक्तिले बढी स्थान पाएको छ । साहित्यिक परिष्कारका दृष्टिले केही रचनालाई अझ संक्षिप्त, प्रतीकात्मक र कलात्मक बनाउन सकिने सम्भावना देखिए पनि सरल अभिव्यक्ति नै कविको आफ्नोपन बनेको छ ।
शीर्षक चयनमा पनि कविले सहज र स्पष्ट पद्धति अपनाएका छन् । ‘अतीत’, ‘अठोट’, ‘जित–हार’, ‘चिठ्ठी’, ‘हामी दुईको माया’ जस्ता शीर्षकले सम्बन्धित कविताको मूल भावलाई शुरुमै सङ्केत गर्छन् । निश्चित कथात्मक पात्रभन्दा कवि स्वयं, प्रिय पात्र, साथी, गरिब–दुःखी मानिस तथा सामान्य मानवजीवनका प्रतिनिधि पात्रहरू कृतिमा बढी देखिन्छन् । यसको परिवेश पनि कुनै एउटै भूगोलमा सीमित नभई व्यक्तिगत अनुभूति, पारिवारिक–सामाजिक जीवन, प्रेमसम्बन्ध, विगतको स्मृति तथा संघर्षपूर्ण मानवजीवनसँग जोडिएको छ ।
समग्रमा, ‘आँसु कहिल्यै रित्तिँदैन’ केवल पीडा र आँसुको अभिलेख होइन, यो संघर्ष, प्रेम, वियोग, स्मृति, सामाजिक करुणा, आत्मविश्वास र आशाको काव्यिक अभिव्यक्ति हो । यसमा जीवनका चोटहरू छन्, तर ती चोटले कविलाई निराशाको अँध्यारोमा पु¥याउँदैनन् । उनी हारबाट जिततर्फ, आँसुबाट हाँसोतर्फ, अतीतबाट वर्तमानतर्फ र निराशाबाट अठोटतर्फ पाठकलाई डो¥याउँछन् । मानिस संवेदनशील रहुन्जेल ‘आँसु कहिल्यै रित्तिँदैन’ तर जीवनको सार आँसु नझार्नुमा होइन, झरेका आँसुलाई अनुभव, शक्ति र जीवनबोधमा रूपान्तरण गर्न सक्नुमा छ । यही सकारात्मक तथा मानवतावादी दृष्टिकोण ‘आँसु कहिल्यै रित्तिँदैन’ कविता सङ्ग्रहको सबैभन्दा उल्लेखनीय उपलब्धि र प्रमुख सन्देश बनेको छ ।











प्रतिक्रिया