देउवाले १५ औँ महाधिवेशन रोक्न पेश गरेको रिट फिर्ता


काठमाडौँ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेश गरेको रिट फिर्ता लगिएको छ।

शुक्रबार दिउँसो देउवाका वारेसमार्फत सर्वोच्च अदालतमा रिट पेश गरिएको थियो। सर्वोच्च प्रशासनले उक्त रिट अध्ययनकै क्रममा राखेको थियो। तर, कार्यालय समय सकिन लाग्दा देउवाका वारेसले रिट फिर्ता लगेका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार रिट ‘करेक्सन’ गर्नुपर्ने भन्दै देउवाका वारेस आएर फिर्ता लगेका थिए।

नेपाली कांग्रेसको केन्द्रीय समितिले आगामी असोजमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। सोही महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति देउवाले सर्वोच्च प्रशासनमा रिट पेश गरेका थिए।

रिट फिर्ता लगिएसँगै अब त्यसलाई सच्याएर पुनः पेश गरिने सम्भावना रहेको छ।