चिनियाँ सहर हाङझाउको भव्य इन्डोर कभर्डहलमा जब रातो र नीलो जर्सीमा सजिएका नेपाली चेलीहरू कोर्टमा ओर्लिएका थिए, त्यो केवल एउटा सामान्य खेलको सुरुआतमात्र थिएन, नेपाली खेलकुद इतिहासको एक युगान्तकारी र अविस्मरणीय क्षण थियो । कप्तान अरुणा शाहीको कुशल नेतृत्वमा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले १९औँ एसियाली खेलकुदमा आफ्नो ऐतिहासिक डेब्यु गर्दा सम्पूर्ण देशको धड्कन उनीहरूकै हरेक स्पाइक र ब्लकसँगै धड्किएको थियो । पर्याप्त पूर्वाधारको अभाव, सीमित साधन–स्रोत र अनेकौँ सामाजिक चुनौतीहरूलाई पन्छाउँदै एसियाली खेलकुदको भव्य महाकुम्भसम्म पुग्नु आफैँमा एउटा अद्वितीय विजय थियो । समूह ‘सी’ मा दक्षिण कोरिया र भियतनामजस्ता महादेशका शक्तिशाली टोलीहरूसँग प्रतिस्पर्धा गर्दा नेपाली टोलीले केवल खेलमात्र प्रस्तुत गरेन, हार नमान्ने अदम्य साहस र नेपाली स्वाभिमानको ज्वलन्त उदाहरण पनि पेस ग¥यो ।

छिमेकी राष्ट्र भारतविरुद्धको खेल त झन् संघर्षको उत्कर्ष नै बन्यो, जहाँ कडा सेटमा लड्दै नेपाली खेलाडीहरूले जितका लागि अन्तिम क्षणसम्म आफ्नो सम्पूर्ण शक्ति झोकेका थिए । नतिजा ११औँ स्थानमा सीमित रहे पनि हाङझाउको त्यो मञ्चमा पोखिएको पसिना, समर्पण र बलिदान कुनै स्वर्ण पदकभन्दा कम थिएन । त्यही ऐतिहासिक सहभागिताले नेपाली महिला भलिबललाई अन्तर्राष्ट्रिय जगत्मा नयाँ पहिचानमात्र दिलाएन, नेपाली महिलाहरू एसियाडजस्तो प्रतियोगिता कडा चुनौती पेस गर्न सक्षम छन् भन्ने बलियो विश्वास र जागरण पनि पैदा गरायो । हाङझाउमा रोपिएको त्यही आत्मविश्वासको बिउ फलस्वरूप अगस्ट २०२४ को काभा वुमेन्स नेसन्स लिगमा भारतविरुद्ध इतिहासकै पहिलो अभूतपूर्व र ऐतिहासिक जित सम्भव भएको थियो । हाङझाउको त्यो विशाल मञ्चले दिएको गहिरो पाठ र अमूल्य अनुभवलाई टेकेर अहिले नेपाली महिला भलिबल टोली ‘मिसन २०२६’ को अन्तिम तयारीमा जुटेको छ ।
अहिलेको बन्द प्रशिक्षणमा रहेका १२ जना खेलाडीहरूमध्ये उषा भण्डारी, सलिना श्रेष्ठ र वर्तमान कप्तान निरुता ठगुन्नामात्र ती अनुहार हुन् जसले अघिल्लो एसियाडको अनुभव बटुलेका थिए । बाँकी खेलाडीहरू टोलीका लागि एकदमै नयाँ, ऊर्जावान् र उदीयमान अनुहार हुन् । तर, यस ठूलो परिवर्तनले टोलीमा कुनै निराशा होइन, नयाँ आशा, ऊर्जा र उमंग भरेको छ । बन्द प्रशिक्षणमा उनीहरूसँगै सलिना बुढामगर, मीना सुनार, प्रगति नाथ, सुमित्रा रेग्मी, आरती सुवेदी, लक्ष्मी चन्द, रीमा कुँवर, वसन्तीकुमारी साउद क्षेत्री र सुनिता खत्री रातदिन आफ्नो पसिना बगाइरहेका छन् । टोलीकी कप्तान निरुता ठगुन्नाका लागि यो एसियाड केवल अंक र नतिजाको होडमात्र होइन, नेपाली भलिबलको समग्र स्तरलाई नयाँ उचाइमा पु¥याउने एउटा ऐतिहासिक अवसर पनि हो । “तयारी राम्रै भइरहेको छ, यस संस्करण नतिजाभन्दा पनि भलिबलको स्तर कसरी वृद्धि गर्ने भन्ने बारेमा केन्द्रित छौँ,”–निरुता भन्छिन्,–“यो हाम्रो लागि निकै ठूलो प्रतियोगिता हो । त्यसैले कोर्टमा ओर्लिएर शतप्रतिशत शक्ति लगाएर खेल्नेछौँ ।” एसियाडलाई आफ्नो खेल जीवनको सर्वोच्च ‘सपना’ मान्ने कप्तानको यो भावनात्मक र ओजपूर्ण भनाइले नेपाली चेलीहरूको देशप्रतिको अगाध समर्पण, निष्ठा र अदम्य भावनालाई उजागर गर्दछ ।

एसियाली खेलकुदमा नेपाली टोलीको यो लगातार दोस्रो सहभागिता हुन गइरहेको छ । जुन आफैँमा एउटा ठूलो उपलब्धि हो । अझ विशेष कुरा के छ भने, यसपटक नेपाल एसियाली भलिबल महासंघको शीर्ष १६ वरीयताभित्र पर्न सफल भएकै कारण सोझै यो प्रतियोगिताका लागि छानिएको हो । विगतमा बिनावरीयता सोझै सहभागी हुन पाइने व्यवस्था भए पनि यस पटक वरीयताका आधारमा छनोट हुनुले नेपाली महिला भलिबलको उचाइ र साख अन्तर्राष्ट्रिय स्तरमा कति बढेको छ भन्ने स्पष्ट पार्छ । टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट यस उपलब्धिलाई नेपालका लागि एउटा स्वर्णिम मोड र कोसेढुङ्गा मान्छन् । “वरीयतामा उत्कृष्ट १६ मा पर्नु नै हाम्रो सबैभन्दा ठूलो नतिजा हो”– प्रशिक्षक भट्टको यो विश्लेषणात्मक भनाइले टोलीभित्रको नयाँ सम्भावनालाई प्रस्ट पार्छ । यस पटक नेपाल समूह ‘ए’ मा परेको छ । जहाँ एसियाली भलिबलको “पावरहाउस“ र दिग्गज राष्ट्रहरू जापान र इन्डोनेसियाजस्ता कठिन प्रतिस्पर्धीहरू रहेका छन् । अघिल्लो संस्करणमा समूह ‘सी’ मा रहँदा दुवै खेल हारेर बाहिरिनुपरेको नमीठो अनुभव भए पनि यस पटक टोली नयाँ रणनीतिका साथ मैदानमा उत्रिने तयारीमा छ ।
प्रशिक्षक भट्ट नयाँ अनुहारहरूमा अपार सम्भावना देख्छन् । साढे एक वर्षको छोटो अन्तरालमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेलेर अनुभव बटुलिसकेकाले यी नयाँ खेलाडीहरूले कोर्टमा चमत्कारिक प्रदर्शन गर्न सक्नेमा उनी पूर्ण विश्वस्त छन् । तर, विश्लेषणात्मक दृष्टिकोणबाट हेर्ने हो भने, केवल भावना र मनोबलका भरमा मात्र विश्वस्तरीय टोलीहरूसँग प्रतिस्पर्धा गर्न सम्भव हुँदैन । प्रशिक्षक भट्टले स्पष्ट पारे झैँ खेलाडीहरूका लागि दैनिक पोषणयुक्त आहारको व्यवस्था, आधुनिक वैज्ञानिक तालिम, नियमित अभ्यास र वैदेशिक एक्सपोजरको दीर्घकालीन वातावरण बनाउन सकेमा मात्र जुनसुकै ठूला प्रतियोगितामा पनि सुखद र चमत्कारिक नतिजाको अपेक्षा गर्न सकिन्छ । यदि नेपाली टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै एसियाली वरीयताको उत्कृष्ट आठभित्र स्थान बनाउन सक्यो भने भोलिका दिनमा ओलम्पिक छनोट खेल्ने ढोकासमेत औपचारिक रूपमा खुल्नेछ ।
सीमित भौतिक पूर्वाधार, आर्थिक अभाव र न्यून वैदेशिक एक्सपोजरका बाबजुद रातो र नीलो जर्सीमा कोर्टमा ओर्लिएर देशको नाम उचो बनाउन तल्लीन यी १२ चेलीहरूको तयारी केवल एउटा खेलको यात्रा मात्र होइन, समग्र नेपाली महिलाहरूको संघर्ष, स्वाभिमान र इच्छाशक्तिको जीवित दस्तावेज पनि हो । हाङझाउको कभर्डहलदेखि ‘मिसन २०२६’ को बन्द प्रशिक्षणसम्म आइपुग्दा नेपाली महिला भलिबलले जुन उचाइ लिएको छ, त्यसले के स्पष्ट पार्छ भने, यदि सही दिशा, निरन्तर सहयोग र पूर्वाधार मिल्ने हो भने नेपाली चेलीहरूका लागि कुनैपनि चुनौती मुस्किल छैन । हाङझाउबाट सुरु भएको यो स्वर्णिम उडान अब ११औं स्थानबाट छलाङ मार्ने यात्रामा तम्तयार छ ।











प्रतिक्रिया