काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगर र नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधिसभा बैठकमा प्रयोग गरेका सात वटा अमर्यादित तथा अनावश्यक शब्द संसदको अभिलेखबाट हटाइएको छ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राना मगरले प्रयोग गरेका तीन तथा नेता थापाले प्रयोग गरेका चार शब्द अभिलेखबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार ती शब्द रेकर्डबाट हटाइएको हो।
सभामुख अर्यालका अनुसार भदौ १ गतेको बैठकमा सांसद राना मगरले प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ शब्द अमर्यादित तथा अनावश्यक रहेको भन्दै हटाउन निर्देशन दिइएको हो।
त्यसैगरी, भदौ ३ गतेको बैठकमा एमाले संसदीय दलका नेता थापाले प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्द पनि अभिलेखबाट हटाइएको छ।
सभामुख अर्यालले छिमेकी मित्रराष्ट्रका शासकीय अभ्यासलाई गलत अर्थ लाग्ने गरी नेपालको शासकीय अभ्याससँग जोडेर उल्लेख नगर्न पनि सांसदहरूको ध्यानाकर्षण गराएका छन्।
सभामुखले संसदमा हुने छलफलका क्रममा मर्यादित तथा सान्दर्भिक शब्द प्रयोग गर्न सांसदहरूलाई आग्रहसमेत गरेका छन्।











प्रतिक्रिया