मुस्ताङमा टप अफ दि वल्र्ड क्लासिक गल्फ

0
Shares

कास्की ।

सर्वाधिक उचाईको गल्फ कोर्षको विश्व कीर्तिमान राख्ने योजनासहित शुरु भएको “टप अफ दि वल्र्ड गल्फ क्लासिक” को पाँचौ संस्करण यही भदौ १५ गतेदेखि शुरु हुदैै छ । ४६४५ मिटरको उचाईमा रहेको मुस्ताङ गल्फ कोर्षमा पाँचौ संस्करणको गल्फ प्रतियोगिता आयोजना हुदैं छ ।
“टि फर क्लाईमेट” नाम दिइएको छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको प्रत्यक्ष प्रभाव बारे खेलकुदको माध्यमबाट देखाउने र सचेत बनाउने ध्येयसहित मुस्ताङ गल्फ कोर्षले विगत पाँचवर्षदेखि गल्फ प्रतियोगितालाई निरन्तरता दिदैं आएको छ ।

प्रतियोगिताको निरन्तरताले सर्वाधिक उचाईको गल्फ कोर्ष र प्रतियोगिता गिनिज बुकमा लेखाउने लक्ष्य राखिएको कोर्षका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । “निरन्तर प्रतियोगितापछि मात्रै गिनिज बुकमा नाम लेखिने छ ।”
पाँचौ संस्करणमा नेपालका शीर्ष बरियताका पाँच गल्फरले प्रतिस्पर्धा गर्ने छन् । उनीहरुसँगै अन्य विभिन्न शहरका गल्फरले उपस्थिति जनाउने छन् । भुवन नगरकोटी, जयराम श्रेष्ठ, निरज तामाङ, दिनेश प्रजापति र सन्जय लामाको सहभागिता रहने छ ।

विजेताले नगद ७५ हजार प्राप्त गर्ने छन् भने दोस्रो हुनेलाई नगद ५० हजार दिइनेछ । यस्तै, तेस्रो, चौथो र पाँचौलाई समान नगद २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

एमेच्योर तर्फ १० महिलासहित ४० पुरुष गल्फरको सहभागिता रहने विश्वास छ । १८ होलमा हुने प्रतिस्पर्धा स्टेबलफोर्डमा खेलाईने छ । होल ईन वानले घोडा पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । होल ईन वान होल नम्बर थ्रीमा राखिएको छ । बेष्ट ग्रस, महिला विजेता, क्लोजेष्ट टु दि पीन, लङ्गेष्ट ड्राईभलाई पुरस्कृत गरिने छ ।

प्रतियोगितालाई लोमान्थाङ गाँउपालिकाको सहयोग रहेको छ । प्रभु बैंक, सिटी एक्सप्रेस मनि ट्रान्सफर, माछापुच्छ्रे बैंक, एक्सट्रिम इनर्जी, सोनाम गियर, बाह्रसिंगे वियर लगायतले प्रायोजन गर्ने छन् ।