चितवन ।
चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा भ्रामक तथा कपोकल्पित सामग्री प्रकाशन गरिएको भन्दै अर्यालले साइबर ब्युरोमा उजुरी दिने तयारी गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा केही व्यक्ति तथा फेसबुक पेजबाट सिडिओ अर्यालको तस्बिर प्रयोग गरी उहाँ भरतपुर महानगरपालिकाको आगामी निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने तयारीमा रहेको आशयका सामग्री सार्वजनिक भएपछि उहाँले कानुनी प्रक्रियामा जाने बताउनुभएको हो ।
‘रुटिन अफ चितवन बन्द’ नामक फेसबुक पेजलगायत केही सामाजिक सञ्जाल प्रयोगकर्ताले सिडिओ अर्यालको फोटो प्रयोग गर्दै ‘सिडिओ गणेश अर्याल भरतपुर महानगरको मेयरमा उठ्दै’ भन्ने व्यहोराका सामग्री पोस्ट गरेका थिए । ती सामग्रीमा अर्याललाई राजनीतिक उम्मेदवारका रूपमा प्रस्तुत गरिएको थियो ।
आफूले कुनै राजनीतिक दल वा निर्वाचनसँग सम्बन्धित त्यस्तो घोषणा नगरेको अवस्थामा आफ्नो फोटो र नाम प्रयोग गरी गलत सूचना प्रवाह गरिएको सिडिओ अर्यालले बताउनुभएको छ । उहाँका अनुसार सामाजिक सञ्जालमा फैलाइएको उक्त सामग्री पूर्ण रूपमा भ्रामक र कपोकल्पित रहेको छ ।
सरकारी जिम्मेवारीमा रहेका व्यक्तिको तस्बिर तथा नाम दुरुपयोग गरी गलत सूचना प्रवाह गर्ने कार्यले व्यक्तिगत प्रतिष्ठामा मात्र असर नपारी सार्वजनिक पद र संस्थाप्रतिको विश्वसनीयतामा समेत प्रश्न उठाउन सक्ने भएकाले यस विषयलाई गम्भीर रूपमा लिइएको उहाँले बताउनुभएको छ ।
अर्यालले आफ्नो फोटो दुरुपयोग गरी भ्रामक सामग्री प्रकाशन तथा प्रसारण गर्ने व्यक्ति तथा सम्बन्धित सामाजिक सञ्जाल पेजविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिने जानकारी दिनुभएको छ ।
सामाजिक सञ्जालमा कुनै व्यक्तिको तस्बिर, नाम वा पहिचान दुरुपयोग गरी गलत तथा भ्रमपूर्ण सूचना फैलाउने क्रम बढिरहेका बेला चितवनका प्रमुख जिल्ला अधिकारीको फोटोसमेत त्यसरी प्रयोग भएपछि यसले सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतामाथि प्रश्न उठाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीको सत्यता पुष्टि नगरी शेयर तथा प्रसार गर्दा गलत सूचना थप फैलिन सक्ने भएकाले आधिकारिक स्रोतबाट जानकारी लिएर मात्र त्यस्ता सामग्रीमा विश्वास गर्नुपर्ने देखिएको छ । विशेषगरी सार्वजनिक पदमा रहेका व्यक्तिको नाम र तस्बिर प्रयोग गरिएका राजनीतिक प्रकृतिका सामग्रीमा थप सावधानी अपनाउनुपर्ने सरोकारवालाको भनाइ छ ।
सिडिओ अर्यालले भने आफूलाई जोडेर सामाजिक सञ्जालमा फैलाइएको भ्रामक सामग्रीको विषयमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने स्पष्ट पार्नुभएको छ ।











प्रतिक्रिया