सुस्मिता प्रोफेसनल एमएमए जित्ने पहिलो नेपाली महिला


काठमाडौं।

नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) फाइटर सुस्मिता थापा मगरले व्यावसायिक (प्रोफेसनल) एमएमए प्रतिस्पर्धामा ऐतिहासिक जित हासिल गरेकी छन् ।
भारतको बेंगलुरुमा आयोजित ‘रोनिन एफसी–३’ प्रतियोगिताअन्तर्गत भएको खेलमा घरेलु फाइटर शालु शर्मालाई पराजित गर्दै सुस्मिताले प्रोफेसनल एमएमए फाइट जित्ने पहिलो नेपाली महिला खेलाडीको कीर्तिमान कायम गरेकी हुन् । आफ्नो डेब्यु खेलमै अन्तर्राष्ट्रिय मञ्चमा जित दर्ता गर्दै उनले नेपालको मार्सल आट्र्स इतिहासमा नयाँ माइलस्टोन थपेकी छन् ।

गण्डकी प्रदेशकी सुस्मिताले तेक्वान्दोबाट आफ्नो खेलकुद यात्रा सुरु गरेकी हुन् । त्यसपछि उनले किकबक्सिङ र मुवा थाइमा प्रतिस्पर्धा गर्दै विभिन्न फाइटिङ विधाहरूमा अनुभव हासिल गरेकी थिइन् । बहुआयामिक खेल कौशल बनाउँदै व्यावसायिक एमएमएमा प्रवेश गरेकी उनले पहिलो भिडन्तमा नै प्राविधिक रूपमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेकी हुन् ।

ऐतिहासिक जितपछि प्रतिक्रिया दिँदै सुस्मिताले व्यावसायिक करियरको पहिलो खेलमै सफलता मिल्दा खुसी लागेको र यो यात्राको सुरुवात मात्र भएको बताइन् । उनले आगामी दिनमा अझ ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्दै थप सफलता हासिल गर्ने लक्ष्य रहेको जानकारी दिइन् ।