संस्मरण: शब्दमार्गका मार्गदर्शक– रुद्र गुरु

0
Shares

अतीतका पानाहरू पल्टाउँदै फर्केर हेर्दा बाल्यकालको दुर्गम र विकट ग्रामीण परिवेश आँखाअगाडि सजीव भएर उभिन्छ । न चिल्ला सडक र गाडीका आवाज थिए, न त आजजस्ता आधुनिक सञ्चार र प्रविधिको कुनै पहुँच नै । भौतिक अभावले चारैतिरबाट घेरेको त्यो शान्त खोटाङ, चिसापानीको गाउँमा मेरो मानसपटल भने अध्ययनको असीम तृष्णाले छटपटाइरहन्थ्यो । कतैबाट कुनै नयाँ पुस्तक हात पर्नासाथ मभित्र एउटा अलौकिक खुशीको सञ्चार हुन्थ्यो । बाल कविता, कथा र निबन्धहरू लेखिन्थ्यो । तिनलाई रेडियो नेपालको लोकप्रिय ‘को भन्दा को कम’ कार्यक्रममा पठाउँदा र बासुदेव मुनालको स्वरमा आफूले लेखेका कुरा सुन्न पाउँदा अनौठो खुशीले भुइँमा खुट्टा हुँदैनथ्यो ।

साँझ परेपछि टुकीको धमिलो उज्यालोमा किताबका पानाहरू पल्टाउँदा–पल्टाउँदै रात छर्लङ्गै बितेको पनि पत्तै हुँदैनथ्यो । ती पानाहरू पढ्दै जाँदा भेटिने नचिनेका, अलि कठिन र असजिला नयाँ शब्दहरूलाई म बडो जतनका साथ कापीको एकापट्टि टिपेर राख्थेँ । ती शब्दहरू मेरा लागि रहस्यमयजस्तै लाग्थे, जसको ताला खोल्ने साँचो भने केवल मेरो स्कुलका आदरणीय गुरुसँग मात्र थियो ।

भोलिपल्ट बिहानै उत्सुकताले भरिएका मेरा पाइलाहरू विद्यालयतर्फ लम्किन्थे । कापी छातीमा टाँसेर म हाम्रा भाषा र साहित्यका आदरणीय रुद्रप्रसाद घिमिरे (रुद्र गुरु) को सामीप्यमा पुग्थेँ । उहाँको अगाडि आफूले टिपेका नयाँ शब्दहरूको कापी तेस्र्याउँदै बडो नम्रताका साथ सोध्थेँ– ‘गुरु ! मैले हिजो पुस्तक पढ्दा यी केही नयाँ शब्दहरू टिपेर ल्याएको छु, जसको अर्थ मैले बुझ्न सकिनँ । कृपया मलाई बताइदिनुहोस् न !’

गुरुले मतिर स्नेहपूर्ण दृष्टि घुमाउनुहुन्थ्यो र खरर ती क्लिष्ट शब्दहरूलाई यति सरल र विम्बमय ढङ्गले अथ्र्याइदिनुहुन्थ्यो कि मेरो अगाडिको सम्पूर्ण अन्योल एकाएक हट्थ्यो ।

कदाचित् कुनै दिन म शब्द सोध्न उहाँसमक्ष पुगिनँ भने, मेरो जिज्ञासु स्वभावप्रति आकर्षित हुनुभएका गुरु स्वयं मलाई खोज्दै कक्षाकोठाको ढोकासम्म आइपुग्नुहुन्थ्यो र हातले इशारा गर्दै बोलाएर भन्नुहुन्थ्यो– ‘खै त केटा ! आज कापीमा कुनै नयाँ शब्द छैनन् ?’

म बडो उत्साहका साथ भन्थेँ– ‘ए ! छ गुरु, छ ! हजुरले यी शब्दका अर्थ बताइदिनुभयो भने त म अरू नयाँ शब्द खोज्न र जान्न सक्नेछु ।’ त्यसपछि उहाँले शब्दको शाब्दिक अर्थ मात्र होइन, तिनलाई कसरी जीवन्त वाक्यमा ढाल्ने भनेर सुन्दर वाक्य–विन्यास बनाएरै देखाइदिनुहुन्थ्यो । ‘यसरी शब्दको गहिराइमा पुगेर अर्थ खोज्दै जाँदा नै नयाँ ज्ञानको ढोका उघ्रिन्छ, मनमा लेख्ने विषय मिल्छ र पढ्ने–लेख्ने जाँगर बढ्छ’ भन्ने उहाँको त्यो उपदेश नै मेरो जीवनमा लेखनयात्राको पहिलो र बलियो जग बन्यो ।

स्कुले जीवन सिध्याएर प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि २०४४ सालमा अध्ययनको सिलसिलामा म काठमाडौँ प्रवेश गरेँ । गाउँका ती गोरेटाहरू र गुरुको प्रत्यक्ष सामीप्यबाट म केही टाढा भएँ । तर समयको एउटा सुन्दर मोडमा काठमाडौँमै उहाँसँगको त्यो ऐतिहासिक र अविष्मरणीय भेट भयो । मेरा द्वयगुरु आदरणीय रुद्रप्रसाद घिमिरे र मकरधन राई कर्मचारी सञ्चयकोषमा जम्मा भएको आफ्नो रकम निकाल्ने कामको सिलसिलामा काठमाडौँ आउनुभएको रहेछ ।

बाल्यकालमा मलाई शब्दार्थको अथाह संसार घुमाउने गुरुहरूलाई राजधानीका पवित्र एवं ऐतिहासिक स्थलहरू– पशुपतिनाथ, स्वयम्भूनाथ, हनुमानढोका र बौद्धनाथ दर्शन गराउने र घुमाउने दुर्लभ अवसर मैले पाएँ । त्यो भेटघाट र तीर्थाटन मेरो लागि गुरु–ऋणको एउटा सानो कर्तव्यपालन र जीवनकै सबैभन्दा अमूल्य एवं आत्मीय क्षण बनेर रह्यो । सम्भवतः २०४६ सालपछि उहाँहरूसँग भेट भएको छैन । मकर सर त निकै वर्षअघि दिवंगत भइसक्नुभयो ।

आज यतिका वर्षपछि फर्केर हेर्दा, त्यो विकट गाउँको बाल्यकाल र आजको मेरो लेखनयात्राको बीचमा रुद्र गुरुको योगदान अटल स्तम्भ बनेर उभिएको पाउँछु । उहाँसँग प्रत्यक्ष नभेटिए पनि मेरो हृदयमा उहाँको प्रेरणादायी भूमिकाको छाप छँदै छ । उहाँले सिकाउनुभएका शब्द–संस्कार मेरो हरेक रचना र भावनामा निरन्तर स्पन्दित भइरहन्छ । वि.सं. १९९५ वैशाख ३ गते शुक्रबार खोटाङ जिल्लाको चिसापानी गाउँपालिकास्थित खुटामा जन्मनुभएका रुद्र गुरु हाल ८८ वर्षको पाका उमेरमा मोरङको ग्रामथान गाउँपालिका–२, झोराहाटको शान्त काखमा विराजमान हुनुहुन्छ । मेरो लेखनको बिहानीमा ज्ञानको किरण बनेर झुल्किनुभएका मेरा परम आदरणीय गुरुदेवको सुस्वास्थ्य, पूर्ण आरोग्य र दीर्घायुका लागि हृदयका प्रत्येक धड्कनबाट भावपूर्ण प्रार्थना गर्दछु । गुरुदेव ! हजुरको चरणकमलमा मेरो कोटी–कोटी प्रणाम !