किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको टाइ–सिट सार्वजनिक


काठमाडौं  । 

किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको टाइ–सिट ड्र सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा सहभागी २८ टोलीहरूलाई ७ समूहमा विभाजन गरिएको छ भने प्रत्येक समूहमा ४ टोली रहेका छन् । प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ । समूह चरणको प्रतिस्पर्धापछि छनोट भएका टोलीहरू राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् र त्यसपछि नकआउट चरण हुँदै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । भाद्र १ गते देखि भाद्र ५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कुल ५७ खेल खेलाइनेछन् । विश्वप्रसिद्ध नेपाली पर्वतारोही स्वर्गीय निर्मल पुर्जा निम्सदाइप्रति सम्मान यस संस्करणको प्रतियोगिताको नारा “गिभिङ अप ईज नट ईन माई ब्लड सर, ईट्स नट ईन दि ब्लड” रहेको छ।

उक्त नारा स्वर्गीय निम्सदाइ (निर्मल पुर्जा) प्रति सम्मान व्यक्त गर्दै समर्पित गरिएको हो । हार नमान्ने साहस, दृढ संकल्प र चुनौतीसँग जुध्ने भावनालाई प्रतियोगिताले आफ्नो मूल प्रेरणाका रूपमा लिएको छ । किंग्स टी–१० इन्डोर प्रतियोगिताको ब्रान्ड एम्बेसडरका रूपमा मुआ थाई फाइटर रजिना बिष्ट रहेकी छन् । उनी थाइल्यान्डमै थाई महिला फाइटरलाई पराजित गर्ने पहिलो नेपाली महिला फाइटर हुन् । उनको साहस, संघर्ष, आत्मविश्वास र खेलप्रतिको समर्पणले प्रतियोगिताको भावना तथा उद्देश्यलाई थप प्रतिनिधित्व गर्ने आयोजकको विश्वास छ । विभिन्न क्षेत्रका टोलीहरूको सहभागितामार्फत क्रिकेटले मानिसहरूलाई एकआपसमा जोड्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतिस्पर्धासँगै आपसी सम्बन्ध, खेल भावना र क्रिकेट संस्कृतिको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।