उर्लिंदो सेतो पानीको प्रखर वेग, चट्टानसँग ठोकिएर उत्पन्न हुने उग्र छालहरू र छाँगा–छहराको विकराल गर्जनभित्र केवल पर्यटकीय मनोरञ्जनको थलो वा प्रकृतिको भयानक रूपमात्र लुकेको छैन, त्यहाँ देशको नाम विश्वमा चम्काउन सक्ने एउटा भीमकाय र जीवित प्राकृतिक रङ्गशाला पनि मुस्कुराइरहेको छ । पहाडका खोँचहरूबाट सुसाउँदै बग्ने नेपालका त्रिशूली, तमोर, भोटेकोसी र गण्डकीजस्ता नदीका उत्ताल तरङ्गहरूसँग पौँठेजोरी खेल्दै हुर्किएका नेपाली युवाहरूका लागि यी नदीहरू केवल पानीका बहावमात्र होइनन्, उनीहरूको जिउने आधार, साहसको पाठशाला र अन्तर्राष्ट्रिय मञ्चमा देशको राष्ट्रिय ध्वजा फरफराउने अदम्य सपनाका जननी हुन् । यही नदीको प्रखर बहाव र छाँगाहरूसँग जुध्दै आकार लिएको नेपाल राफ्टिङ एन्ड क्यानोइङ संघ (एनआरसीए) को इतिहास आफैँमा एउटा महाकाव्यजस्तै छ । जहाँ अभावका पहाडहरू र साधन–स्रोतको घोर मरुभूमि भए पनि त्यो मरुभूमिलाई पनि आफ्नो पसिना र आँसुले सिँचेर हराभरा बनाउने अद्भूत इच्छाशक्ति भएका नदीका नायकहरूको कमी छैन । सन् १९९८ मा फ्रान्समा आयोजित विश्व च्याम्पियनसिपको महाकुम्भमा पहिलोपटक रातो र नीलो किनारामा सूर्य–चन्द्र अंकित राष्ट्रिय झण्डा बोकेर ओर्लिंदा निमबहादुर मगरले एसियामै तेस्रो र विश्वभरमा ३३औँ स्थान हासिल गर्दै नेपाली साहसिक जलखेलकुदको स्वर्णमयी इतिहास कोरेका थिए । त्यसपछि सन् २०१४ को इन्चोन एसियाली खेलकुदमा तिनै निमले प्राकृतिक नदीका स्वच्छ र विकराल वेगलाई छाडेर दक्षिण कोरियाको कृत्रिम क्यानोइङ स्लालोम ट्रयाकमा बिनाकुनै व्यावसायिक प्रशिक्षक, केवल युट्युबका भिडियोहरू हेरेर र आफ्नै प्राविधिक अध्ययनका भरमा प्रतिस्पर्धा गर्दा नेपाली जलखेलकुदको इतिहासमा एउटा अभूतपूर्व अध्याय रेखांकित भएको थियो ।
समयको चक्रसँगै नेपाली प्याडलरहरूको पाइला अन्तर्राष्ट्रिय खेलकुदको महामञ्चमा अझ परिमार्जित, बलियो र परिपक्व बन्दै गयो । अभावले टोकेका खुट्टा र उपेक्षाले दुखेका मनहरू बोकेरै भए पनि उनीहरूले कहिल्यै नदीको वेगअगाडि घुँडा टेकेनन् । सन् २०२३ मा चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुदमा गणेश गुरुङले पुरुष कायक स्लालोमको कठिन सेमिफाइनल पार गर्दै शीर्ष दशभित्र अटाएर फाइनल चरणको ऐतिहासिक यात्रा तय गर्दा पूरै महादेश नेपाली साहसिक खेलकुदको क्षमतासँग परिचित भएको थियो । यो केवल एउटा खेलको नतिजामात्र थिएन, नेपाली युवाहरूको नसा–नसामा बग्ने साहस र नदीप्रतिको अगाध समर्पणको अकाट्य प्रमाण थियो । त्यसैको निरन्तरतास्वरूप सन् २०२४ मा भारतको सिमलामा सम्पन्न डब्लूआरएफ एसियाली राफ्टिङ च्याम्पियनसिपमा नेपालले आरएक्स (हेड–टु–हेड) स्पर्धामा ऐतिहासिक स्वर्ण र स्लालोममा रजत पदक जित्दै टोलीगत रूपमा दोस्रो स्थान हासिल ग¥यो । जब छिमेकी र अन्तर्राष्ट्रिय टोलीहरू अत्याधुनिक प्रविधि, करोडौँको पूर्वाधार र विश्वस्तरीय प्रशिक्षकहरूको फौज लिएर मैदानमा उत्रिएका थिए, तब नेपाली खेलाडीहरू भने केवल आफ्नो अदम्य साहस, प्राकृतिक नदीहरूमा बगाएको पसिना र जित्ने तीव्र भोककै भरमा पोडियमको सर्वोच्च स्थानमा उभिएका थिए । यो जितले यदि नेपाली युवाहरूलाई न्यूनतम अवसर र साधन उपलब्ध गराउने हो भने हिमाली देशका यी योद्धाहरू विश्वकै जुनसुकै कुनामा पनि स्वर्णको इतिहास दोहो¥याउन पूर्ण रूपमा सक्षम छन् भनेर स्पष्ट सन्देश दिएको थियो ।
यही निरन्तरता, क्षमता र सपनाको अर्को अग्निपरीक्षाका रूपमा जापानको आइची–नागोया हुने २०औँ एसियाली खेलकुद नेपाली प्याडलरहरूको ढोकामा आइपुगेको छ । आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको प्राविधिक ट्रयाकमा आयोजना हुने यस महादेशीय खेलकुद महाकुम्भका लागि नेपालका दुई होनहार, साहसिक र समर्पित युवाहरू धनकुटाका २५ वर्षीय विजय माझी र सिन्धुपाल्चोकका आशिष रानामगर तयार भइरहेका छन् । गत फेब्रुअरीमा त्रिशूली नदीको गर्जनभित्र आयोजित अत्यन्त कडा र प्राविधिक राष्ट्रिय छनोट प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्दै कायक स्लालोम र कायक क्रस दुवै कठिन विधाका लागि नेपालको प्रतिनिधित्व गर्न छनोट भएका यी दुवै खेलाडीको कथा आफैँमा आँसु, पसिना र आशाले बुनिएको एउटा जीवन्त गाथा हो । विगत साढे चार वर्षदेखि तमोर र त्रिशूलीका डरलाग्दा घुम्तीहरूमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सकुशल उर्लँदो नदी पार गराउने व्यावसायिक राफ्टिङ गाइड विजय माझी आज देशको राष्ट्रिय पोसाक छातीमा सजाएर एसियाकै ठुलो खेलकुद मञ्चमा प्रतिस्पर्धा गर्ने अन्तिम तयारीमा छन् । पर्यटकीय गाइडका रूपमा नदीका जटिल चक्रव्यूह, छालका चाप र उत्ताल वेगहरूसँग दैनिक साक्षात्कार गर्दा आर्जन गरेको प्रत्यक्ष अनुभव नै आज विजयको सबैभन्दा ठूलो प्राविधिक शक्ति बनेको छ । दुई वर्षअघि नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) द्वारा आयोजित प्रतियोगिताहरूमा कायाकमा तेस्रो र डाउन रिभर रेसमा दोस्रो स्थान हासिल गरेर आफ्नो क्षमताको झझल्को दिइसकेका विजयका लागि अहिलेको यो यात्रा केवल खेलकुदमात्र होइन, आफ्नो पहिचान र देशको प्रतिष्ठाको महाअभियान बनेको छ ।
उता, टोलीका अर्का प्रतिभावान खेलाडी आशिष रानामगर हाल वैदेशिक प्रशिक्षणका क्रममा जापानकै नदी र ट्रयाकमा रहेर निरन्तर अभ्यास गरिरहेका छन् भने यता विजय पोखराको फेवा तालको शान्त पानीमा मुख्य प्रशिक्षक निमबहादुर मगरको प्रत्यक्ष निगरानीमा दैनिक बिहान–बेलुका घण्टौँ कडा शारीरिक र प्राविधिक अभ्यासमा जुटिरहेका छन् । फेवा तालको हरियो र शान्त जलभित्र गाडिएका कायक स्लालोमका हरिया र राता गेटहरू पार गर्दै अपस्ट्रिम (बहावविरुद्ध) र डाउनस्ट्रिम (बहावसँगै) डुंगा मोड्ने सूक्ष्म कला निखार्नुका साथै कायक क्रसमा एकैपटक उँचो ¥याम्पबाट पानीमा खसेर गरिने घमासान प्रतिस्पर्धाको रणनीति बुन्दै उनीहरू अगाडि बढिरहेका छन् । लेकसाइड पोखराको फेवातालमा जब बिहानीको पहिलो किरण पर्छ, तब विजयको प्याडलले पानी काट्दा निस्किने ध्वनिभित्र एउटा देशको भविष्य र सपना तरंगित भइरहेको हुन्छ । आगामी सेप्टेम्बरमा थाइल्यान्डमा हुने एसियाली राष्ट्रहरूको १५ दिने संयुक्त बन्द प्रशिक्षण (क्लोज क्याम्प) मा सहभागी भएर भारत, मंगोलिया र थाइल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीहरूसँग प्रतिस्पर्धात्मक अभ्यास गर्दै जापान उड्ने योजना उनीहरूको छ । तर, यो कडा मिहिनेत, उच्च आत्मविश्वास र छातीभरि बोकिएको राष्ट्रिय गौरवको पछाडि नेपाली खेलकुद प्रशासनको लाजमर्दो, दर्दनाक र अमानवीय चित्र भने उत्तिकै रूपमा नांगो भएर उभिएको छ ।
जुन देश अपार जलस्रोतको धनी छ, जहाँका नदीहरूलाई विश्वकै उत्कृष्ट ‘ह्वाइट वाटर’ साहसिक पर्यटनको गन्तव्य मानिन्छ । तिनै नदीमा देशको झण्डा बोक्ने खेलाडीहरूका लागि भने न त पर्याप्त आफ्नै अन्तर्राष्ट्रिय स्तरका डुंगा (कायक) छन्, न त सामान्य खेल सामग्री नै । सन् १९९८ मा खेलाडीका रूपमा इतिहास रचेका र अहिले अढाई दशकपछि पनि गुरुका रूपमा आफ्ना चेलाहरूलाई अन्तर्राष्ट्रिय पदक दिलाउन अहोरात्र खटिएका प्रशिक्षक निमबहादुर मगरको मन आज पनि मार्मिक गुनासो र गहिरो पीडाले भरिएको छ । सन् १९९८ मा जुन देशहरू, जस्तै थाइल्यान्ड, भियतनाम, क्याम्बोडिया, भारत, यो खेलमा नेपालभन्दा खेलकुदको प्राविधिक ज्ञान र क्षमतामा धेरै पछाडि थिए, आज ती देशहरूले खेलकुदमा अर्बौँको बजेट लगानी गरेर आधुनिक भौतिक पूर्वाधार, कृत्रिम स्लालोम ट्रयाक र अन्तर्राष्ट्रिय स्तरका खेल सामग्री खरिद गरिसकेका छन् । तर, नेपाल भने यो खेलका लागि प्राकृतिक रूपमा निर्मित विश्वकै उत्कृष्ट खेलस्थल भएर पनि आफ्ना राष्ट्रिय खेलाडीका लागि एउटा गुणस्तरीय अन्तर्राष्ट्रिय डुंगासम्म खरिद गर्न नसक्ने राज्यको लाचारी र निरीहताको सिकार बनेको छ । नेपाली खेलाडीहरू जब एसियाली खेलकुद वा विश्व च्याम्पियनसिपजस्ता महाकुम्भमा भाग लिन विदेश पुग्छन्, तब उनीहरूले आफ्ना विदेशी मित्रहरू, प्रतिद्वन्द्वीहरू वा आयोजक देशका प्रशिक्षकहरूसँग व्यक्तिगत सम्बन्धका आधारमा डुंगा र प्याडल मागेर वा भाडामा लिएर प्रतिस्पर्धा गर्नुपर्ने हृदयविदारक बाध्यता कायम छ । अरूले प्रयोग गरेर छाडेका वा मागेका उपकरणका भरमा एसियाका महारथीहरूसँग भिडेर पनि शीर्ष १० भित्र पर्नु नेपाली खेलाडीहरूको गरेको ठूलो चमत्कार नै हो । तर, यो कुरा राज्य सञ्चालकहरूले कहिल्यै बुझ्न सकेनन् ।
अझ विडम्बनाको पराकाष्ठा त के छ भने, एसियाली खेलकुदजस्तो महादेशकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको मिति नजिकिसक्दा पनि अहिलेसम्म टोलीको हवाई टिकटसम्म निश्चित हुन सकेको छैन । थाइल्यान्डमा हुने १५ दिने संयुक्त बन्द प्रशिक्षणमा भाग लिन जाने र त्यतैबाट जापान उड्ने अन्तिम तालिका निश्चित भइसक्दा पनि टिकटको अनिश्चितता, सामग्रीको अभाव र अन्तिम समयमा मात्र बजेट निकास हुने नेपाली प्रशासनिक बेथितिले खेलाडी र प्रशिक्षकको मानसिक तयारीमा गम्भीर आघात पु¥याइरहेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्ना देशका खेलाडी र उनीहरूका ठूला खेल सामग्रीलाई सहज रूपमा बोक्ने वातावरण मिलाउनुको सट्टा वैदेशिक एयरलाइन्सहरूसँग हारगुहार गर्नुपर्ने स्थिति आफैँमा एउटा ठूलो प्रशासनिक व्यंग्य हो । राज्यका उच्च निकायहरू असार मसान्तमा बजेट सिध्याउने कागजी प्रक्रिया, प्रतिवेदन र असारे विकासको नाटकमा मस्त हुन्छन्, तर स्थानीय तह अर्थात् गाउँपालिका, नगरपालिका र प्रदेशदेखि ग्रासरूटका प्रतिभावान युवाहरूलाई पहिचान गरी उनीहरूलाई वर्षौँसम्म बन्द सत्रमा राखेर नियमित प्रशिक्षण, पोषण र आधुनिक सामग्री दिने दीर्घकालीन खेल नीतिको सर्वथा अभाव छ । बजेटका ठूला–ठूला भाषणहरू केवल सिंहदरबारका भित्ताहरूमा सीमित हुन्छन्, भने मैदानमा पसिना बगाउने खेलाडीहरू भने उडान टिकटको अनिश्चितता र सामग्रीको याचनामा आफ्नो अमूल्य खेल जीवन बिताउन बाध्य छन् ।
यद्यपि, यति धेरै अभाव, सरकारी बेवास्ता, प्रशासनिक अस्तव्यस्तता र निराशाको बाक्लो हुस्सुका बाबजुद पनि यी नदीका नायकहरूको हौसला, आँट र देशभक्ति भने अलिकति पनि डगमगाएको छैन । आफ्नै पुरानो अनुभव, त्याग र व्यक्तिगत सम्बन्धकै आधारमा थाइल्यान्ड र जापानका विदेशी प्रशिक्षकहरूसँग समन्वय गरी डुंगा र अभ्यास सामग्रीको व्यवस्था मिलाएर भए पनि खेलाडीद्वय विजय माझी, आशिष रानामगर, प्रशिक्षक निमबहादुर मगर र टिम म्यानेजर सुदीप राज गौतम देशका लागि मेडल जितेर फर्कने अदम्य साहसका साथ अगाडि बढिरहेका छन् । राफ्टिङ र कायाकिङमा विश्वकै उत्कृष्ट मानिने नेपाली गाइडहरूको साहसिक क्षमता र कडा मिहिनेतलाई यदि राज्यले केवल ६ देखि ८ महिनाको व्यवस्थित क्लोज क्याम्प, आधुनिक खेल सामग्री र मानसिक प्रोत्साहन उपलब्ध गराउने हो भने नेपालले एसियाली खेलकुदमा मात्र होइन, ओलम्पिककै मञ्चमा स्वर्ण पदक जितेर इतिहास रच्ने पूर्ण क्षमता राख्छ । आज पोखराको फेवातालको नीलो पानीमा पसिना बगाउँदै गरेका विजय र जापानको ट्रयाकमा अभ्यास गरिरहेका आशिषको यो यात्रा केवल एउटा प्रतियोगिताको तयारीमात्र होइन, राज्यको चरम उपेक्षाका बीच पनि आफ्नै पसिना र स्वाभिमानका बलबुतामा देशको नाम अन्तर्राष्ट्रिय जगतमा चम्काउन सकिन्छ भन्ने अदम्य नेपाली भावनाको जीवन्त प्रतीक हो । जब यी युवा जल–योद्धाहरू छातीमा नेपालको झण्डा, आँखामा जितको अदम्य सपना र हातमा प्याडल लिएर विदेशी छालहरूमा उत्रिनेछन्, तब उनीहरूसँगै ३ करोड नेपालीको आशा, प्रार्थना, गौरव र मातृभूमिको स्वाभिमान पनि ती छालहरूमा उत्तिकै शानका साथ तैरिरहेको हुनेछ ।











प्रतिक्रिया