वीरगन्ज।
नेपाल प्रहरी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आधिकारिक तथ्याङ्कले मधेश प्रदेशमा बालिका तथा महिलामाथि हुने जघन्य अपराधको भयावह रूप उजागर गरेको छ। तथ्याङ्क अनुसार सन् २०२५ मा यस प्रदेशमा कुल २२४ वटा बलात्कारका घटना दर्ता भएकामा झण्डै आधा अर्थात् १०१ जना अबोध बालिकाहरू मात्रै पीडित भएका थिए। यसैगरी सोही वर्ष १७ वटा सामूहिक बलात्कार र ७३ वटा यौनजन्य हिंसाका घटना दर्ता हुँदा ५९ जना बालबालिका यसको क्रुर सिकार बनेका थिए।
जिल्लागत रूपमा हेर्दा धनुषामा सबैभन्दा बढी ७० वटा बलात्कारका मुद्दा दर्ता भएका थिए भने सप्तरीमा दर्ता भएका सबै ८ वटै र सर्लाहीमा दर्ता भएका ३१ मध्ये २४ वटा घटनामा बालिकाहरू नै पीडित बनेको देखिन्छ।मधेशको यही भयावह तथ्याङ्क र असुरक्षाको पछिल्लो क्रुर कडी बन्न पुग्नुभयो— बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया अबोध बालिका गरिमा चौधरी। समग्र प्रदेशमा बालिकामाथि भइरहेका जघन्य हिंसाको चरमोत्कर्ष सिमराको यो घटनामा देखिन्छ, जहाँ खेल्दाखेल्दै बेपत्ता भएकी ३ वर्षीया अबोध गरिमालाई चकलेटको प्रलोभन देखाएर बलात्कार मात्र गरिएन, पहिचान खुल्ने डरले डोरीले घाँटी थिचेर क्रुरतापूर्वक हत्या गरिएको रिपोर्ट बारा प्रहरीले सार्वजनिक गरेको छ ।
इन्सेकको तथ्याङ्क जस्तै गरिमाको घटनामा पनि अपराधमा संलग्न व्यक्ति चिनजानकै १६ वर्षीय सहचालक सुमन थापा र २४ वर्षीय गाडीधनी प्रोग्रेस चौधरी रहेका छन्। जसले मधेशमा बालिकाहरू आफ्नै छिमेक र समाजभित्र कति असुरक्षित छन् भन्ने पुष्टि गर्छ। यस प्रदेशमा बलात्कार मात्र नभई हत्या र समग्र आपराधिक ग्राफ पनि लगातार उकालो लागिरहेको प्रदेश प्रहरी कार्यालयको रेकर्डले देखाउँछ।
विगतका तीन आर्थिक वर्षहरूमा मात्रै मधेश प्रदेशमा ३३२ जनाको हत्या भएको छ, जसमा आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा बढी १०६ जनाले ज्यान गुमाएका थिए। सोही अवधिमा कुल अपराधको संख्या ८,४५४ बाट बढेर ९,८४४ पुगेको छ। प्रहरी अनुसन्धानका अनुसार गरिमाको हत्यामा संलग्न किशोर जस्तै यस्ता जघन्य अपराध र बालिका हत्याका घटनाहरू बढ्नुमा लागूऔषध दुव्र्यसन मुख्य कडीका रूपमा देखिएको छ, जहाँ प्रदेशमा दैनिक औसत ३ जना युवा तथा किशोरहरू लागूऔषध कारोबार र सेवनको आरोपमा पक्राउ पर्ने गरेका छन्।
जब अपराधीलाई कुकुरले पत्ता लगायो
मंगलबार साँझ बारा प्रहरीले कुकुरसहितको टोली ल्याएर बालिका गरिका चौधरीको अनुसन्धान सुरु गरेको थियो । त्यतिबेला सहचालक थापा पनि घटनास्थलमै शव खोज्न प्रहरीलाई सघाइ झैं गरिरहेका थिए । सोही क्रममा कुकुरले उनीतिर संकेत गरेपछि घटनास्थलबाटै सुमनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बारा प्रहरीका अनुसार उसले अपराध स्वीकार गरेको छ । । बारा प्रहरीका अनुसार घटनामा म्याजिक चालकसमेतको संलग्नता देखिएपछि जितपुर सिमरा उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय प्रमोद चौधरीलाई पक्राउ गरिएको छ । चौधरीविरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनामा अन्य व्यक्तिको संलग्नता भए-नभएको विषयमा समेत प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यही क्रममा बाराको पथलैया वीरगन्ज सडकखण्ड बिगत दुई दिनदेखि स्थानीयहरुले अवरुद्ध गरेका छन् ।











प्रतिक्रिया