लमजुङ।
लमजुङको प्रवेशद्धार सुन्दरबजार नगरपालिका–७ पाउँदीमा सार्वजनिक यातायातलाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउन संयुक्त अनुगमन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङको समन्वय तथा सहकार्यमा लमजुङ कालिका यातायात सञ्चालक प्रालि र पृथ्वी राजमार्ग यातायात प्रालिको आयोजनामा अनुगमन गरिएको हो ।
‘सुरक्षित, मर्यादित र सुविधायुक्त यात्रा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गरिएको अनुगमनमा सवारी साधनको अवस्था, ट्राफिक नियमको पालना, यात्रुको सुरक्षा तथा सार्वजनिक यातायात सेवाको गुणस्तरका विषयमा स्थलगत निरीक्षण गरिएको जिल्ला ट्रफिक कार्यालय लमजुङका प्रमुख प्रहरी नायब निरीक्षक गौतम खत्रीले जानकारी दिनुभयो ।
खत्रीका अनुगमनका क्रममा सार्वजनिक सवारी साधनले तोकिएकोभन्दा बढी भाडा लिएनलिएको, सवारीको स्वरुप परिवर्तन तथा थप सिट, मुडा वा टुल राखेनराखेको, प्रयोजन विपरीत सवारी सञ्चालन भएनभएको, भाडादरको सूची टाँस गरे नगरेको र चालक तथा सहचालकले यात्रुसँग गर्ने व्यवहार लगायतका विषयमा निगरानी गरिएको थियो ।
त्यस्तै, आरक्षण सिटको व्यवस्था कार्यान्वयन भएनभएको, तीव्र गतिमा सवारी चलाए नचलाएको, तोकिएको स्थानबाट मात्र यात्रु चढाउने तथा ओराल्ने व्यवस्था पालना गरेनगरेको र मादक तथा लागुऔषध सेवन गरी सवारी नचलाउने विषयमा समेत चालक तथा सहचालकलाई सचेत गराइएको थियो ।

अनुगमन टोलीले चालकको अवस्था असामान्य देखिएमा वा सवारी दुर्घटना भएको अवस्थामा तत्काल प्रहरीको हटलाइन नम्बर १०० तथा ट्राफिक प्रहरीको १०३ मा खबर गर्न यात्रु तथा सर्वसाधारणलाई आग्रह गरेको छ । सार्वजनिक यातायातलाई थप व्यवस्थित, मर्यादित र यात्रुमैत्री बनाउन यात्रु तथा चालक सहचालकलाई आवश्यक जनचेतनामूलक जानकारीसमेत प्रदान गरिएको थियो ।
अनुगमनका क्रममा सानाठूला गरी १ सय ४ वटा सार्वजनिक सवारी साधन चेकजाँच गरिएको थियो । तीमध्ये ट्राफिक नियम उल्लङघन गर्ने २० वटा सवारी साधनलाई अनुगमन टोलीले कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
अनुगमनमा लमजुङ कालिका यातायात सञ्चालक प्रालिका अध्यक्ष पूर्णलाल श्रेष्ठ, पृथ्वी राजमार्ग यातायात प्रालिका क्षेत्रीय संयोजक बुद्धिप्रसाद घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक गौतमबहादुर खत्री तथा अस्थायी प्रहरी चौकी पाउँदीका प्रमुख प्रहरी सहायक निरीक्षक शुकबहादुर थापालगायतको उपस्थिति थियो ।











प्रतिक्रिया