उखुबारीमा शिक्षिकाको शव फेला, माइती पक्षद्वारा हत्या भएको दाबी


कञ्चनपुर ।

कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा घाँस काट्न घरबाट निस्किएकी ३५ वर्षीया शिक्षिका पशुपती बम जोशीको शव उखुबारीमा फेला परेको छ। घटनालाई लिएर माइती पक्षले भने उनको हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेको छ।

डोटीको एक विद्यालयमा कार्यरत जोशी साउन २७ गते माइतीघर धनगढीबाट बेलौरीस्थित घर पुगेकी थिइन्। त्यसको भोलिपल्ट उनी घरबाट करिब तीन किलोमिटर टाढा रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी हुन्।

माइती पक्षले घटनाको प्रकृति शंकास्पद रहेको दाबी गर्दै आत्महत्या नभई योजनाबद्ध हत्या भएको आरोप लगाएको छ। उनीहरूले लामो समयदेखि श्रीमान् हेमराज जोशीले ‘जात नमिल्ने’ भन्दै अर्को विवाह गर्ने धम्की दिँदै मानसिक तथा शारीरिक यातना दिने गरेको आरोपसमेत लगाएका छन्।

घटनाबारे निष्पक्ष अनुसन्धानको माग गर्दै माइती पक्षले श्रीमान् हेमराजसहित सासू र ससुराविरुद्ध प्रहरीमा निवेदन दिएको जनाएको छ।

यता, मृतकका ससुरा माहारुद्र जैशीले भने परिवारमा कुनै विवाद नरहेको दाबी गरेका छन्। उनका अनुसार पशुपती सामान्य रूपमा नै घाँस काट्न घरबाट निस्किएकी थिइन्।

प्रहरीले शवको पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइसकेको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।

मृत्यु आत्महत्या हो वा हत्या भन्ने विषय पोस्टमार्टम रिपोर्ट, घटनास्थलको अवस्था, प्राप्त प्रमाण तथा अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ। माइती पक्षको आरोप र परिवारको भनाइबीच विरोधाभास देखिएपछि प्रहरीले घटनालाई थप गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ।