कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेर अन्तर्राष्ट्रिय चर्चा कमाएको नेपाली फिल्म तिनीहरू : इलिफेन्ट इन द फगको टोली नेपाल प्रदर्शनको तयारीसंगै विभिन्न कार्यक्रममा देखिन थालेको छ।
भदौ १९ गते प्रदर्शनमा आउन लागेको फिल्मको टोलीले काठमाडौंमा आयोजित विभिन्न कार्यक्रममा विशेष प्रस्तुति तथा सहभागिता जनाएको हो। भृकुटीमण्डपमा आयोजित नाइमा मोबिलिटी शोमा फिल्मको टोलीले विशेष प्रस्तुति दिएको थियो। कार्यक्रमको सुरुवात फिल्ममा समावेश गीत शादी के दिन में (ला ला ला ला) को प्रस्तुति र नृत्यबाट गरिएको थियो। त्यसपछि टोली एनआईयूको स्टलमा पुगेर फिल्मकै गीत बलममा नृत्य प्रस्तुत गरेको थियो। टोलीको प्रस्तुतिमा कार्यक्रमका सहभागी उत्साहित भएका थिए।
यसैबीच, फिल्मको टोली के–पप काठमाडौं डान्स फेस्टिभलमा प्रमुख अतिथिका रूपमा सहभागी भएको छ। कोरियन पप नृत्यको उत्सवका रूपमा आयोजित कार्यक्रममा टोलीले प्रतियोगिताका विजेता तथा सहभागीलाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो। टोलीले सहभागी कलाकारको प्रतिभाको प्रशंसा गर्दै उनीहरूको हौसला बढाएको थियो।
यसैगरी, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै प्राप्त गरेको उपलब्धिका लागि फिल्मको टोलीलाई एक कार्यक्रममा विशेष सम्मान गरिएको छ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलले फिल्मको प्रशंसा गर्दै कान्समा भएको वल्र्ड प्रिमियरमा आफू सहभागी भएको अनुभव सुनाइन्। उनले कान्समा फिल्मले पाएको करिब ८ मिनेट लामो स्ट्यान्डिङ ओभेसन स्मरण गर्दै नेपाली फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको उपलब्धि गौरवको विषय भएको बताइन्। फिल्म आगामी भदौ १९ गते नेपालमा प्रदर्शन हुँदैछ।











प्रतिक्रिया