एसियाडमा नेपाली टेबलटेनिसको यथार्थ र सम्भावना

0
Shares

टेबलटेनिसको नीलो वा हरियो बोर्डमा द्रुत गतिमा ठोक्किने एउटा सानो, हलुका प्लास्टिकको बल केवल खेलकुदको साधारण सामग्रीमात्र होइन, करोडौँ खेलप्रेमीको ढुकढुकी, आत्मसम्मान र अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम उचो राख्ने अटल संकल्पको जीवन्त प्रतीक पनि हो । सन् १९५८ को टोकियो एसियाडबाट आधिकारिक यात्रा सुरु गरेको टेबलटेनिसको एसियाली खेलकुदको इतिहासमा नेपालले सन् १९६६ को बैंकक एसियाडदेखि मात्र आफ्नो उपस्थिति जनाउन थालेको हो । करिब छ दशकभन्दा लामो यो गौरवशाली तर चुनौतीपूर्ण यात्रामा नेपाली टोलीले प्रदर्शनको स्तरलाई निरन्तर उकास्दै लगेको छ । तर, विडम्बना, एसियाडमा टेबल टेनिसमार्फत नेपालले अहिलेसम्म एउटा पनि पदक जित्न सकेको छैन । पछिल्लोपटक १९औँ एसियाली खेलकुदमा भारत, जापान र उत्तर कोरियाजस्ता विश्व खेलकुदका सर्वशक्तिमान् पावरहाउसहरूसँग पराजित भई समूह चरणबाटै बाहिरिनु पर्दाको क्षण केवल अंक गणितको हारमात्र थिएन । सिक्का सुवाल, नबिता श्रेष्ठ, इभाना थापा मगर, संयोग कपाली, रुबिन महर्जन र बिलोश श्रेष्ठजस्ता खेलाडीहरूका लागि त्यो क्षण आधुनिक विश्व खेलकुदको विशाल प्राविधिक अन्तरलाई आफ्नै आँखाले देख्दाको मर्मस्पर्शी अनुभूति र भविष्यका लागि आत्ममन्थनको एउटा कठोर पाठशाला पनि थियो ।

तर, पराजयका ती बाक्ला हुस्सुभित्रै सधैँ आशाको एउटा यस्तो प्रदीप्त किरण चम्किरह्यो, जसले नेपाली टेबलटेनिसलाई कहिल्यै अँध्यारो हुन दिएन । नेपालका विभागीय टोलीहरूले देशमा खेलकुदको आधारस्तम्भलाई निरन्तर सिञ्चित नगरेका भए सायद यो खेल धेरैअघि नै ओझेलमा परिसक्ने थियो । यही विभागीय जग र खेलाडीहरूको अथक त्यागकै कारण एसियाली खेलकुदको मञ्चमा अहिलेसम्म पदकको ढोका खुल्न नसके पनि, यही संघर्षको जगमाथि उभिएर नेपाली टेबलटेनिसले पेरिस ओलम्पिकको ऐतिहासिक र रोमाञ्चक यात्रा तय ग¥यो । जब स्यान्टु श्रेष्ठले कठिन छनोट चरण पार गर्दै योग्यताका आधारमा ओलम्पिकमा आफ्नो स्थान पक्का गरे, तब उनले केवल आफ्नो लागिमात्र होइन, सिंगो नेपालको खेलकुद इतिहासमा एउटा स्वर्णिम र अभूतपूर्व अध्याय थपिदिए ।

अहिले नेपाली टेबलटेनिस टोली जापानको आईची नागोयामा आयोजना हुने २०औं एसियाली खेलकुदको संघारमा उभिएको छ । चार दशकभन्दा बढी समयको निरन्तर सहभागितापछि पनि पदकको पहुँचभन्दा टाढा रहेको नेपाली टोली यसपटक केवल सहभागिताको संख्या बढाउनमात्र होइन, आफ्नै वरीयता सुधार्न र महादेशका महारथीहरूलाई कडा चुनौती दिन पूर्ण रूपमा तयार भइरहेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको साँघुरो हलमा पसिना बगाइरहेका ६ जना खेलाडीहरूको आँखामा कुनै हावादारी आशा छैन । उनीहरूभित्र उत्कृष्ट प्रतिभालाई विश्वसामु प्रमाणित गर्ने अदम्य भोक र जोस स्पष्ट देखिन्छ । यसपटक टोलीमा अनुभवी र नवप्रतिभाको सुन्दर सन्तुलन छ । पुरुषतर्फ संयोग कपाली, रुबिन महर्जन र गणञ्जय दाहाल छन् भने महिलातर्फ नबिता श्रेष्ठ, इभाना थापा र योङ्गी पौडेलले देशको जिम्मेवारी बोकेका छन् । नवप्रवेशी गणञ्जय र योङ्गीबाहेक अन्य खेलाडीहरू एसियाली खेलकुदका अनुभवी हुन् ।

मुख्य प्रशिक्षक मनोहर दास बासुकलाको विश्लेषण यथार्थपरक छ । विश्व टेबलटेनिसका सर्वशक्तिमान् पावरहाउसहरू चीन, जापान, दक्षिण कोरिया, हङकङ र मलेसिया सबै एसियामै रहेकाले पदकको अपेक्षा गर्नु प्राविधिक रूपमा अत्यन्तै चुनौतीपूर्ण छ । तर, यसको अर्थ नेपाल मैदान छिर्नुअघि नै हच्किसकेको भन्ने होइन । सन् २०१९ देखि राष्ट्रिय टोलीको कमान सम्हाल्दै आएका बासुकलाको नेतृत्वमा टोलीले दक्षिण एसियाली खेलकुददेखि जुनियर एसियन च्याम्पियनसिपसम्म ऐतिहासिक सफलता हासिल गरिसकेको छ । इतिहासमा कहिल्यै टिम इभेन्टमा रजत पदक जित्न नसकेको नेपाललाई उनकै प्रशिक्षणमा त्यो सफलता मिल्यो भने जुनियर टोलीले दुईपटक दक्षिण एसियाली च्याम्पियन बन्ने गौरव प्राप्त ग¥यो । झन्डै ३ दशकअघि देखि नै ग्रासरुट तहबाट शिवसुन्दर गोथे र मुना बासुकलादेखि सिक्का सुवालसम्मका चर्चित खेलाडीहरू उत्पादन गरेका प्रशिक्षक बासुकला निर्धक्क भन्छन्,“हाम्रा खेलाडीहरूमा प्रतिभा वा हिम्मतको कमी छैन, उनीहरू साँच्चिकै गोर्खाली जोसका साथ कोर्टमा उत्रिन्छन् । हाम्रो प्राथमिक लक्ष्य विश्वका शीर्ष खेलाडीहरूसामु उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको वरीयता सुधार्नु हो ।”

आफ्नो अन्तिम तयारीलाई अझ मजबुत बनाउन नेपाली टोली बैंकक, थाइल्यान्ड प्रस्थान गर्दैछ । जहाँ १५ दिने प्रशिक्षणले खेलाडीहरूको मनोबल र प्राविधिक क्षमतालाई थप तिखार्नेछ । टोली बैंककबाटै सोझै जापानको नागोयामा अवतरण हुनेछ । छोटो समयको तयारी र ढिलो गरीमात्र ‘क्लोज क्याम्प’ मा बस्नुपरेको बाध्यता भए पनि खेलाडीहरूको उत्साहमा कुनै कमी आएको छैन । पाँचौँपटक एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्न लागेकी ९ पटककी नेपाल नम्बर वन खेलाडी नबिता श्रेष्ठका लागि यो मञ्च दबाबभन्दा पनि आफूलाई नयाँ उचाइमा पु¥याउने स्वर्णिम अवसर हो । सन् २०१० देखि लगातार एसियाड खेलिरहेकी नबिता भन्छिन्,“एसियाली खेलकुदमा विश्वका सर्वोत्कृष्ट खेलाडीहरूसँग मैदान साझा गर्न पाइन्छ, जसले हामीलाई स्वतन्त्र भएर आफ्नो क्षमता देखाउने अद्भुत मौका दिन्छ ।” दैनिक सीमित प्रशिक्षणका बाबजुद पनि आफूहरूले उत्कृष्ट सन्तुलन कायम राख्दै वरीयता सुधार्ने लक्ष्य राखेको उनी बताउँछिन् ।

त्यसै गरी, ओलम्पिक छात्रवृत्ति प्राप्त नेपाली महिला टेबलटेनिसकी अर्की उदीयमान तारा इभाना थापा पनि आफ्नो लक्ष्यमा उत्तिकै प्रस्ट छिन् । उनी भन्छिन्,“तयारी राम्रो भइरहेको छ । एसिया टेबलटेनिसको महाशक्ति केन्द्र भएकाले प्रतिस्पर्धा अत्यन्तै प्रतिस्पर्धात्मक हुन्छ, तर म महिला सिंगल्समा बलियो चुनौती पेस गर्दै आफ्नो वरीयता सुधार्न पूर्ण रूपमा तयार छु ।” हालै दक्षिण कोरियामा २० दिने कडा प्रशिक्षण पूरा गरी फर्किएका खेलाडीद्वय संयोग कपाली र योङ्गी पौडेलको आत्मविश्वासले पनि एउटा नयाँ आशा जगाएको छ । कोरियाको शीर्ष टोली र उत्कृष्ट जुनियर खेलाडीहरूसँग प्राविधिक कौशलता साट्दै फर्किएका उनीहरूको आँखामा वैदेशिक प्रशिक्षणले थपिदिएको दृढता प्रस्ट देखिन्छ । अघिल्लो संस्करणमा केही प्राविधिक चुकसँगै सोचेजस्तो नतिजा नआए पनि यसपटक विगतका कमजोरीहरू सुधार्दै पोडियमसम्म पुग्ने र देशको झण्डा फहराउने अठोट उनीहरूमा छ ।

तर, यो उत्साहभित्र एउटा गहिरो यथार्थ र कटु सत्य पनि लुकेको छ । त्यो हो अन्तर्राष्ट्रिय एक्सपोजर, पूर्वाधार र नियमित प्रतियोगिताको अभाव । घरेलु भूमिमा उपलब्ध सीमित स्रोत–साधनका बीच गुरुहरूको निरन्तर मार्गदर्शनमा खेलाडीहरूले आफ्नो शतप्रतिशत दिइरहेका छन् । तर, केवल स्वदेशी वातावरणमा बन्द प्रशिक्षण गरेर एसियाली स्तरका शक्तिशाली प्रतिस्पर्धीहरूलाई हराउने अपेक्षा गर्नु व्यावहारिक हुँदैन । सरकारीस्तरबाट बन्द प्रशिक्षणको समय निकै छोटो हुनु, छनोट प्रक्रिया हतारमा सकिनु व्यवस्थापकीय सास्ती झेल्नुपर्ने बाध्यता नेपाली खेलकुदको विडम्बनापूर्ण यथार्थ हो । अन्तर्राष्ट्रिय स्तरका अन्य खेलाडीहरू वर्षभरि नै विभिन्न प्रतियोगितामा व्यस्त रहँदा नेपाली खेलाडीहरू भने एउटा प्रतियोगिता खेलेपछि अर्कोका लागि महिनौँ पर्खिन बाध्य हुन्छन् । अभ्यास र अनुभवको यही खाडलले गर्दा कतिपय जितेका खेलहरू पनि अन्तिम क्षणमा हातबाट फुत्किने गरेका छन् ।

यद्यपि, यी कुनै पनि अभावले हाम्रा खेलाडीहरूको उच्च मनोबल र जित्ने अठोटलाई डगमगाउन दिएको छैन । “सरकारको सहयोगको कमी भन्दैमा हाम्रो राष्ट्रिय कर्तव्य र प्रदर्शन रोकिने होइन,” भन्ने खेलाडीहरूको भावनाले देशभक्ति र अनुशासनको उच्च नमुना प्रस्तुत गर्छ । विगतमा चीनजस्तो पावरहाउस टोलीविरुद्ध मिक्स्ड डबल्समा गेम जित्दै कडा टक्कर दिएको इतिहास साक्षी छ कि नेपाली खेलाडीहरूले मैदानमा सजिलै आत्मसमर्पण गर्दैनन् भनेर । यदि राज्य र सम्बद्ध निकायले यो सम्भावनालाई सही समयमा चिन्न सके र थप अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्न सके भने नेपाली टेबलटेनिसले एसियाली मञ्चमा मात्र होइन, विश्वस्तरमै ठूलो चमत्कार गर्न सक्छ । नागोया एसियाड नेपाली टेबलटेनिसका लागि पदकको दौडमात्र होइन, राष्ट्रिय स्वाभिमानको पुनर्पुष्टि, ओलम्पिक सपनाको नयाँ आधार र भावी पुस्ताका लागि स्वर्णिम इतिहास लेख्ने एउटा महान् वैचारिक र भावनात्मक प्रस्थानविन्दु पनि हो ।