फिफा अध्यक्षविरुद्ध बोल्दा अधिकृत पदमुक्त


लन्डन, (एजेन्सी)

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का मुख्य कार्यसञ्चालन अधिकृत (सीओओ) केभिन लामौर पदमुक्त भएका छन् ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपका केही अधिकार निजी लगानीकर्ताहरूलाई बिक्री गर्न ल्याएको विवादास्पद प्रस्तावको कडा आलोचना गरेपछि लामौरलाई हटाइएको हो । युरोपेली फुटबल संघ (युईएफए) मा लामो अनुभव बटुलेर दुई वर्षअघि फिफा प्रवेश गरेका लामौरले इन्फान्टिनोको कदमप्रति तीव्र असन्तुष्टि जनाएका थिए । उनले फिफा प्रशासनलाई ‘धोका’ दिइएको आरोप लगाउँदै अध्यक्ष इन्फान्टिनोले आफूलाई ‘संस्थाको सेवक’ नभई ‘मालिक’ ठान्ने गरेको भन्दै कडा टिप्पणी गरेका थिए ।

आफ्नो अभिव्यक्तिले जागिर संकटमा पर्न सक्छ भन्नेमा लामौर पहिले नै सचेत थिए । गत जुलाई ३१ मा उनले भनेका थिए,“सत्यको पक्षमा उभिँदा जागिर गुम्छ भने मलाई त्यो स्वीकार्य छ । कम्तीमा म आजको रात ढुक्कसँग सुत्न त पाउनेछु ।” लामौरको सोही टिप्पणी सार्वजनिक भएको केही घण्टामै इन्फान्टिनोले उक्त योजना तत्कालका लागि स्थगित गरेका थिए । फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले कर्मचारीहरूलाई आन्तरिक इमेल पठाउँदै लामौरले संस्था छाडेको जानकारी गराएका हुन् । फिफाका प्रवक्ताले अगस्ट १७ देखि लामौरसँगको कार्यसम्बन्ध समाप्त भएको पुष्टि गर्दै उनलाई उज्ज्वल भविष्यको शुभकामना दिएका छन् । तर, उनलाई बर्खास्त गर्नुको वास्तविक कारणबारे फिफाले आधिकारिक रूपमा केही खुलाएको छैन ।

आफ्नो टिप्पणीका क्रममा लामौरले फिफाभित्र कर्मचारीहरूले अपमान र त्रासको वातावरणमा काम गर्नु परिरहेको भन्दै उनीहरूसँग सम्मानजनक व्यवहार हुनुपर्ने बताएका थिए । “हामी सबै फिफामा काम गर्दा गर्व गर्न चाहन्छौँ, तर दुर्भाग्यवश अहिले धेरैका लागि त्यो स्थिति छैन,” उनले भनेका थिए । सोही दिन इन्फान्टिनोका अर्का वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले पनि अध्यक्षको योजनाप्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएका थिए । लामौर र इन्फान्टिनोले यसअघि युईएफएमा समेत सँगै काम गरेका थिए । यस घटनाले फिफाभित्रको बढ्दो आन्तरिक विवाद र अध्यक्ष इन्फान्टिनोमाथि थपिएको दबाबलाई प्रस्ट पारेको छ ।