नेपाली कांग्रेसमा समन्वयको खाँचो

188
Shares

नेपाली कांग्रेस, देशको सबैभन्दा पुरानो लोकतन्त्रवादी पार्टी हो । झन्डै आठ दशक लामो राजनीतिक इतिहास बोकेको यस पार्टीले नेपालमा प्रजातन्त्रको स्थापना, प्रजातन्त्र एवं बहुदलीय संसदीय व्यवस्थाको पुनः स्थापना तथा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा खेलेको नेतृत्वदायी एवं अग्रणी भूमिका महत्वपूर्ण छ ।

नेपाली कांग्रेसका नेताहरुको त्याग, समर्पण र इतिहास सर्वोपरि रहिरहनेछ । बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, महेन्द्र नारायण निधि, कृष्णप्रसाद भट्टराईजस्ता नेताहरुको त्याग र समर्पणको इतिहास बोकेको यस पार्टीको पहिचान देशभित्र मात्रै होइन कि देशबाहिर पनि छ ।

कुनै पनि राजनीतिक दलको इतिहास जतिसुकै राम्रो र गौरवशाली भए पनि यदि यसले आफनो इतिहासको गौरवशाली परम्परालाई धरोहरको रुपमा संरक्षण गर्न सकेन र समय, काल, परिस्थितिअनुसार आफूलाई जनअपेक्षाको कसीमा सफल साबित गर्न सकेन भने यो इतिहासको पानामा सीमित हुन जान्छ । नेपालका करिब एक तिहाइ मतदाता यसका स्थायी समर्थक थिए । पार्टीले जतिसुकै गल्ती र जनविरोधी कार्य गरे पनि ती मतदाताहरुले लोकतन्त्र र वैचारिक आस्थाको आधारमा नेपाली कांग्रेसलाई मतदान गर्दै आएका थिए । तर मधेस आन्दोलनले तराई–मधेसमा पार्टीको जनाधारलाई कमजोर बनाई नै सकेको थियो, गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसको १० प्रतिशत जति मत आफूतिर आकर्षित गर्न सफल रह्यो ।

उता आम निर्वाचन २०८२ को परिणामले नेपाली कांग्रेस पार्टीलाई केवल अप्रत्याशित पराजय भोग्न मात्रै बाध्य गरेन, अपितु मानसिक रुपले विभाजित पार्टीलाई भौतिक रुपमा पनि विभाजित हुने धरातल तयार पा¥यो । पार्टीभित्रको अन्तरकलह जुनरुपमा अघि बढदै गएको छ, यसले पार्टीमा नयाँ विभाजन ल्याउने निश्चित छ । यद्यपि डा. शशांक कोइराला यसको विपक्षमा छन् र समन्वयको प्रयास गरिरहेका छन् तर उनको प्रयास सफल हसने सम्भावना कमै देखिन्छ ।

पञ्चतन्त्रमा विष्णु शर्माले लेखेका छन्, ‘गरिबीमा भोक बढी लाग्छ, एकपटक चोट लागेको ठाउँमा नै पटक–पटक चोट लाग्छ र पटक–पटक गल्ती पनि यसै अवधिमा दोहोरिन्छ । करिब एक वर्षअघि भएको जेनजी आन्दोलनमा तात्कालीन पार्टी सभापति शेरबहादुर देउवाको घरमा आक्रमण भयो । देउवा–दम्पतीलाई अपमानित गरियो । उनीहरुमाथि भौतिक आक्रमण भयो । त्यति बेला उनलाई पार्टीका अन्य नेता र समर्थकहरुको ठूलो सहानुभूति, समर्थन र सद्भावको आवश्यकता थियो तर पार्टीका केही नेताहरुले त्यसमा नै आफ्नो निम्ति अवसर खोजे । पार्टीको विशेष महाधिवेशनको शुरु साइत पनि जुराए र विशेष महाधिवेशन सम्पन्न पनि गरे । पार्टीको एक ठूलो समूहलाई उपेक्षा गरी सम्पन्न गरिएको उक्त विशेष महाधिवेशनमा केवल पार्टी नेता गगनकुमार थापाका पक्षधरहरुको मात्रै वर्चश्व देखियो । आम निर्वाचनको परिणामले गगनकुमार थापाको नेतृत्वलाई जनताले समर्थन नगरेको प्रमाणित भयो ।

इतर पक्षमा राष्ट्रिय पहिचान बनाएका र मित्रराष्ट्रहरुमा समेत बलियो सम्पर्क बनाइसकेका अनुहारहरु बढी छन् । बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि, कृष्णप्रसाद भट्टराई आदिका पारिवारिक सदस्य र पार्टीका पुराना बफादारहरु इतर पक्षमै लागेका छन् । इतर पक्षले बीपी कोइरालाका सुपुत्र एवं पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला अथवा महाधिवेशन आयोजक समितिको गठन गरेको छ । नेपाली कांग्रेसका अधिकांश समर्थक, कार्यकर्ता र कतिपय नेताहरु पनि असामञ्जस्यको स्थितिमा छन् कि नेपाली कांग्रेसको आधिकारिक नाम, झन्डा र चुनाव चिह्न यदि गगन थापा पक्षसित रहनेछ भने आधिकारिक पार्टी पनि त्यही नै कहलिने अवस्थामा के गर्ने ? पार्टीको नाम, झन्डा र चुनाव चिह्न इतर पक्षसित नरहे पनि ठूला नेताहरुको पारिवारिक ‘लिगेसी’ देउवा समूहतिर नै रहने देखिन्छ ।

यता पार्टीको आधिकारिक मान्यताको विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । भोलि यदि फैसला गगनकुमार थापाको पक्षमा आयो भने पनि देउवा समूहले नयाँ पार्टी खोल्ने नै हो तर कथंकदाचित पार्टीको आधिकारिक मान्यता देउवा समूहले प्राप्त ग¥यो भने गगन थापा नेतृत्वको संगठनले आत्मसमर्पण गर्नुको विकल्प हुनेछैन । शेरबहादुर देउवाले त गिरिजा बाबुको जीवनकालमा पनि नयाँ पार्टी (नेपाली कांग्रेस पार्टी) खोलेर तथा चलाएर देखाइदिएका छन् । शेरबहादुर देउवा, प्रकाशमान सिंह र विमलेन्द्र निधी मिलेर गएमा नयाँ पार्टी चलाउन पनि समस्या हुनेछैन । यदि डा. शेखर कोइराला र डा. शशांक कोइरालाले पनि देउवा समूहलाई सहयोग गर् भने संस्थापन पक्षभन्दा इतर पक्ष नै भारी रहनेछ ।

नेपाली कांग्रेसभित्र राष्ट्रिय व्यक्तित्व बनाइसकेका अधिकांश व्यक्तिहरु इतर पक्षमै बढी छन् । वरिष्ठताका आधारमा नेपाली कांग्रेसमा पार्टीको विभिन्न पदाधिकारी भएर काम गरिसकेका, केन्द्रीय तहको राजनीति गरेका, लामो समयसम्म पार्टीमा योगदान गरेका, सरकारको मन्त्री पद चलाइसकेका अधिकांश व्यक्ति इतर समूहमै छन् । यस क्रममा नेपाली कांग्रेसभित्र युवाहरुको वर्चश्वको आवाज उठाएर तत्कालीन पार्टीका महासचिवद्वय गगन थापा र विश्वप्रकाश शर्माहरु विशेष महाधिवेशनका माध्यमबाट अगाडि आउनुभयो ।

कांग्रेसभित्रको एउटा ठूलो समूहले विशेष महाधिवेशन अस्वीकार गर्दागर्दै पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गराउनुभयो । इतर पक्षले पार्टीलाई एकजुट राख्न आफ्नोतर्फबाट केही सर्तहरु पनि संस्थापन पक्षसमक्ष राखेको थियो तर संस्थापन पक्षले ती सर्तहरुलाई मान्न तयार भएन । पार्टीको आधिकारिता पाइसकेपछि संस्थापन पक्षले पनि इतर पक्षलाई पेलेर नै जाने मानसिकता बनाएको देखियो ।

नेपाली कांग्रेस सत्तामा रहँदा विभाजनको सिकार भएको मान्यता र परम्परालाई खारेज गर्दै यसपटक भने पार्टी सत्ताबाहिर भएपछि विभाजित हुँदै छ । बाहिर एकता भए पनि भित्रीरुपमा नेपाली कांग्रेसभित्र गुटबन्दी कहिल्यै समाप्त भएन । कहिले २ त कहिले ३ र कहिले चार गुटमा विभाजित यो पार्टी अहिले पनि तीन गुटमा विभाजित छ तर पार्टीमाथि युवाहरुको प्रभाव र वर्चश्वका कारण आफ्नो उपेक्षा र अपमानलाई सहन गर्न नसक्ने पुराना एवं अनुभवी नेताहरु बाध्य भएर एउटा साझा प्लेटफर्म बनाउने निष्कर्षमा पुगेका छन् ।

पार्टीको झन्डा र चुनाव चिह्न नै सबै थोक हुन्छ भन्ने कुरा छैन । बागमती र त्रिशुली नदीमा धेरै पानी बगिसक्यो । जेनजी समूहका व्यक्तिलाई चुनाव चिह्नसित मतलब छैन । विगत दुई दशकको नेपालको राजनीतिक र चुनावी इतिहासलाई मनन गर्ने हो भन्ने नेकपा माओवादीले हँसिया हथौडालाई परित्याग गरी ‘तारा’ चुनाव चिह्न आत्मसात् गरिसकेको छ । यस्तै राप्रपा कहिले ‘हलो’ त कहिले ‘गाई’, मधेसी दल उपेन्द्र यादवको फोरम पार्टी पहिले ‘मशाल’ त अहिले छाता छाप राखेको छ । महन्त ठाकुरको पार्टीले एक जोडा गोरु, छाता, साइकल र पुनः छाता छाप लिएको छ ।

नेपाल सद्भावना पार्टीको चुनाव चिह्न ‘पञ्जा’ छाप अस्तित्वमा नै छैन, तसर्थ पार्टीको नाम, झन्डा र चुनाव चिह्नले अर्थ राख्दैन । अब राजनीतिक विचारधारा पनि सान्दर्भिक भएन । चुनाव जित्ने आधार जाति, पैसा र सत्ताको संरक्षण हुन पुग्यो । यसपालि परम्परागत चुनावी मान्यताहरुलाई ध्वस्त पार्दै बालेनको नामले नै नेपालको राजनीतिलाई व्यक्ति केन्द्रित बनायो ।

बालेन्द्र साहलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीभन्दा पनि अतिशयोक्ति नहोला । बालेनको बढ्दो लोकप्रियताका कारण चुनावको अन्तिम समयमा आएर नेपाली कांग्रेसले गगन थापालाई र एमालेले केपी शर्मा ओलीलाई आ–आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा नाम अघि त सारे तर त्यति बेलासम्म धेरै ढिलो भइसकेको थियो । फेरि गगन थापा स्वास्थ्यमन्त्री रहेर त्यस्तो कुनै उदाहरणीय काम गरेका थिएनन् कि जनताले उनको नेतृत्वलाई पत्याइदिनुपर्ने थियो । केपी ओलीप्रति जनआक्रोश नै थियो ।

जनताको स्मरण शक्ति कमजोर हुन्छ, फेरि राजनीतिज्ञहरु सत्ताबाट बाहिर भएपछि जनताको सहानुभूति पनि बढ्न थाल्छ । शेरबहादुर देउवाको काठमाडौं पूर्वाग्रही भएर हतार–हतारमा राजनीतिज्ञहरुलाई पक्राउ गर्ने सरकारको कार्य असफल साबित भएको छ । नेपाली कांग्रेसको निम्ति अहिलेको समय निर्णायक साबित हुनेछ । पार्टी विभाजित हुने कि एकढिक्का रहने कुरा कांग्रेसीहरुकै हातमा छ । त्यसपछि मात्र नेपाली कांग्रेसको भावी दिशा निर्धारण हुनेछ ।