लन्डन, (एजेन्सी) ।
यसपटकको वोमेन्स अफ्रिका कप अफ नेसन्स (वाफकोन) को उपाधि क्यामरुनले जितेको छ । क्यामरुनले फाइनलमा मालावीलाई ३–० ले हराएर उपाधि जितेको हो । यो क्यामरुनको पहिलो वाफकोन उपाधि हो । मालावी भने पहिलोपटक वाफकोन खेलेको टोली हो ।
योसँगैं क्यामरुन वाफकोन जित्ने चौथो टोली बनेको छ । यसअघि यस प्रतियोगितामा नाइजेरिया, इक्वेटोरियल गीनी र दक्षिण अफ्रिका च्याम्पियन भएका टोलीहरू हुन् ।
यसैगरी क्यामरुनकी कोच भ्यालेन्टिन नग्वेले १४ संस्करणको वाफकोन आयोजना हुँदासम्म उपाधि दिलाउने पाँचौं महिला कोच बनेकी छन् ।
यो सूचीमा क्लेमेन्टिन टुरे उपाधि दिलाउने पहिलो महिला कोच हुन् । उनले सन् २००८ मा इक्वेटोरियल गीनीलाई उपाधि दिलाएकी थिइन् ।
यस्तै, युकारिया युके र प्mलोरेन्स ओमागबेबीले नाइजेरियालाई क्रमशः २०१० र २०१६ मा उपाधि दिलाएका थिए । डेसीरी इलीसले सन् २०२२ मा दक्षिण अफ्रिकालाई उपाधि दिलाएकी थिइन् ।
क्यामरुनलाई वाफकोन च्याम्पियन बनाएकी नग्वेलेको उपलब्धि भने छोटो समयमै प्राप्त भएको हो । उनले जुनमा टोलीको जिम्मा लिएकी थिइन् । उनले झण्डै साढे २ महिनाको छोटो समयमा यानि अगस्टमा टोलीलाई उपाधि दिलाइन् ।
नाइजेरियाको उपाधिमा वर्चश्व
वाफकोनमा नाइजेरियाले उपाधिमा वर्चश्व बनाएको छ । १४ संस्करण आयोजना हुँदा नाइजेरियाले १० पटक उपाधि जितेको छ । नाइजेरिया १९९८, २०००, २००२, २००४, २००६, २०१०, २०१४, २०१६, २०१८ र २०२४ मा च्याम्पियन बनेको हो ।
यसपटक ११ औं उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रेको नाइजेरियालाई सफलता हासिल भएन । सुपर फाल्कन (नाइजेरियाको उपनाम) टोलीले खराब प्रदर्शन गर्नु नै हारको मुख्य कारक बनेको थियो । क्वार्टरफाइनलमा च्याम्पियन क्यामरुनले सुपर फाल्कनलाई २–१ ले हराएर विदा गरेको थियो ।
यति मात्र होइन आगामी वोमेन्स फिफा विश्वकपमा पनि नाइजेरिया पहिलोपटक सहभागिता हुने छैन । विश्वकपको प्लेअफमा नाइजेरिया पराजित भएपछि विश्वकपमा पहिलोपटक खेल्न नपाएको हो । प्लेअफ खेलमा टोली दक्षिण अफ्रिकासँग २–१ ले हारेको थियो ।
दर्शकको समस्या
वाफकोनको हरेक संस्करणमा दर्शक भरिभराउ भएन । गत दुई संस्करण २०२२ र २०२४ मा रंगशालामा सिटहरू खाली नै थियो । यसपटक मोरोक्कोमा आयोजना हुँदा पनि दर्शककै समस्या दोहोरियो । समूह चरणदेखि सेमिफाइनलसम्म पनि दर्शकको संख्या बढेको थिएन ।
आयोजक मोरोक्कोले खेलेको सेमिफाइनल खेलमा समेत घरेलु दर्शकको उपस्थित कम रहेको जनाइएको थियो । फाइनल खेलमा पनि १ हजार पनि दर्शक उपस्थित नरहेको जनाइएको थियो । दर्शकको समस्याले गर्दा आगामी २०२८ को आयोजना कता गर्ने भन्ने टुंगो लगाइएको छैन ।











प्रतिक्रिया